default_image

6 years ago

July 12, 2019

बक्सिङले बनाएका ‘नागरिक’

171 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

कुनैपनि खेलाडीको लागि राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सपना हुन्छ । यसका लागि खेलाडीले राष्ट्रिय स्तरको च्याम्पियन बन्न निकै मिहिनेत गरेका हुन्छन् । तर केहि यस्ता पात्र पनि छन् जसले राष्ट्रिय च्याम्पियन बनेपनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको प्रतिनिधित्व गर्न पाएनन् । कारण उनी नेपाली भएर पनि नेपाली हुन सकेनन् । अर्थात नेपालमै जन्मे, हुर्केर खेलमा लागेका उनी नागरिकता नहुँदा नेपालको प्रतिनिधित्व गर्नबाट बन्चित रहे ।

सामान्यतया नेपाली खेलकुदका अधिकांश खेलमा विभागीय खेलाडी नै राष्ट्रिय च्याम्पियन बन्ने गरेका छन् । विभाग बाहिरका खेलाडीले नियमित प्रशिक्षण र स्तरीय सुविधा बिरलै प्राप्त गर्ने हुनाले पनि यस्तो भएको हो । विभागीय टोलीले सम्भावना बोकेका खेलाडीलाई विभागमा अनुबन्ध गरेर प्रशिक्षण गराउने हुनाले पनि खेलकुदमा विभागीय वर्चस्व कायम छ ।

स्थानीयस्तरमा नै मिहिनेत गरेर विभाग पस्ने र त्यहाँ स्तरीय प्रशिक्षण लिएपछि राष्ट्रिय च्याम्पियन बन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली खेलकुदको नियमजस्तो नै बनेको छ । तर त्यसमा केहि अपवाद पनि छन् । विभागमा सामेल नभएरै राष्ट्रिय च्याम्पियन बन्नेको संख्या पनि कम छैन । नक्सालका सुशील थापामगर त्यसै अपावादमध्यका एक हुन् ।

सुशीलले दुई वर्षअघि पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको बक्सिङतर्फ ४९ केजी तौल समूहमा स्वर्ण पदक जिते । नेपाली बक्सिङको उर्वर क्षेत्र मानिने नक्साल बक्सिङ क्लबका उत्पादन उनले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै फाइनलमा त्रिभुवन आर्मी क्लबका सुवास विकलाई पराजित गरे । राष्ट्रिय च्याम्पियन बनेपछि उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सपना बुने । तर नियतिले त्यसो हुन दिएन ।

कानुनअनुसार १८ वर्ष पुगिसके पनि उनले नेपाली नागरिकता भने पाएका थिएनन् । बुबा र आमा दुवैको नागरिकता नभएपछि उनी नागरिकताबिनै नेपालमा खेलिरहेका थिए । पछि बुबा बितेपछि भने समस्या झनै जटिल बन्यो । यसै त नागरिकता बनाउन समस्या त्यसपछि बुबा गुमाएको पिडा । राष्ट्रिय च्याम्पियन बनेपनि आफ्नो सपना पूरा नहुने भएपछि उनी झन्डै डिप्रेसनको शिकार बने ।

‘म एकदम डिप्रेस भइसकेको थिएँ । राष्ट्रिय च्याम्पियन थिएँ तर नागरिकताकै कारण नेपालको प्रतिनिधित्व गर्न नपाउने भएँ । मैले जितेको काम लागेन भन्ने नै भयो । राष्ट्रिय टोलीमा रहेपनि नेपालबाट खेल्न नपाउने भएपछि प्रशिक्षण गर्न पनि मन लाग्न छाड्यो,’ उनले भने ।

‘नक्सालको गुरुहरुले हार नमान्न भन्नुभयो । खेलमा मिहिनेत गर हामी यता सक्दो प्रयास गर्छौं भन्नुभयो । वहाँहरुको भनाइपछि केहि हौसला आयो । दिपक गुरु (महर्जन) र प्रकाश (थापामगर) गुरुले पनि राष्ट्रिय टोलीमा अझै हौसला बढाउनुभयो । त्यसपछि वहाँहरुले मलाई त्यहाँबाट माथि उठेर बक्सिङमा ध्यान दिन सहयोग गर्नुभयो,’ त्यसबेला २३ वर्षका सुशीलले थपे ।

२०६८ सालदेखि बक्सिङ खेलमा लागेका सुशील विद्यालयमा पढ्दै गर्दा साथिभाईले खेल्न थालेपछि उनीहरुसँगै खेलप्रति आकर्षित भएका थिए । उनले बक्सिङ खेलले नै यहाँसम्म ल्याउँछ भन्ने कहिल्यै सोचेका थिएनन् । नागरिकता नहुँदाको समस्याले उनलाई यति पिरोल्छ भन्ने थाहा थिएन । उनले बुबालाई पटक पटक नागरिकता बनाउन भनिरहे । तर १० कक्षा पढ्दै गर्दा बुबा बितेपछि उनलाई निकै गाह्रो भयो ।

‘ यसैपनि नागरिकता बनाउन कठिन थियो । बुबालाई बारम्बार भन्दापनि नभइरहेको अवस्थामा बुबा बितेपछि त म केहि गर्न सक्दिन जस्तो लाग्यो । नक्सालको गुरुहरुले बक्सिङमा ध्यान देउ, खेलबाट नै तिमीलाई सहयोग हुन्छ भन्नुभयो । मैले अब एकमात्र विकल्प यसलाई नै देखेर आफ्नो सम्पूर्ण मिहिनेत यसैमा लगाएँ,’ उनले भने, ‘सातौंमा च्याम्पियन बनेपछि भने नागरिकताको लागि प्रक्रिया सुरु भयो । नागरिकता नभएकै कारण अन्तर्राष्ट्रिय खेल गुमाउनु पर्यो ।’

त्यसअघि पनि नागरिकता नभएकै कारण उनले विभागीय टोलीमा स्थान बनाउन सकेका थिएनन् । २०६८ मा नोभिस च्याम्पियनसिपमा पहिलो खेल नै हारेका सुशीलले त्यसपछि निकै मिहिनेत गरे । आफ्नो खेल्ने शैली र स्किल उकास्न आफैं पनि प्रशिक्षण गरिरहे । २०७० सालमा दाङमा भएको जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि सुरु भएको उनको विजय यात्रा जारी रहयो । तर नागरिकताको समस्या अझैपनि कायम नै थियो । उनले यसबीचमा इन्टर भ्याली च्याम्पियनसिप, ललितपुर ओपन च्याम्पियनसिप, क्षेत्रीय प्रतियोगिता, लगायत थुप्रै प्रतियोगिता जिते र उत्कृष्ट खेलाडी पनि भए । बेस्ट बक्सर अफ द इयरको उपाधि समेत जितेका उनले बक्सिङ रिङभित्र जति मिहिनेत गरेपनि बाहिर भने सकारात्मक अवस्था थिएन ।

२०७४ भाद्र २८ गतेको दिन अन्तत: सुशीलले नेपाली नागरिकता प्राप्त गरे । नक्साल बक्सिङ क्लब, प्रशिक्षकहरु रमेशदास श्रेष्ठ, नविन तन्डुकार, दिपक महर्जन लगायतको पहल र बक्सिङ संघको समन्वयसँगै राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिवले जिल्ला प्रशासन कार्यालयमा पुगेर उनको प्रमाणीकरण गरेपछि उनले काठमाडौंबाट नागरिकता लिए । नागरिकता प्राप्त गरेको दिन निकै गर्व महसुस भएको उनले बताए ।

‘ नागरिकता प्राप्त गरेपछि निकै गर्व महसुस भयो । नेपालको लागि खेल्न पाउने भएपछि अर्कै महसुस हुने रहेछ । अब नेपालको लागि दक्षिण एसियाली खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएको छु । धेरै भन्दा धेरै मिहिनेत गरेर इतिहास रच्ने सक्दो प्रयास गर्नेछु,’ उनले भने ।

सुशीलले नागरिकता प्राप्त गरेको एक वर्षपछि आर्मीमा आबद्ध भए । त्यहाँ रहेर उनले नियमित राम्रो प्रदर्शन गरिरहे । गतवर्ष काठमाडौंमा भएको वीर गणेशमान बक्सिङ च्याम्पियनसिपमा उनी उत्कृष्ट बक्सर घोषित हुँदै मोटरसाइकल हात पारे । नेपाली बक्सिङमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जितेपछि उनी झनै हौसिए । लगत्तै नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण जिते ।

राष्ट्रिय च्याम्पियन बनेका सुशील आठौं सकिनेबितिक्कै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थाइल्याण्ड प्रस्थान गरे । एसियन बक्सिङ च्याम्पियनसिपको ४९ केजी तौल समुहमा उनी दोस्रो चरणमा लाओसका खाम्साथोने खाम्पाओभानसँग पराजित भए । पहिलो सहभागिताको अनुभव संगाल्दै सुशील अहिले राष्ट्रिय टोलीसँग १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि पुन: थाइल्याण्ड प्रस्थान गरेका छन् । थाइल्याण्डमा प्रशिक्षण र एक प्रतियोगिता खेलेपछि टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

सुशीलले १३ औं सागमा नेपालको लागि इतिहास रच्ने लक्ष्य राखेका छन् । ‘देशको लागि खेल्न पाएको छु । बक्सिङ खेलले नै मलाई यहाँसम्म ल्याएको छ अब देशको लागि इतिहास रच्ने लक्ष्य राखेको छु । यसका लागि गुरुहरुको निर्देशन र प्रशिक्षणलाई पछ्याउँदै निकै मिहिनेत गर्नेछु,’ उनले टुंग्याए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.