default_image

5 years ago

April 2, 2021

४ सय ३२ दिनपछि रंगशाला फर्कंदा..

215 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

भलिबलमा नाम जस्तै प्रतिभा भएकी खेलाडी हुन् प्रतिभा माली । अहिलेको समयमा महिला भलिबलको प्रसंगमा उनको नाम स्वत जोडिएर आउँछ । न्यू डायमण्ड स्कुलको बस चढेर बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसर भित्र छिर्दै गर्दा उनै प्रतिभाले राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी होगांजी न्यू डायमण्ड एकेडेमी (एनडिए) सहकर्मी अरुणा शाहीलाई भनिन्, ‘दिदी म त घाइते भएपछि पहिलो पटक आज आउँदैछु ।

ठ्याक्कै ४ सय ३२ दिन पछि उनी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपमा भाग लिन टोलीसँगै त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कभर्ड हलमा प्रवेश गरेकी हुन् । प्रतिभालाई मात्र होइन, घरेलु भलिबल पछ्याउने हरेकलाई त्यो दिन पक्कै याद हुनुपर्छ । २०७६ माघ १० गते प्रतिभाको खेल जीवनको कालो दिन थियो । एनभिए क्लब च्याम्पियनसिपको फाइनलका दौरान एपिएफविरुद्ध खेल्दा बायाँ घुँडामा चोट लागेपछि उनी पहिलो पटक बिहीबार त्यहि कभर्ड हलमा पुगेकी थिइन् ।

‘खेल्न जाने अघिल्लो दिन चाहिँ सम्झेको थिए । भोली कोर्ट पुग्दा कस्तो होला भन्ने लागेको थियो’, प्रतिभाले आफ्नो अनुभव सुदाउँदै भनिन्, ‘तर खेलको दिन त्यस्तो केहि लागेन । गाडीबाट राखेप भित्र जाँदै गर्दा अरुणा दिदीलाई त्यो चोट लागेपछि पहिलो पटक यहाँ छिरेको भनेकी थिएँ ।’

कोर्टमा गइसकेपछि भने त्यस्तो नयाँ केहि नलागेको प्रतिभाले सुनाइन् । ‘सामान्य लाग्यो’, उनले भनिन्, ‘फिजियो उज्ज्वल डोटेल दाईलाई म घाइते भएको ठाँउ यहि हो भनेर देखाएँ । अरु नराम्रो वा डर त्यस्तो केहि लागेन ।’

त्यस्तो दुःखद दिन केहि याद भएन त भन्दा हास्दै प्रतिभाको जवाफ थियो, ‘मलाई आउटडोर खेल्न मन पर्दैन । गाह्रो पनि लाग्छ । जब इन्डोरमा खेल्ने समय आउँछ । म उत्साहित हुन्छ । राम्रो पनि खेल्छु जस्तो लाग्छ । सायद त्यहि कारण मलाई पुरानो घटना भन्दा बढी खेल्ने उत्साह थियो ।’

दुखाई पूर्ण रुपमा ठीक भइनसकेपनि चोट लागेको ११ महिनापछि उनी कोर्टमा फर्केकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा कप्तान अरुणा पिपल्स च्वाइस अवार्ड विधाको मनोनयनमा थिइन् । उनलाई जिताउने अभियानमा साथ दिन पोखरामा एनडिए र एपिएफ क्लबबीच आयोजित मैत्रीपूर्ण खेलबाट प्रतिभाले भलिबलमा पूनरागमन गरेकी थिइन् । त्यसयता उनले पोखरामै माघमा भएको टाइगर कप र गत महिना नेपालगन्जमा भएको प्रधानमन्त्री कप खेलिन् । पूनरागमन पछि मैत्रीपूर्ण, टाइगर कपमा ३ र नेपालगन्जमा ३ र बिहीबारको खेल गरेर उनले ८ खेल खेलेकी छन् ।

‘चोट लागेको दिन जस्तो वा शल्यक्रियापछि जस्तो दुःखाई त छैन । तर पनि प्रतिस्पर्धात्मक खेल खेलेपछि घुँडा दुख्छ । कहिले काही टेक्नै पनि गाह्रो हुन्छ’, उनले थपिन्,’त्यसैले म पूरानै अवस्थामा आउन अझै ३० प्रतिशत बाँकी रहेको छ जस्तो लाग्छ ।’

१४ महिना अघि घुँडामा गम्भिर चोट लागेपछि उनलाई राखेप अगाडिको ब्लुक्रसमा लगिएको थियो । त्यहि उनको घुँडाको शल्यक्रिया भएको थियो । शल्यक्रिया र त्यसपछिको नियमित फिजियो थेरापी पछि मात्र उनी फेरि भलिबल कोर्ट फर्कन सफल भएकी छिन् । तर, अझै पनि उनको घुँडामा दुःखाई भने पूर्ण रुपमा निको भएको छैन । फिजियोहरु सल्लाहमै उनी खेलिरहेकी छिन् । उनले भनिन्, ‘विस्तारै ठिक हुन्छ भन्ने उहाँहरुको सल्लाहले खेल्दैछु ।’

चोट लागेको झन्डै ३ महिना उनका लागि कठिन रह्यो । वैशाखीको सहारामा हिड्नु पथ्र्यो, खुट्टा उचाल्न परिवारका सदस्यले सहयोग गर्नुपथ्र्यो । त्यस्तोमा परिवारको साथ र शुभचिन्तकको हौसलाले मनोबल कमजोर हुन नदिएको उनको अनुभव छ । ‘योङ छौ । ठिक हुन्छ । नआत्तिनु भन्ने सल्लाह दिनुहन्थ्यो’, उनले सम्झिइन्, ‘त्यसो समय धेरैको फोन, म्यासेज आयो । त्यसले पनि मलाई सायद लो हुन दिएन । त्यहि हौसलाले मरो मनोबल उच्च हुन्थ्यो । ठिक हुनका लागि फिजियोमा बढी ध्यान दिए ।’

प्रतिभा माघमा घाइते भएकी थिइन् । चैत ११ गतेबाट कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन गर्यो । झन्डै वर्ष दिन खेलकुद ठप्पै रह्यो । त्यसले खेलकुद क्षेत्रलाई पनि निष्क्रिय पार्यो । अधिकांश खेलाडी निराश भए । प्रतिभाका लागि भने त्यहि समय आफू ठिक हुनका लागि अवसर समय मिल्यो । ‘त्यो समय पढाई पनि भएन । खेलकुद पनि ठप्प भयो’, उनले थपिन्, ‘पढाई र खेल निरन्तर हुन्थ्यो भने आफू त्यसमा नहुँदा सायद मलाई गाह्रो पनि हुन सक्थ्यो । कहि नहुँदा मैले आफूलाई फिट गराउन नियमित फिजियोथेरापीमा समय बिताए ।’

लकडाउनको समयमा पनि उनी हरेक दिन फिजियो थेरापीका लागि नैकापदेखि सातदोबाटोस्थित अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टर पुग्थिन । चोटका कारण धेरै कुरा सिक्न पाएको, फिजियो थेरापी किन खेलाडीका लागि जरुरी छ भन्ने बुझ्ने अवसर मिलेको प्रतिभाले सुनाइन् । ‘चोटको नेगेटिभ साइड मात्र छैन । व्यक्तिगत रुपमा मैले धेरै सिकें । कठिन समयमा पनि कसरी आफूलाई बलियो बन्न सिकें । खेलाडीका लागि फिजियोथेरापी कति जरुरी छ भन्ने त्यति बेला थाहा पाएँ’, उनले जोडिन्, ‘त्यसपछि आर्थोप्लास्टसँग एनडिएको सहकार्य भएको छ । अहिले हामीसँग नियमित टोलीमा फिजियोथेरापिष्ट रहनुहुन्छ ।’

‘खेलाडीलाई साना तिना चोटले दुःख दिइरहन्छन् । टोलीका सिनियर खेलाडीलाई चोटमुक्त कसरी हुने भन्नका लागि मात्र होइन फिजियोथेरापीष्ट सँगै हुँदा नयाँ पुस्ताका खेलाडीलाई चोटबाट कसरी जोगिने भन्ने ज्ञान हुन थालेको छ। अरुणा दिदीको काँधमा समस्या छ, एनडिएकी कप्तान ललित (नाथ) दिदीको औंलामासमस्या छ । धेरैको घुँडामा समस्या छ । चोट लागेपछि ठिक हुने एउटा प्रक्रिया छ’, परिपक्क हुँदै गएकी प्रतिभाले भनिन्, ‘तर नयाँ खेलाडीलाई सकेसम्म चोटबाट कसरी जोगिने भन्ने सुझाव अझ बढी महत्त्वपूर्ण हुने लाग्यो । अर्थोप्लास्टसँगको सहकार्यले हामीलाई निकै फाइदा पुगेको छ ।’

गतवर्ष प्रतिभासम्मिलित नेपाली टोलीले अहिले सम्मकै ठूलो सफलता दिलाएको थियो । कार्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेर फर्केको नेपाली टोलीले मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । साग इतिहासमा महिला टोली पहिलो पटक फाइनल पुगेको थियो । त्यहि प्रदर्शनले महिला टोली भदौंमा चीनमा एसियन च्याम्पियनसिप खेल्ने तयारीमा छ ।

प्रतिभा त्यसका लागि आफू पूर्ण रुपमा तयारी भइसक्ने आशामा छिन् । हाम्रो लागि त्यो च्याम्पियनसिप निकै महत्वपूर्ण छ । त्यसका लागि पूर्ण रुपमा तयार हुनुपर्दछ । अबको ३-४ महिना मेरा लागि महत्त्वपूर्ण हुन्छ ।

नेपाली खेलकुदमा चोटबाट सफल पूनरागमन गर्ने खेलाडीको सुची त्यति लामो छैन । प्रतिभाले पनि यत्ति छिट्टै फर्कने अपेक्षा गरेकी थिइन् । चोट लागेको ११ महिना नबित्दै कोर्टमा फर्केकी थिइन् । पछिल्लो तीन महिना अभ्यास र प्रतियोगिताले उनमा आएको विश्वासले सायद चोट लागेका अन्य खेलका खेलाडीका लागि पनि सकारात्मक सन्देश दिनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.