4 years ago
December 26, 2021
सुबास हुमागाईं, काठमाडौं
६ खेलमा ओपन प्लेबाट जम्मा १ गोल ! लिग सुरु हुनुअघि उपाधि दाबेदार मानिएको रुस्लान थ्री स्टारले जारी लिगमा ६ खेल खेल्दा ओपन प्लेमा मात्र १ गोल गर्न सकेको छ । त्यो एक गोल फ्रेन्ड्स क्लबविरुद्ध खेलको अन्तिम समयमा मिक्छेन तामाङले गरेको बराबरी गोल थियो । फ्रेन्ड्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मिक्छेनले गोलमा परिणत गरेका थिए ।

थ्री स्टारले खेलेका पछिल्ला तीनै खेल गोलरहित बराबरीमा सकिएका छन् । गोलरक्षक प्रिसो र डिफेन्डर अनन्त तामाङको उत्कृष्ट प्रदर्शनका आधारमा क्लबले लगातार क्लिन सिट राखेको छ । तर आक्रमणमा कमजोर प्रदर्शन गरेकै कारण क्लबले तीन अंक जोड्न सकेको छैन । लिगको पहिलो खेलमा च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्दै थ्री स्टार लिगको पहिलो चरणमा शीर्षस्थानमा थियो । उक्त खेलमा तीनै गोल सेट पिसमा निस्किएको थियो । त्यसयता क्लबले फ्रेन्ड्सविरुद्ध मात्र गोल गरेको छ ।
समग्रमा थ्री स्टारले ६ खेलमा ४ गोल गर्दा फरवार्डले कुनै गोल गर्न सकेका छैनन् । क्लबले भारतबाट दुई फरवार्ड ल्याएर खेलाएको छ तर दुवै फरवार्डको प्रदर्शन बिर्सनलायक छ । विदेशी कोटामा पनि भारतीय खेलाडीमा भर गरेको थ्री स्टारले ६ खेलमा ७ अंक मात्र जोड्दा उपाधि होडबाट निकै टाढा देखिएको छ । लिगमा कागजी रुपमा आफूभन्दा कमजोर टोलीसँग जित हासिल गर्न नसकेको थ्री स्टारले अंक तालिकामा आफूभन्दा माथि रहेको आर्मी र सातदोबाटोसँग मात्र खेलेको छ ।
त्यसो त क्लबले स्तरीय विदेशी फरवार्ड अनुबन्ध गर्न नसक्नु पनि आक्रमण नचल्नुको कारण हुन सक्छ । क्लबले विदेशी फरवार्डका रुपमा अनुबन्ध गरेका दुवै भारतीय खेलाडीबाट क्लबलाई एक प्रकारको धोका भएको छ । क्लबसँग लिग सुरु हुनुभन्दा केहि दिन अघि अनुबन्धित भएका फरवार्ड लाल रम्माविया चोटबाट पुनरागमन गरेको क्लबले केहि पछि मात्र थाहा पायो ।

गत सिजन मेघराज केसी प्रशिक्षक रहँदा लिगको पछिल्लो भागमा उनले राम्रो प्रदर्शन गरेका थिए । त्यसैलाई आधार मानेर क्लबले उनलाई अनुबन्ध गरेको थियो । तर उनी सुरुवाती खेलमा जम्न नसकेपछि उनमा म्याच फिटनेसकै कमी महसुस भएको थियो । च्यासलविरुद्ध ८० मिनेट मैदानमा बिताएका लालले दोस्रो खेलमा सातदोबाटोविरुद्ध ४८ मिनेट मात्र मैदानमा बिताए । तेस्रो खेलमा बेन्चबाट मैदान छिर्दै ३१ मिनेट खेलेका उनले पछिल्ला दुई खेल बेन्चमै बसे । आर्मीविरुद्ध त उनको नाम बेन्चमा पनि अटाएन ।
यता अर्का भारतीय फरवार्डबाट पाएको धोकाबारे शीर्ष श्रेणी फुटबल पछ्याउने जो कोहि आश्चर्यमा पर्न सक्छन् । लिग सुरु हुनुभन्दा झन्डै एक महिनाअघि शेम मार्टन च्यासलमा थिए । च्यासलको रक्षात्मक मिडफिल्ड सम्हाल्न आएका उनले क्लबसँग प्रशिक्षण गर्दै पूर्वमा एक प्रतियोगिता समेत खेले । च्यासलकै जर्सीमा आर्मीविरुद्ध मैत्रीपूर्ण खेलमा पनि राम्रो प्रदर्शन गरे । तर भारतमा सन्तोष ट्रफी खेल्न फर्केपछि उनको स्थानमा च्यासलले उनकै क्षेत्रको विजय पोनुरंगमलाई अनुबन्ध गर्यो । विजयले च्यासलबाट सबै ६ खेल सुरुवात गर्दै रक्षात्मक मिडफिल्ड नै खेलेका छन् ।
थ्री स्टारले शेमलाई अनुबन्ध गर्दै न्यु रोड टिम (एनआरटी) विरुद्ध डेब्यु दियो । एक महिनाअघि रक्षात्मक मिडफिल्डरको भूमिकामा नेपाल आएका शेम यसपटक फरवार्ड भन्दै थ्री स्टारको आक्रमण सम्हाले । खेलपछि प्रशिक्षक रविन्द्र शिलाकारले उनलाई नयाँ वातावरणमा भिज्न केही समय लाग्न सक्ने बताए । तर शेम फरवार्ड नभएर मिडफिल्डर भएको खेलपछि मात्र उनले थाहा पाए ।
आर्मीविरुद्ध खेलपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि यो स्विकारे । ‘शेमलाई स्ट्राइकर भनेर ल्याएको तर उनी एट्याटिक मिडफिल्ड रहेछन्, ‘प्रशिक्षक श्रेष्ठले भने, उनलाई भिज्न गाह्रो भइरहेको छ।’

शेम आफू भने फरवार्ड पनि खेल्न सक्ने बताउँदै आएको क्लब स्रोतले जनायो । तर पहिलो खेलमा ६० मिनेट टिकेका उनले दोस्रो खेलमा ५६ मिनेट मात्र बिताउनुले धेरै प्रष्ट पार्छ । त्यसो त एनआरटीविरुद्ध खेलमा खेलाडीको पोजिसन हेर्ने हो भने फरवार्डको रुपमा खेलेका मार्टनको औसत पोजिसन थ्री स्टारका अर्का फरवार्ड र दुई विंगरभन्दा धेरै पछाडी छ । उनका लागि नेपालको वातावरण नयाँ नभएर खेल्ने स्थान नै नयाँ भएको हो कि भन्ने आँकलन पनि गर्न सकिन्छ ।
आर्मीविरुद्ध बराबरीपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले क्लबले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रयासमा रहेको बताए । ‘हामीले विदेशी फरवार्ड अनुबन्ध गर्ने प्रयासमा छौं । राम्रो खेलाडी अनुबन्ध गर्न खर्च पनि गर्नुपर्छ । नेपालमा त अब विदेशी खेलाडी बाँकी पनि छैनन् । सम्भवत अर्को खेलमा विदेशी खेलाडी आउँछन् होला,’ श्रेष्ठले भने ।
प्रशिक्षक श्रेष्ठले विदेशी खेलाडी अनुबन्ध गर्न क्लबले संयमता अपनाएको पनि बताए । ‘हामीले विदेशी फरवार्ड अनुबन्ध गर्न हतार नगरेका हौं । केही खेलाडी ट्र्यालमा पनि आएका थिए, तर हामीले अनुबन्ध गरेनौं । सिधै खेलाउन पनि गाह्रो छ, कस्तो छन् त हेर्नै पर्यो,’ उनले भने ।

क्लबले हाल सन्जोक राई र विजय भुजेेेललाई पनि फरवार्डको जिम्मेवारी दिँदै आएको छ । तर दुवै जनाले गोलको खाता खोल्न सकेका छैनन् । सन्जोक अधिकांश समय विंगर वा दोस्रो फरवार्डको भूमिकामा खेलेका छन् । चोटका कारण सुरुवाती खेलमा उपस्थित नरहेका विजयले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् ।
प्रशिक्षक श्रेष्ठले बताएझैं क्लबले अर्को खेलमा विदेशी फरवार्ड अनुबन्ध गर्ने सम्भावना छ । उनी आउने बितिकै क्लबमा भिज्न समय लाग्न सक्छ । अब उपाधि दौडमा फर्कन क्लबको गणितीय सम्भावना मात्र बाँकी होला । तर क्लबले आफ्नो स्तर अनुसार खेल प्रदर्शन गर्न आक्रमण चुस्त पार्नैपर्छ । त्यसमा क्लब व्यवस्थापनसँगै प्रशिक्षण टोलीको पनि जिम्मेवारी रहनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]