default_image

4 years ago

January 27, 2022

राष्ट्रिय टोलीको योजनामा असर गर्ने एनएसएलबारे एन्फा अनभिज्ञ

227 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केपछि राष्ट्रिय टोलीको अबको योजना एसियन कप छनोटमा तेस्रो स्थान हासिल गर्ने बताएका थिए । तीन महिनाअघि आफ्नो सम्झौता नविकरण घोषणा कार्यक्रममा अलमुताइरीले राष्ट्रिय टोली प्रशिक्षणको विस्तृत योजना समेत पेश गरेका थिए ।

अलमुताइरीले जुन २०२६ मा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपालले तेस्रो स्थान हासिल गरे फिफा विश्वकप २०२६ को छनोटमा सहज समीकरण बन्ने बताएका थिए । त्यसै योजना अनुसार राष्ट्रिय टोलीका लागि आगामी सेप्टेम्बरसम्म क्लब फुटबलको तालिकालाई ध्यानमा राख्दै तालिका बनाएका थिए । तर बुधबार नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले दोस्रो संस्करणका लागि घोषणा गरेको मिति भने राष्ट्रिय टोलीको योजनासँग जुध्न पुगेको छ ।

त्यसो त एन्फाले यस प्रतियोगिताको लागि हालसम्म आधिकारिक मिति नै नतोकेको समेत खुलेको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले हालसम्म संघबाट कुनै औपचारिक खबर नभएको बताए । ‘हामीले कुनै औपचारिक खबर पाएका छैनौं । हामीले यो मिति दिने भन्ने अधिकारिक निर्णय पनि गरेका छैनौं । वहाँहरुले मिति कुन हिसाबमा तोक्नुभयो थाहा भएन’, महासचिव तुलाधरले भने ।

यता एनएसएलका सिइओ सुदीप शर्मा एन्फासँग सल्लाह गरेर नै मिति तोकिएको बताउँछन् । ‘हामीले एन्फासँग यो मिति उपलब्ध गराउन सोधेका थियौं । एन्फासँग सल्लाह गरेर नै यो मिति तोकेका हौं । अब राष्ट्रिय टोलीको योजनामा नै असर गर्ने पक्षमा त हामी पनि छैनौं । राष्ट्रिय टोली नै प्राथमिकतामा पर्छ,’ उनले बताए । उनले गत संस्करणजस्तै हालसम्म एन्फाबाट एनएसएलको मितिबारे आधिकारिक परिपत्र भने नभएको जानकारी दिए ।

गत नोभेम्बरमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताइरीले सन् २०२२ मा नेपालले एसियन कप छनोट खेल्नुअघि मैत्रीपूर्ण खेल खेल्दै फिफा वरीयता सुधार गर्ने लक्ष्य राखेका थिए । त्यसै योजनाअनुसार नेपालले माघ १५ र १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग मैत्रीपूर्ण खेल खेल्दैछ । एसियन कप छनोटमा आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने हुनाले शारीरिक रुपमा सुदृढ मौरिसस टोलीसँग मैत्रीपूर्ण खेल राखेको अलमुताइरीले प्रशिक्षण सुरु हुँदा बताएका थिए ।

अलमुताइरीले पेस गरेको योजना अनुसार उनले जनवरी दोस्रो साता १९ दिन प्रशिक्षण गरेर फिफा डेमै काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने बताएका थिए । नेपालले त्यस अनुसार मौरिसससँगको खेल तोकिएको हो । त्यसपछि अलमुताइरीको योजनामा मार्च दोस्रो साताबाट पनि १९ दिने क्याम्पसँगै काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यहाँ पनि फिफाको अन्तर्राष्ट्रिय खेलका लागि तालिका रहेकाले नेपालले राष्ट्रिय टोलीसँग नै खेल्नेछ ।

त्यसपछि अप्रिल दोस्रो साताबाट भने नेपालले एसियन कप छनोटको लागि तयारी गर्नेछ । ३० मे देखि १४ जुनसम्म फिफा डे अन्तर्गत हरेक राष्ट्रिय टोलीले ४ अन्तर्राष्ट्रिय खेल खेल्न पाउँछन् । नेपालले एसियन कप छनोटको खेल त्यसै समयमा खेल्नेछ । हालको तालिका अनुसार नेपालले ८, ११ र १४ जुनमा एसियन कप छनोटको खेल खेल्नेछ । छनोटको समूह चरणको ड्र र खेल हुने स्थान भने फेब्रुअरी तेस्रो साता सार्वजनिक हुनेछ ।

प्रशिक्षक अलमुताइरीले मे ११ देखि ३५ दिने क्याम्प आयोजना गर्दै एसियन कप छनोटको तयारी गर्ने योजना बनाएका छन् । त्यसअघि नै उनले अप्रिलमा ३६ खेलाडी सम्मिलित क्याम्पबाट एसियन कप छनोट खेल्ने टोलीका लागि २८-३० खेलाडी छनोट गर्ने बताएका थिए । दोस्रो चरणको क्याम्प भने नेपालबाहिर गर्न उनले गत नोभेम्बरमा नै एन्फालाई आग्रह गरेका थिए ।

तर एनएसएलले बुधबार सार्वजनिक गरेको तालिकाले भने राष्ट्रिय टोलीको प्रशिक्षणमा प्रत्यक्ष असर पर्ने देखिन्छ । अब एन्फासँग अर्को विकल्प भनेको एनएसएलमा राष्ट्रिय टोलीमा रहेका खेलाडी सहभागी नहुनु वा एनएसएलको मिति नै पर सार्नु रहेको छ । एनएसएलले ९ अप्रिलदेखि २१ मे २०२२ सम्म १० टोली सहभागी गर्दै प्रतियोगिता गर्ने जनाएको छ । तर प्रशिक्षक अलमुताइरीको योजना हेर्ने हो भने दुई चरणको प्रशिक्षणमा यसले प्रत्यक्ष असर गर्ने देखिन्छ ।

त्यसो त यसपटक एनएसएल आयोजनालाई लिएर विभिन्न पक्षमा समस्या हुने देखिन्छ । गत संस्करण आयोजना हुँदा अधिकांश खेलाडीहरु क्लबविहिन थिए । खेलाडी कुनै क्लबसँग अनुबन्ध नरहेको कारण पनि अक्सनमा सहभागी हुन सहज अवस्था थियो । विभागीय टोलीका खेलाडीको हकमा केहि समस्या भएपनि एन्फाले त्यसमा समन्वय गरेको थियो । तर यसपटक ए डिभिजन क्लबले खेलाडीहरुलाई अनुबन्ध गरिसकेको अवस्था छ । खेलाडीहरु एक समयमा एक व्यावसायिक सम्झौता मात्र गर्न पाउने हुनाले पनि एनएसएल समस्यामा पर्ने देखिन्छ ।

अर्कोतर्फ एनएसएल हुने समयमा मोफसलका अन्य प्रतियोगिता पनि हुने सम्भावना छ । गत संस्करण कोरोना संक्रमणका कारण अन्य गतिविधि ठप्प हुँदा एन्फाले एनएसएल आयोजना गर्दा मोफसलका अन्य प्रतियोगिता नै बन्द गरेको थियो । तर अब यसपटक त्यस्तो हुने सम्भावना न्यून छ । ए डिभिजन क्लबले आफूसँग आबद्ध खेलाडीलाई सहजै एनएसएल खेल्न दिने अवस्था पक्कै देखिदैन ।

पहिलो संस्करणमा नै एनएसएलको अस्तित्वबारे प्रश्न उठेपनि प्रतियोगिता जसोतसो सम्पन्न भएको थियो । दोस्रो संस्करणअघि झन् राम्रो तयारी हुनुपर्नेमा सुरुवातमा नै कमजोरी देखिँदा अब लिगले थप समस्या झेल्नुपर्ने देखिन्छ । व्यावसायिक घरानाहरुलाई फुटबलमा ल्याउने जमर्कोसाथ आएको लिग त्यस पक्षमा सफल भएको मान्न सकिन्छ । तर फुटबल संरचनामा रहेका क्लब, खेलाडी र एन्फासँग राम्रो समन्वय हुन नसक्दा लिगको निरन्तरतामा भने शंका गर्ने ठाउँ उब्जेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.