default_image

2 years ago

March 22, 2022

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का […]

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटका मुख्य प्रशिक्षक जगट टमाटा दशकै उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको प्रदर्शनका आधारमा छनोट गरेको हो ।
मञ्चले यसपटक ९ वटा अवार्ड प्रदान गरेको छ । बाँकी ६ अवार्ड भने यसअघिकै परम्परा अनुसार प्रदान गरिएको थियो । राखेपका पूर्व सदस्य सचिव शरदचन्द्र शाहलाई मरानोपरान्त लाइभ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । मरोनोपरान्त मञ्चले लाइभ टाइभ एचिभमेन्ट दिएको यो पहिलो पटक हो ।
गत वर्ष देशका लागि एक मात्र अन्तर्राष्ट्रिय सफलता दिलाउन सफल धाविका पुष्पा भण्डारी र लामो समय खेलकुदमा चिकित्सा सेवामार्फत सेवा पु¥याएका अजय राणालाई स्पेशल अवार्डबाट सम्मानित गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भएको कार्यक्रममा सरिता थुलुङ पारा एथलिट अनवबाट सम्मानित भइन् । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भए ।

गत वर्ष थ्री नेसन्स कप जितेको राष्ट्रिय पुरुष फुटबल टोली टिम अफ दी इएरबाट सम्मानित भएको थियो । पिपल्स च्वाइस अवार्ड टेबल टेनिस खेलाडी एलिना महर्जनले जितिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबल की गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।

दशकका उत्कृष्ट खेलाडी पुरुष, महिला र प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गरे भने अन्य अवार्डका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

दशकका उत्कृष्ट खेलाडी, पुरुष
पारस खड्काले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई कठिन परिस्थितिबाट अगाडि बढाउँदै सन् २०१४ मा ऐतिहासिक टि२० विश्वकप खेलाएका थिए । उत्कृष्ट प्रदर्शनका साथ हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो । त्यो विश्वकपमा पारसको कप्तानी र प्रदर्शन दुवे सानदार थियो । विश्वकप नेपाली क्रिकेट मात्र नभएर खेलकुदले नै पाएको सर्वाधिक ठूलो सफलताका रुपमा मानिन्छ ।

२०१८ मा पारसले नेपाललाई ऐतिहासिक ओडिआई मान्यता दिलाएका थिए । टोलीलाई ओडिआई र टि२० आई मान्यता दिलाउदा उनको आफ्नै प्रदर्शन र कप्तानी दुबै लोभ लाग्दो थियो ।

दुवैमा ऐतिहासिक शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसको उत्कृष्ट सानदार शतकको सहयोगमा नेपालले तीन ओडिआई खेलको सिरिज २(१ ले जितेको थियो । जुन नेपालले जितेको पहिलो ओडिआई सिरिज थियो ।

नेपालले त्यसै भ्रमणमा तीन टि२० आई सिरिज २–१ ले जित्दा पनि पारसको प्रदर्शन उत्कृष्ट थियो । उदाहरणीय कप्तान तथा खेलाडी पारस दशकको उत्कृष्ट खेलाडी चुनिएका हुन् । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए । २०१६ मा कीर्तिपुर मैदानमा आईसिसी विश्व क्रिकेट च्याम्पियन्स लिग अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा कप्तान पारसले शतक प्रहार गर्दै सहज जित दिलाएका थिए । नेपाललाई २०१८ मा पहिलो ओडिआई खेल जिताउन नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा पारसले उच्च प्रदर्शन गरेका थिए।

पारसले गत वर्ष नेपाली टोलीबाट सन्न्यास लिएका थिए । पछिल्लो एक दशकमा नेपाली क्रिकेट टोलीले हात पारेका प्रमुख सफलतामा पारसको कप्तानी र प्रदर्शन दुबै उत्कृष्ट थियो ।

दशकका उत्कृष्ट खेलाडी, महिला

सन् २०१४ राष्ट्रिय टोलीमा डेब्यु गरेयता निरन्तर राष्ट्रिय टोलीबाट खेल्दै आएकी सावित्रा भण्डारीले घरेलु फुटबलमा पनि दबदबा कायम राख्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभाव जमाइसकेकी छिन् ।

२५ वर्षीय उनले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन् ।
राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेकी सावित्राले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता बनेकी छिन् । त्यस्तै उनी सम्मिलित राष्ट्रिय टोलीले १२ औं र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक हासिल गरेको थियो । एपिएफले घरेलु फुटबलमा लगातार उपाधि जित्दा उनी नै अधिकांश प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहँदै आएकी छिन् ।
भारतको शीर्ष डिभिजन लिग, भारतीय महिला लिगमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले कोरोना महामारीअघि सन् २०१९ मा सेथु एफसीका लागि खेल्दै उपाधि दिलाएकी थिइन् । त्यसपछिको सिजन उनले गोकुलम केरलाको लागि उपाधि जितिन् ।

दशकका उत्कृष्ट प्रशिक्षक

जगत टमाटाको मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहँदै नेपाल ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । उनकै नेतृत्वमा त्यसै वर्ष नेपालले नामिबियामा डिभिजन–२ मा फाइनल सम्म पुगेको थियो ।

सन् २०१९ मा नेपालले युएईसँगको तीन ओडिआई र तीन टि २० आई सिरिज समान २–१ ले ऐतिहासिक रुपमा जित्दा उनी मुख्य प्रशिक्षक थिए । नेपालले उनकै मुख्य प्रशिक्षकमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेको थियो ।

२०१८ मा नै मलेसियामा भएको आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट बी को उपाधि जित्दा टमाटा टोलीको मुख्य प्रशिक्षक थिए । २०१६ मा नेपाली यू–१९ टोलीले विश्वकप खेल्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यो नै यू–१९ टोलीले खेलेको अन्तिम विश्वकप हो । उक्त विश्वकपमा नेपालले टेस्ट टोली न्युजिल्यान्डलाई हराएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला क्रिकेट टोलीले कास्य पदक जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए । २०१६ देखि २०१९ सम्म टमाटाले नेपाली सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनी यू–१९ टोलीको मुख्य प्रशिक्षक थिए ।

एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड
टेबल टेनिस खेलाडी एलिना महर्जनले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबल की गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।

उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् । एलिनाले ४७.८३३ मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् । उनी नेपाली टेबलटेनिसमा दोस्रो वरियतासम्म पुगेकी महिला खेलाडी, सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल) भएकी थिइन् ।

त्यस्तै खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय रहँदै आएकी छिन् । सामाजिक कार्यमा पनि क्रियाशील (१३ औं साग बाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग) गरेकी थिइन् ।

धाविका पुष्पालाई स्पेसल अवार्ड
कोरोना संक्रमणका कारण लगभग ढप्प भएको खेलमा पुष्पा भण्डारीको सफलताले केहि राहत दिएको थियो। २०७७ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगत तर्फ पुष्पाले दिलाएकै सफलता एक मात्र रह्यो। गतवर्ष पुष २६ गते बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा उनले स्वर्ण पदक जितेकी थिइन् । त्यसमा उनले दुई भारतीय खेलाडीलाई पछि पार्दै आफूलाई विजेता बनाएकी थिइन् । उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा उक्त दौड पूरा गरेकी थिइन् ।

दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पाले रजत पदक जितेकी थिइन् । धनगढीमा २०६८ मा भएको छेटौं राष्ट्रिय खेलकुदबाट लामो दुरीमा होमिएकी उनले सागमा रजत दिदै चर्चा बटुलेकी थिइन् । २०६९ सालमा लुम्बिनी च्याम्पियनसिपमा म्याराथनमा स्वर्ण जितेसंगै पुष्पा सशश्त्र प्रहरी बलको एपिएफमा आबद्ध भएकी थिइन् ।

राणालाई स्पेशल अवार्ड
डा. अजय राणा राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए । संकटा र ब्वाइज युनियनबाट फुटबल पनि खेले ।
सन् १९७२ मा उनी हक्कीको राष्ट्रिय टोलीका लागि छनोट भए र त्यहि बेला डाक्टरी पढ्ने सूचीमा पनि नाम निस्कियो। खेल र करिअर छान्नु पर्ने द्धिविधाका बीच उनले पढाई रोजे र भारत गएका थिए ।


पछि खेलकुद नै उनको कर्मथलो बन्यो । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य ब्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गरेका थिए । राणाले फिफाको मेडिकल इन्ट्रक्टर, एएफसीको प्यानल अफ मेडिकल एक्सपर्ट, विश्व ब्याडमिन्टनको अन कोर्ट डाक्टर, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको मेडिकल एन्ड एन्टि डोपिङ कमिटीका चियरम्यान, बक्सिङ महासंघका अन कोर्ट डाक्टरको जिम्मेवारी निर्वाह गरेका थिए । अजय राणाका छोराले अवार्ड ग्रहण गरेका थिए ।

शाहलाई मरोनोपरान्त लाइभ टाइभ एचिभमेन्ट अवार्ड
२०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शरदचन्द्र शाहको समयमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्तर नगर खेलकुदको सुरुवात गरेका थिए। अन्तर्राष्ट्रिय रुपमा दक्षिण एसियाली खेलकुद सागको सुरुवातका लागि पहल लिने मध्ये शाह एक थिए । उनकै समयमा देश भित्र खेलकुदका पूर्वाधार निर्माण भएको थियो ।

शाहको कार्यकालमा ७५ वटै जिल्लामा कवर्ड हल र पाँच विकास क्षेत्रमा रंगशाला निर्माण गरिएको थियो । खेलकुद विकासका लागि शाहले ’खेलकुद कर’ अवधारणा ल्याएका थिए । अन्तर्राष्ट्रिय खेल संस्थासँग उनको सम्बन्ध बलियो थियो। उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्ष समेत बनेका थिए भने नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हालेका थिए ।

सदस्य सचिव शाहको युग २०४५ सालमा दशरथ रंगशालामा घटेको फुटबल काण्ड संगै समाप्त भएको थियो । कम्तिमा ७२ जना दर्शकको ज्यान जाने घटना पछि उनीसँगै राखेपको तत्कालिन नेतृत्वले राजीनामा दिएको थियो । शाहको ०६९ असार ५ मा सिंगापुरमा निधन भएको थियो । स्वर्गिय शाहकी छोरी मिहिका शाह र परिवारका अन्य सदस्यले लाइभ टाइम एचिभमेन्ट अवार्ड ग्रहण गरेका थिए ।

सरितालाई पारा एथलिट अनर
सरिता थुलुङले ३ वर्षको उमेरमा पोलियो भएपछि सुनसरी सरिताले एउटा खुट्टा गुमाउनु परेको थियो । घिस्रेरै स्कुलले जीवन पार गरेकी उनी उच्च शिक्षाका लागि काठमाडौं पसेकी थिइन् । सांगितिक जीवनलाई अघि बढाउने सोच राखेपनि फरक क्षमताहरुको पनि खेलकुद हुन्छ भन्ने थाहा पाएपछि उनको खेल जीवनले नयाँ मोड लिएको थियो ।

खेलकुदमा उनको सुरुवात भने पारा फुटबलबाट भएको थियो । त्यसपछि उनले ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङ खेलिन् । ती कुनैपनि प्रतिस्पर्धामा उनी दोस्रो हुनु परेको परे । लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले देशको प्रतिनिधित्व गरिसकेककी छिन् ।गतवर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको त्रुटीका कारण भने उनी त्यो ठूलो खेलमेलाको अनुभव बटुल्नबाट भने बञ्चित भएकी थिइन् ।

साहलीलाई एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड
सताम अल साहली कुवेतका सक्रिय पत्रकार हुन् । सन् २००५ बाट पत्रकारिता सुरु गरेका साहली कुवेत राष्ट्रिय दैनिकका खेलकुद व्युरो प्रमुख हुन् । त्यस्तै उनीसाहली कुवेत फुटबल संघका मिडिया कमिटी प्रमुख समेत हुन् ।

एआइपिएस एसियाको सदस्य समेत रहेको मञ्चले केहि वर्षयता उक्त अवार्ड प्रधान गर्दै आएको छ । एआइपिएस एसियामा सक्रिया हुनका लागि उनले विश्व खेलकुद पत्रकार महासंघ (एआइपिएस) को उपाध्यक्ष पद त्यागेका थिए ।

फुटबल टोलीलाई वर्षको उत्कृष्ट टोली
राष्ट्रिय फुटबल टोलीले २०७७ सालमा ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो । घरेलु मैदानमा थ्री नेसन्स कपको नाममा आयोजना भएको मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू–२३ टोलीसँग बराबरी खेलेको थियो । उक्त मैत्रीपूर्ण प्रतियोगिता नेपालले जितेको थियो ।

थ्री नेसन्स कप मार्फत नै तत्कालिन राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले संन्यास लिएका थिए । उनलाई फाइनल खेलमा अन्त्यतिर मैदान प्रवेश गराएर सानदार बिदाइ गरिएको थियो । त्यसअघि राष्ट्रिय टोलीले कोरोना महामारीबाट फुटबल फर्केको संकेत दिन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बंगलादेशमा गएर २ खेल खेलेको थियो । पहिलो खेल २–० ले हारेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

April 17, 2024

डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी – स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्ड ले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी – स्पेनिश क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको […]

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

Success

Thank you for your time.