एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले विहीबार राती लेभान्तेविरुद्ध खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियल म्याड्रिडको इतिहासमा आफ्नो नाम कोरेका छन् ।

रियल म्याड्रिडले लेभान्तेलाई ६-० ले पराजित गर्दा बेन्जेमाले एक गोल गरे । उक्त गोल रियल म्याड्रिडको जर्सीमा बेन्जेमाले गरेको ३ सय २३ औं गोल थियो । यससँगै बेन्जेमाले क्लब इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी सुचिमा राउल गोन्जालेजसँग बराबरी गरेका छन् ।
अब बेन्जेमाभन्दा अघि क्रिस्टियानो रोनाल्डो मात्र रहेका छन् । रोनाल्डोले रियल म्याड्रिडका लागि खेल्दै ४ सय ५१ गोल गरेका थिए । त्यस्तै लिगमा मात्र भने बेन्जेमा तेस्रो स्थानमा छन् । रियल म्याड्रिडका लागि ला लिगामा रोनाल्डोले ३ सय १२, राउलले २ सय २८ तथा बेन्जेमाले २ सय १९ गोल गरेका छन् ।
३४ वर्षीय बेन्जेमाले यस सिजन सबै प्रतियोगितामा ४४ गोल गरेका छन् । यसअघि उनको उत्कृष्ट प्रदर्शन ३२ गोल रहेको थियो । उनले २०११/१२ र २०२०/२१ मा उक्त सफलता हासिल गरेका थिए ।

बेन्जेमाले समग्र सिनियर करिअरमा ४ सय २५ गोल गरेका छन् । उनले रियलका लागि ३ सय २३, लियोनका लागि ६६ तथा फ्रान्सको जर्सीमा ३६ गोल गरेका छन् । उनी फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
रियल म्याड्रिडका लागि सर्वाधिक खेल खेल्ने सुचिमा भने बेन्जेमा निकै पछि छन् । उनले हालसम्म ६ सय ३ खेल खेलेका छन् । उनीभन्दा अघि ५ खेलाडी रियलका लागि बढी खेल्ने सुचिमा छन् । सान्तिलानाले ६ सय ४५, सर्जियो रामोसले ६ सय ७१, मानोलो सान्चिसले ७ सय १०, इकार कासिलासले ७ सय २५ तथा राउलले सरधिक ७ सय ४१ खेल खेलेका छन् ।