default_image

3 years ago

July 17, 2022

एन्फा सिइओ नियुक्तीको प्रस्ताव पेचिलो बन्ने सम्भावना !

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति निर्वाचित भएको झण्डै एक महिनामा सोमबार दोस्रो बैठक बस्दैछ । असार ६ को निर्वाचन पछि असार ९ गते बसेको बैठकले महासचिव, कोषाध्यक्ष र वैदेशिक विभाग प्रमुख नियुक्त गरेको थियो । हतारमा गरिएको नियुक्तीका बारेमा कार्यसमिति पदाधिकारी नै असन्तुष्ट रहेको सार्वजनिक भइसकेको छ ।

यस्तो पृष्ठभूमिमा सोमबारका लागि तय बैठकमा विविध बाहेक १७ वटा एजेण्डा छन् । महासचिव किरण राईले असार २४ गते विविधसहित १२ बुँदे एजेण्डा पदाधिकारी र सदस्यहरुलाई इमेलमार्फत पठाएका थिए । पछि उपाध्यक्षद्वय दीपक खतिवडा एउटा र दीर्घबहादुर (कुमार) केसीले ५ वटा एजेण्डा थप गर्न माग गरेपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ त्यसलाई बैठकमा प्रस्तुत गर्न तयार भएका छन् । त्यसैका आधारमा सोमबार छलफल हुने महासचिव राईले यसअघि नै बताइसकेका छन् ।

उपाध्यक्ष खतिवडाले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र प्रवक्ता नियुक्तीको एजेण्डा थप गर्न माग गरेका थिए । खतिवडाले निर्वाचन अघि कै सहमतिका आधारमा एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व कर्मचारी गौरव थापालाई सिइओ र प्रवक्तामा एन्फाको पूर्व केन्द्रिय सुरेश शाहको नाम आफूले प्रस्ताव गर्ने बताएका छन् ।

गौरव भ्रष्टाचार अभियोगमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा हुन् । एएफसीमा लामो समय गरेको कामको अनुभवकै आधारमा गौरवको नाम प्रस्ताव गर्न लागेको खतिवडाले प्रष्ट पारेका छन् । ‘उहाँले एएफसीमा लामो समय विभिन्न भूमिकामा रहेर काम गर्नु भएको थियो ,’ खतिवडाले भने,‘ त्यो अनुभव नेपाली फुटबलमा लगाउन सके त्यसले फुटबल विकासमा टेवा पुग्नेछ । उहाँलाई प्रस्ताव गर्नुको मुख्य कारण अनुभव नै हो । अन्य कुनै कारण छैन ।’

थापाकै कार्यसमितिमा केन्द्रिय सदस्य रहेका शाह लामो समयदेखि फुटबलमा आबद्ध रहेकाले प्रवक्तामा प्रस्ताव गर्ने खतिवडाले बताए । खतिवडाले अनुभवकै आधारमा प्रस्ताव गर्न लागेको भनिएपनि निर्वाचनमा सहयोग गरेकै कारण थापाले छोरालाई सिइओ बनाउन दबाब बढाएको बताइएको छ । एन्फाले सुरुमा एजेण्डामा समावेश नगरेपछि खतिवडाले सिइओ र प्रवक्ताको एजेण्डा थप्न माग गरेका थिए ।

खतिवडा अध्यक्ष नेम्बाङकै प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । सोही प्यानलबाट निर्वाचित उपाध्यक्ष दावा लामाले भने सिइओ नियुक्तीका लागि हतार गर्न नहुने तर्क गर्छन् । ‘हामीले पहिलो बैठकमै हतारमा गरेको निर्णय विवादित बनेको छ । कुनै पनि नियुक्ती वा महत्त्वपूर्ण विषयमा गम्भिर छलफल गरेर मात्र निर्णयमा पुग्न पर्दछ,’ उनले भने,‘ हतारमा गरिने निर्णयले विवादमा बढाउने काम गर्छ । हामीले फुटबल विकासका लागि काम गर्ने हो न कि कसैको नियुक्तका लागि मात्र । एन्फाले अन्य थुप्रै विषयमा महत्वपूर्ण लिनुपर्नेछ ।’

खतिवडाको प्रस्ताव पेचिलो बन्ने सम्भावना पनि देखिएको छ । गौरव थापालाई सिइओ र सुरेश शाहलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने तयारी भइरहेको आफूले पनि सुनेको उल्लेख गर्दै लामाले भने,‘ मसँग भने यो विषयमा कुनै छलफल भएको छैन । गौरव क्षमतवान होलान् । उनलाई फुटबलमा काम गरेको अनुभव पनि होला । त्यसको हामीले सम्मान गर्छौ । तर, त्यो भन्दैमा हतारिएर नियुक्त गर्नुपर्छ भन्ने छैन । बृहत छलफल र तयारीपछि मात्र नियुक्त गर्नुपर्छ । नभै हुँदैन भनेर दबाब दिने अवस्था बन्यो भने नोट अफ डिसेन्ट लेख्छु ।’

लामाले सिइओमा गौरव थापा नै किन भन्ने प्रश्न पनि गरेका छन् । ‘गौरवको अनुभव होला । तर सिइओका लागि अरु पनि क्षमतावान व्यक्ति नेपालमा हुन सक्छन् । पदपूर्ती समिति गठनको लागि पहिले नै एजेण्डा सेट भइसकेको छ,’ उनले थपे,‘ समिति गठन गरौं । त्यसले सिइओको लागि खुला आव्हान गरोस् । त्यसमा गौरव पनि इच्छुक हुन् भने दर्खास्त हाल्न सक्छन् । गणेश थापाको छोरा भएकै कारण नियुक्त दिनु पर्ने वा उनकै छोरा भएर दिन नहुने भन्ने केहि छैन । नेपालको फुटबल विकास महत्त्वपूर्ण हो । कसैको पनि नियुक्ती विधि र नियमसंगत हुनुपर्दछ ।’

उपाध्यक्ष लामाले फुटबलमा काम गर्न चाहनेले स्वयंसेवकका रुपमा पनि केहि समय काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘एन्फाको आर्थिक अवस्था सन्तोषजनक छैन । त्यो सबैलाई थाहा छ । त्यसमा आर्थिक भार पर्नेगरि अहिले हतारिनु उपयुक्त हुँदैन’, उनले भने,‘ फुटबलमा काम गर्न चाहनेले छ महिना वर्ष दिन स्वयंसेवकको रुपमा काम गर्न आव्हान गर्नुपर्ने देख्छु । अनि भविष्यमा तिनैमध्येबाट क्षमतावानलाई नियुक्त गर्न पनि सकिन्छ नि ।’

सात वर्षअघि फिफाले गणेश थापामाथि छानविन थालेपछि गौरवले एएफसीबाट राजीनामा गरेका थिए । एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हामामले गौरवकै खातामा १ लाख अमेरिकी डलर पठाएको छानविनमा खुलेको थियो । पछि फिफाले त्यसलाई र अर्को आर्थिक कारोवारलाई आधार मानेर गणेश थापालाई भ्रष्टाचारको अभियोग लगाएको थियो ।

फिफाले उनलाई २१ लाख रुपैयाँ जरिवानासहित १० वर्षको प्रतिबन्ध लगाएको थियो । अहिले पनि उनको प्रतिबन्ध अवधि जारी छ । एन्फाको पछिल्लो निर्वाचनमा थापा खुला रुपमा नदेखिएपनि नेम्बाङ प्यानललाई जिताउन सक्रिय रहेको सोही समूहबाट विजयीहरुले स्विकारेका छन् ।

निर्वाचनको महिना दिन नपुग्दै एन्फामा तीन वटा गुट रहेको चर्चा सुरु भएको छ । जसमा अध्यक्ष नेम्बाङ, पूर्व अध्यक्ष थापा र निर्वतमान कर्मा छिरिङ शेर्पा समूह रहेको बताइन्छ । उपाध्यक्ष लामा भने निर्वाचन अघि समूह बन्नुलाई स्वभाविक मान्दै भन्छन्, ‘विचार मिल्ने सबै एकै ठाँउमा हुनु स्वभाविक हो । तर निर्वाचन पछि हामी सबै एउटै कार्यसमितिमा छौं । देशको फुटबलको हितमा काम गर्ने हो । कुनै समूहको पृष्ठपोषण गर्ने छुट छैन । हिजो जे कुराको विरोध गरेर हामी आयौं आज आफै गर्ने हो भने हामीमा के अन्तर रह्यो र ?’

एन्फाको कार्यसमितिले पूर्णता नपाउँदै महत्वपूर्ण निर्णय हुने सम्भावना छ । २१ मध्ये २ खुला सदस्यको पुनः निर्वाचन गर्न बाँकी रहेको छ । असार ६ गते भएको निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, २ महिलासहित १३ सदस्य निर्वाचित भएका थिए । खुला सदस्यमा बाँकी २ सदस्यका लागि ४ जना मत बराबर भएपछि त्यसको निर्वाचन विशेष साधारण सभामा गरिने एन्फाले जनाएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.