बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका तीन ठूलो स्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमार विना कापा डेल रेमा फराकिलो जित हासिल गरेको छ । आर्डा टुरानले ह्याट्रिक गरेपछि बार्सिलोनाले गए राती हर्कुलेसलाई ७–० ले हराएको छ । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो भने पछिल्लो जितपछि ८–१ को अग्रतासहित बार्सिलोना अन्तिम १६ मा पुगेको छ ।
सोही खेलमार्फत फ्रान्सिस्को अल्कासेरले पनि बार्सिलोनाका लागि पहिलो गोल गरेका छन् । भ्यालेन्सियाबाट अगस्टमा बार्सिलोना पुगेका स्पेनिस अन्तर्राष्ट्रिय फरवार्डले टोलीका पछिल्ला १० खेलमा गोल गर्न सकेका थिएनन् । पछिल्लो महिना बराबरीमा रोकिएपछि प्रशिक्षक लुइस एनरिकेले यो सिजन सम्झौता गरेका महत्वपूर्ण छ खेलाडीलाई दोस्रो लेगमा उतारेका थिए ।
लियोनल मेसी विना उत्रेको बार्सिलोनाले ३७ औं मिनेटमा लुकास डिग्नीको गोलबाट अग्रता लिएको थियो भने । पहिलो हाफकै अन्तिम मिनेटमा इभान राकिटिकले पेनाल्टीमार्फत गोलअन्तरलाई दोब्बर पारेका थिए । दोस्रो हाफको १० मिनेट भित्र राफिना र आर्डाले गोल थपेपछि बार्सिलोनाले खेलमा नियन्त्रण बनाएको थियो । राफिनाले ५० औं र आर्डाले ५५ औं मिनेटमा गोल गरे । तर, टोलीका लागि सबैभन्दा महत्वपूर्ण क्षण भने ७३ औं मिनेटमा अल्कासेरको गोल रह्यो ।
अन्त्यतिर तीन मिनेटको फरकमा आर्डाले दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उनले व्यक्तिगत दोस्रो गोल ८६ र अर्को ८९ औं मिनेटमा गरेका थिए । कोपा डेल रेका अन्य खेलमा डिर्पोटिभो ला कुरुना, ओसासुना र भ्यालेन्सिया विजयी भएका छन् । डिर्पोटिभोले रियल बेटिस्लाई ३–१ ले हरायो र समग्रमा ३–२ ले अर्को चरण पुगेको छ । ग्रानाडालाई २–० ले हराएको ओसासुना २–१ को अग्रता लिदै अन्तिम १६ मा पुग्न सफल भयो । भ्यालेन्सियाले लेगानेसमाथि २–१ को जित हासिल गर्यो र टोली ५–२ को अग्रतासहिट अघिल्लो चरण पुगेको छ ।