3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को खेलमा भारतले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । माल्दिभ्सलाई ९-० ले पराजित गर्दै समूहबाट भारतसँगै बंगलादेश पनि अन्तिम चारमा प्रवेश गरेको हो ।

भारतले दोस्रो हाफको अन्त्यतिर ४ मिनेटको अन्तरमा ४ गोल गर्दै फराकिलो जित दर्ता गरेको हो । भारतको जितमा अन्जु तामाङ एक्लैले ४ गोल गरिन् । दाङमेइ ग्रेसले २ तथा सौम्य गुगुलोथ, एमके कश्मिना र प्रियंका देवीले १-१ गोल गरे ।
समूह ए मा भारत र बंगलादेश समान २-२ जितका साथ सेमिफाइनलमा प्रवेश गरेका हुन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो । यता बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० तथा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० ले पराजित गरेको थियो । माल्दिभ्स र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् ।
दशरथ रंगशालामा भएको खेलको छैटौं मिनेटमा नै भारतले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक तथा माल्दिभ्सकी कप्तान अमिनाथ लिजाले क्रस छुटाएपछि भारतकी प्रियंका देवी नाओरमको प्रहारलाई शहफा सिउथले गोललाइनबाट क्लियर गरिन् ।
दशौं मिनेटमा दाङमेइ ग्रेसले वन भर्सेस वनमा गरेको प्रहार लिजाले बचाइन् । १३ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र डिफेन्डर बिट गरेपछि अन्जुले गरेको अन्तिम प्रहारले पोस्टको दिशा लिन सकेन ।

२४ औं मिनेटमा भारतले अन्जुको गोलमा अग्रता लियो । कप्तान आशालता देवीसँग छोटो कर्नर लिएकी अन्जुले फिर्ता आएको पासमा लामो प्रहार गरेकी थिइन् । उनले बायाँ विंगबाट गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोल भएको हो ।
खेलको ४२ औं मिनेटमा भारतले अग्रता दोब्बर पार्यो । छोटो कर्नरमा कप्तान आशालताले दिएको लामो पास क्लियर हुन नसक्दा प्रियांकाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोल भएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा अन्जुले भारतलाई ३-० ले अघि बढाइन् । रतनबाला देवी नोङमाइथेमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर गोलरक्षकलाई लाग्दै झरेपछि खाली पोस्टमा अन्जुले गोल गरेकी थिइन् ।

दोस्रो हाफको ५३ औं मिनेटमा ग्रेसले भारतलाई ४-० ले अघि बढाइन् । कप्तान आशालताले मैदानको मध्यभागबाट खेलाएको लामो पासलाई ग्रेसले नियन्त्रणमा लिइन् । त्यसपछि डिफेन्सलाई चलाखीपूर्ण बिट गर्दै उनले गोल गरिन् ।
त्यसको तीन मिनेटपछि नै भारतले अर्को गोल थप्यो । मध्यान्तरपछि मैदान छिरेकी सौम्याले कप्तान आशालताको छोटो कर्नरमा आएको क्रसलाई हेडरमार्फत गोल गरेकी थिइन् । ८० औं मिनेटमा सौम्याको प्रहार क्रसबारमा लगेर फर्कंदा भारतले अग्रता बढाउन सकेन ।
खेलको ८४ औं मिनेटमा एमके कश्मिनाले भारतको लागि गोल गरिन् । उनले गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो । कप्तान लिजाले बल बचाउने प्रयास गरेपनि उनलाई लाग्दै बल पोस्टभित्र छिरेको थियो ।
८५ औं मिनेटमा अन्जुले कमजोर डिफेन्सको फाइदा उठाउँदै ७-० ले अघि बढाइन् । लगत्तै ग्रेसले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक लिजाले राम्रोसँग समाउन नसक्दा उनको हातबाट पोस्टभित्र खसेको थियो । ८८ औं मिनेटमा अन्जुले व्यक्तिगत चौथो गोल थपिन् । रन्जना चानुको क्रसलाई उनले गोलमा परिणत गरेकी थिइन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]