3 years ago
November 29, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सोमबार राती पोर्चुगलले उरुग्वेलाई पराजित गर्दा मिडफिल्डर ब्रुनो फर्नान्डेस दुई गोल गर्दै प्लेयर अफ द म्याच चुनिए ।

पोर्चुगल २-० ले विजयी हुँदा ब्रुनोले उच्च प्रदर्शन गरेका थिए । उनी ह्याट्रिक नजिक पुगेपनि पोस्ट बाधक बनेको थियो । पहिलो खेलमा पनि निर्णायक प्रदर्शन गरेका उनी दोस्रो खेलमा भने प्लेयर अफ द म्याच चुनिए । तर खेलमा पहिलो गोललाई लिएर भने निकै चर्चा भयो ।
दोस्रो हाफको ५४ अौं मिनेटमा ब्रुनोको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । ब्रुनोले पेनाल्टी क्षेत्र बाहिरबाट रोनाल्डोतर्फ दिएको लामो पास गोलमा परिणत भएको थियो । रोनाल्डो हेडरका लागि उफ्रेको अवस्थामा गोलरक्षक सर्जियो रोसेटले बलको दिशा बुझ्न नसक्दा गोल सम्भव भएको थियो । रोनाल्डोले आफू गोल गरेको ठान्दै गोलको खुसियाली मनाएपनि फिफाले रिभ्यु गर्दै ब्रुनोलाई गोल दिएको थियो ।
खेलपछि बोल्दै ब्रुनोले गोल कसले गर्यो भन्ने महत्त्व नहुने बताए । ‘विश्वकपमा खेल्दा कसले गोल गर्यो भन्ने खासै महत्त्व हुँदैन । मलाई त्यसबेला रोनाल्डोले नै गोल गरेजस्तो लागेको थियो । मैले बल उनलाई पास दिएको थिएँ,’ उनले भने ।
‘हिजोको खेलमा कसले गोल गर्यो भन्दापनि हाम्रो जित ठूलो थियो । निकै कठिन प्रतिद्वन्द्वीविरुद्ध हामीले जित निकाल्यौं । यस नतिजाले हामी अपराजित रहेर अघि बढ्न सक्छौं । समूहको शीर्षस्थानमा रहनु मुख्य लक्ष्य हो ।’

इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि ब्रुनोले पेनाल्टीमा दोस्रो गोल गरे । भिडियो एसिसेन्ट रेफ्रीले उरुग्वेको बक्सभित्र ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा ब्रुनो गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको अन्त्यतिर ब्रुनोको ह्याट्रिक प्रयासमा गोलरक्षक र पोस्ट बाधक बने । उनको पहिलो प्रहार गोलरक्षक रोसेटले विफल पारे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
खेलपछि बोल्दै प्रशिक्षक फर्नान्डो सान्तोसले पनि आफूलाई जसले गोल गरेपनि मतलब नहुने बताए । ‘हाम्रो टिमले राम्रो प्रदर्शन गर्यो । लगातार जित निकाल्दै अघि बढेका छौं । अबको ध्यान अर्को खेलमा हुनेछ । गोल कसले गर्यो भन्नेमा मलाई मतलब छैन,’ सान्तोसले हाँस्दै भने ।
प्रशिक्षक सान्तोसले ब्रुनो र रोनाल्डो मात्र नभएर खेलमा अन्य खेलाडीको पनि उत्तिकै योगदान रहेको बताए । ‘ब्रुनो राम्रा खेलाडी हुन् । उनले गोल गरे र हामी जित्यौं । तर खेलमा सबैको योगदान हुन्छ । गोलरक्षक कोस्टाले दुई उत्कृष्ट बचाउ गरे, उनको पनि महत्त्व छ । सबैले एकजुट भएर खेलेको हो,’ उनले थपे ।

पोर्चुगल समूह चरणबाट पार हुने पक्का भइसकेको छ । अन्तिम खेलमा दक्षिण कोरियाका लागि कस्तो टोली छनोट हुन्छ भन्ने प्रश्नमा सान्तोसले बलियो टोली नै उतार्ने बताए । ‘हामी अर्को चरणमा पुगेका छौं तर अझैपनि शीर्षस्थान पक्का भएको छैन । हामी शीर्षस्थानमा नै रहन चाहन्छौं र त्यसै अनुसार अर्को खेलको लागि तयारी हुनेछ । एक दुई खेलाडी परिवर्तन गर्ने सम्भावना हुन्छ तर दोस्रो रोजाइ भन्ने हुँदैन,’ उनले भने ।
यस नतिजासँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]