3 years ago
December 1, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्यान्ड दोस्रो हुँदै अघि बढ्न सफल रहयो ।

मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।
एक समय पहेंलो कार्डमा समूहको दोस्रो र तेस्रो स्थानको छिनोफानो गर्ने अवस्था रहेको थियो । तर इन्ज्युरी समयको अन्त्यतिर मेक्सिकोले गोल खाएपछि पोल्यान्ड त्यहि गोलको सहायताले गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा स्थान बनाउन सफल रहयो । यदि मेक्सिकोले अन्तिम समय गोल थपेको भए पोल्यान्ड बाहिरिने थियो ।

समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको थिएन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखे ।
तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिना गोल फर्काएपछि अर्जेन्टिनालाई दबाब रहेन । दोस्रो हाफको मध्यतिर अग्रता दोब्बर भएपछि अर्जेन्टिना सहज जिततर्फ उन्मुख देखिएको थियो ।

सातौं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिर पोल्यान्डका तीन डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार फितलो हुन पुग्यो । दशौं मिनेटमा मेस्सीले कठिन एंगलबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक वोजसिएक सेचेज्नीले बचाए । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण बुनेपनि पोलिस डिफेन्स सजग रहीरह्यो ।
२९ औं मिनेटमा मार्कस अकुनाको प्रहारले पोस्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारलाई उनकै क्लब युभेन्टसबाट खेल्दै आएका गोलरक्षक सेचेज्नीले नै बल्लतल्ल बचाए ।
३५ औं मिनेटमा सेचेज्नी अर्जेन्टिनाको अग्रतासामु पुन: बाधक बने । जुलियन अल्भारेजसँग वन भर्सेस वनको अवस्थामा उनले राम्रो बचाउ गरे । लगत्तै अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।

तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए । ४३ औं मिनेटमा अल्भारेजको प्रहारमा पुन: सेचेज्नी बाधक बने ।
पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । नाहुएल मोलिनाले दायाँ विंगबाट दिएको लो क्रसलाई एलेक्सिसले गरेको प्रहार फितलो थियो । तर उक्त प्रहार दुई डिफेन्डर र गोलरक्षक पार हुँदै गोलमा परिणत भएको थियो ।

६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई अल्भारेजले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरको दबाबमाझ नियन्त्रण गरे । उनले त्यसपछि गरेको प्रहार गोलरक्षक सेचेज्नीको हातमा लाग्दै गोल भएको थियो ।
७१ औं मिनेटमा अल्भारेजको प्रहारले पोस्टको दिशा लिन सकेन । ८६ औं मिनेटमा लौटारो मार्टिनेजको प्रहारलाई गोलरक्षक सेचेज्नीले विफल पारे ।
त्यस्तै लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि गोलअन्तरमा पोल्यान्डभन्दा पछि रहेपछि मेक्सिको तेस्रो भयो । खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा प्रहार गर्न पाएका थिए । तर गोलरक्षक मोहमद अलोवाइसले अघि बढ्दै उत्कृष्ट बचाउ गरे । लगत्तै अर्कोतर्फ सालेह अल शेहरीको प्रहार गोलरक्षक गिलेर्मे ओचोआले सहजै बचाए ।
२३ औं मिनेटमा लुइस चाभेजको पेनाल्टी क्षेत्र बाहिरको प्रहारले गोलरक्षक अलोवाइसलाई खस समस्या दिन सकेन । इन्ज्युरी समयमा साउदीका अल शेहरीले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार गर्न पाएनन् ।

दोस्रो हाफको सुरुवातमा मेक्सिकोले लगातार दुई गोल गर्दै खेलमा पकड जमायो । हेनरी मार्टिनले मेक्सिकोका लागि ४८ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । कर्नरमा सेजार मोन्टेसको फ्लिकलाई मार्टिनले ६ यार्ड बक्स नजिकबाट गोलमा परिणत गरे ।
५२ औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर पार्यो । लुइस चाभेजले फ्रिकिकमा दर्शनीय गोल गर्दै मेक्सिकोलाई जिततर्फ उन्मुख गराए । उनले झन्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गरेका थिए ।
६७ औं मिनेटमा हर्भीङ लोजानोको प्रहार गोलरक्षक अलोवाइसले विफल पार्दै खेलमा फर्कने सम्भावना जीवित राखे ।
इन्ज्युरी समयमा साउदीले गोल गरेपछि मेक्सिको गोलअन्तर कम हुन पुगेको थियो । सालेम अल दसारीले गोल गर्दै मेक्सिकोलाई नकआउट चरणनजिक पुग्न दिएनन् ।
समूहको अर्को खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हराएको थियो । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।
यो पनि पढ्नुहोस :
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]