3 years ago
December 11, 2022
एजेन्सी – उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो ।

औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो ।
दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुन: अग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुन: पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन ।
खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।

फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे ।
२९ औं मिनेटमा लोरिस पुन: बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन ।
दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो ।

८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो ।
फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १-० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]