default_image

1 year ago

May 17, 2023

साफअघि नेपालमा मात्र १ दिन पूर्ण प्रशिक्षण!

353 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप खेल्न अब १ महिनामात्र बाँकी छ । ए डिभिजन लिग उत्तर्रार्धमा निकै रोमान्चक अवस्थामा रहँदा राष्ट्रिय टोलीको तयारीमा भने प्रत्यक्ष असर परेको छ । लिगको तालिका सार्ने सम्भावना नहुँदा राष्ट्रिय टोलीको छनोटका लागि बन्द प्रशिक्षण त परको कुरा, साफ खेल्ने टोलीले नेपालमा पूर्ण प्रशिक्षण पनि मात्र १ दिन पाउने देखिएको छ ।

नेपालले साफ च्याम्पियनसिपको पहिलो खेल असार ६ गते (२१ जुन) मा कुवेतविरुद्ध खेल्दैछ । त्यसअघि नेपालले जेठ ३२ (जुन १५) को दिन फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । तर उक्त खेलका लागि नेपालको अन्तिम टोली प्रस्थान गर्नुअघि टोलीले मात्र १ दिन प्रशिक्षण गर्ने समीकरण बनेको हो ।

ए डिभिजन लिगको अन्तिम खेल जेठ २७ गते (जुन १०) का लागि रहेको छ । नेपाल फिलिपिन्समा हुने खेलका लागि नेपालले ढिलोमा जेठ ३० गते नेपाल छोड्नुपर्नेछ । जेठ २७ गते लिग सकिएको भोलीपल्ट ६ क्लबका खेलाडीले पूर्ण रुपमा प्रशिक्षण गर्दैनन् । त्यसैले जेठ २९ गते मात्र इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले आफ्नो टोलीसँग पूर्ण प्रशिक्षण गर्न पाउने देखिन्छ ।

यसबीचमा जुन २, ५ र ८ तारिखमा लिगमा विश्राम दिन रहेको छ । राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ए डिभिजन लिगको विश्रामको दिन राष्ट्रिय टोलीको लागि रणनीतिक प्रशिक्षण संचालन गरिरहेका छन् । सम्भवत लिगको बिचमा विश्रामका यी तीन दिनमा पनि प्रशिक्षण हुन सक्छ । तर यो कदमको क्लबका पदाधिकारीबाट आलोचना हुँदै आएको छ ।

एक त बल्लतल्ल लिगमा पाएको विश्राममा खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने कदमको नै आलोचना भएको छ । यसबाहेक टोलीका मुख्य खेलाडीलाई आफ्नो खेलको अघिल्लो दिन प्रशिक्षणमा नपाउँदा क्लबहरु केहि निराश छन् । अहिले लिगमा १८ औं चरणको खेल सकिँदा असन्तुष्ट क्लबलाई अन्त्यतिर उपाधि भिडन्त र रेलिगेसनको चटारो हुँदा खेलाडी छोड्न अनुरोध गर्दा एन्फाले कसरी समन्वय गर्छ भन्ने कल्पना गर्न सकिन्छ । अझ मौसमका कारण वा अन्य प्राविधिक कारणले खेल सर्न पुग्यो भने तालिका पुनर्निर्माण गर्नुपर्दाको अवस्थाबारे कोहि तयार देखिदैन ।

हाल राष्ट्रिय टोलीको रणनीतिक प्रशिक्षण पनि त्यति प्रभावकारी हुन सकेको छैन । सामान्यतया क्लब फुटबलमा पनि अघिल्लो दिन सुरुवाती रोजाइमा खेलेका खेलाडीलाई विश्राम दिने चलन छ । यता राष्ट्रिय टोलीको रणनीतिक प्रशिक्षणमा अघिल्लो दिन रातको ८ बजेसम्म मैदानमा रहेका खेलाडीलाई भोलिपल्ट विहान ९ बजे मैदानमा उतारिएको छ । एन्फाको कमजोर समन्वयका कारण राष्ट्रिय टोलीका प्रशिक्षकले बाध्य भएर प्रशिक्षण संचालन गर्नुपरेको छ । उनी आफैं अघिल्लो दिन खेलेका खेलाडीलाई कम समय दिएर खेलाडी परिक्षण गरिरहेको देखिन्छन् ।

विगतमा नेपालले साफ च्याम्पियनसिपका लागि महिनौं प्रशिक्षण गरेको उदाहरण पनि छ । पर्याप्त मैत्रीपूर्ण खेल र तयारी समयले गर्दा नेपाली टोलीले राम्रो नतिजा पनि निकालेको छ । तर यसपटक लिगको चटारो उत्रन नपाउँदै राष्ट्रिय टोलीमा होमिनु पर्दा खेलाडीबाट शत प्रतिशत खेल नआउने डर पनि छ । थकित खेलाडीबाट राष्ट्रिय टोलीमा नतिजा अपेक्षा गर्नु पक्कै जायज हुँदैन ।

प्रशिक्षक अनेसेलाई लिगको सुरुवाती समयमा नै लिगको तालिकाले टोलीमा पर्ने प्रभावबारे प्रश्न गरिएको थियो । तर एन्फा र क्लबको कारण लिग तालिका कुनै हालतमा नसर्ने जानकारी आएको भन्दै उनी प्रतिकुल वातावरणमा काम गरिरहे । एकपछि अर्को चोटका समस्याले राष्ट्रिय टोलीमा पर्ने खेलाडी बाहिर हुँदा उनको धैर्यताको पनि परिक्षा भइरहेको छ ।

आर्मीका युवा डिफेन्डर विकास खवासको चोटले राष्ट्रिय टोलीको नियमित लेफ्ट ब्याकको विकल्प खोज्ने कार्य थप कष्टकर बनेको छ । यसैपनि रिक्त रहेको उक्त पोजिसनमा विकासले केहि राम्रो संकेत दिएका थिए । तर उनको गम्भीर चोटसँगै उक्त पोजिसनमा खेलाडी खोज्न धौ-धौ परेको अवस्था छ ।

मिडफिल्डर एरिक विष्ट, फरवार्ड विमल घर्ती मगर पनि चोटका कारण अहिले बाहिर छन् । यसबाहेक राष्ट्रिय टोलीको रणनीतिक प्रशिक्षणमा रहेका अधिकांश खेलाडीले लिगमा यस सिजन चोटका कारण विश्राम लिएकै छन् । लिगको महत्त्वपूर्ण र कठिन समय आउँदै गर्दा यो सुचिमा अझ खेलाडी थपिने डर छ ।

एक त लिगमा लगातार क्लबका लागि खेलको धपेडी, अर्कोतर्फ राष्ट्रिय टोलीको कमजोर प्रशिक्षण योजना । यसपटक नेपाललाई साफ च्याम्पियनसिपमा निकै कठिन हुने देखिन्छ । कठिन समूहमा परेको नेपालले कुवेत, भारत र पाकिस्तानसँग समूह चरणमा खेल्नुपर्नेछ । कमजोर तयारीले पहिलो पटक उपाधि जित्ने नेपालको लक्ष्यलाई सुरु नहुँदै धक्का दिएको छ ।

साफका लागि नेपाली टोलीको सम्भावित योजना :

जेठ २७ – जुन १० गतेसम्म ए डिभिजन लिग (यसबीचमा लिग दौरान ३ दिन रणनीतिक प्रशिक्षणका लागि समय)

जेठ २८ – जुन ११ : अन्तिम दिन खेल्ने ६ क्लबका खेलाडीलाई विश्राम

जेठ २९ – जुन १२ : एक मात्र पूर्ण प्रशिक्षण गर्ने दिन

जेठ ३० – जुन १३ : फिलिपिन्सका लागि प्रस्थान

जेठ ३१ – जुन १४ : फिलिपिन्स विरुद्ध खेलको तयारी

जेठ ३२ – जुन १५ : फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल

असार १ – जुन १६ : फिलिपिन्सबाट फिर्ता

असार २ – जुन १७ : नेपाल आएर विश्राम/प्रशिक्षण*

असार ३ – जुन १८ : भारत प्रस्थान*

*फिलिपिन्सबाट सिधै भारत गएको खण्डमा नेपाली टोलीले १ दिन प्रशिक्षण बढी पाउनेछ

असार ४ – जुन १९ : भारतमा प्रशिक्षण

असार ५ – जुन २० : कुवेतविरुद्ध खेलको तयारी

असार ६ – जुन २१ : कुवेत विरुद्ध नेपाल

असार ९ – जुन २४ : नेपाल विरुद्ध भारत

असार १२ – जुन २७ : नेपाल विरुद्ध पाकिस्तान

असार १६ – जुलाई १ : सेमिफाइनल

असार १९ – जुलाई ४ : फाइनल

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.