default_image

3 years ago

June 1, 2023

एन्फाले लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षण राख्दा क्लब असन्तुष्ट

264 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेसँगै ए डिभिजन लिगका क्लबहरु असन्तुष्ट बनेका छन् ।

बुधबार राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई विहीबार विहान प्रशिक्षणका लागि बोलाएका थिए । तर क्लब र एन्फाबीच समन्वय हुन नसक्दा सबै क्लबका खेलाडी प्रशिक्षणमा सहभागी भएनन् । विहिबार मध्यान्ह ए डिभिजन क्लबका प्रतिनिधिले एन्फाले विना छलफल एकतर्फी ढंगले निर्णय लिएकाले लिग नसकिंदासम्म खेलाडी प्रशिक्षणका लागि फुकुवा गर्न नसक्ने निर्णय लिएका छन् ।

क्लबहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याच लगायत रकम उपलब्ध नगराएकोले जेठ १९ गतेदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णय गरेका छन् । बैठकमा फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, खुमलटार क्लब, सातदोबाटो युवा क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज क्लब र थ्री स्टार क्लबका प्रतिनिधि उपस्थित थिए । जावलाखेल र तीन विभागीय क्लबका प्रतिनिधि भने बैठकमा उपस्थित थिएनन् । जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्रीले क्लबको कार्यक्रमले अनुपस्थित रहेपनि १० ए डिभिजन क्लबको मागमा सहमत रहेको बताए ।

विहीबार नै खेल भएका मनाङ मर्स्याङ्दी क्लबका गोलरक्षक दीप कार्की र डिफेन्डर आशिष गुरुङ पनि विहान राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भए । क्लबका अध्यक्ष विजय घलेले एन्फाले एकतर्फी निर्णय लिँदा क्लबलाई असर पर्ने जनाउँदै खेलाडी छोड्न नसक्ने बताए । ‘हामीले लिगको यो अवस्थामा खेलाडी छोड्न मिल्दैन । यत्रो खर्च गरेर पनि क्लब कठिन अवस्थामा छ । राष्ट्रिय टोलीमा पर्ने स्तरका खेलाडी नै खेलको दिन विहान प्रशिक्षणमा गएपछि समस्या भइहाल्छ नि,’ उनले भने ।

यता एन्फा प्रवक्ता सुरेश शाहले भने क्लबसँग छलफल गरेर नै निर्णय लिइएको बताए । ‘हामीले क्लबसँग छलफल गरेर यो निर्णय लिएका हौं । साफका लागि तयारी गर्नुपर्यो, प्रशिक्षकले पनि त्यसै अनुसार मिलाउने सहमति भएको छ । लिगमा आफ्नो क्लबको खेलको दिन खेलाडीले खेल्छन्, बाँकी दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा हुन्छन्,’ उनले भने ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने एन्फाले यस विषयमा कुनै छलफल नगरेको बताए । ‘एन्फाले यस बारेमा छलफल नै गरेको छैन । मैले आफैं पनि यसबारे बुझ्न खोज्दा राम्रो जवाफ आएन । सबै क्लबले ठूलो खर्च गरेर लिगमा सहभागी भएका छौं । लिगको अन्त्यमा आएर मुख्य खेलाडी प्रयोग गर्न नपाउने त भएन नि,’ उनले भने ।

तुलाधरले लिग चल्दाचल्दै खेलाडी प्रशिक्षणमा बोलाउनु उचित नरहेको बताए । ‘हामीले एन्फाको कतिपय विषयमा कमजोरी हुँदा पनि लिग खेलेका छौं । एन्फाको कठिन तालिकालाई मानेर पनि खेल जारी राखेका छौं । अब खेलाडी नै नदिने त सहि भएन । हामी आफैं रेलिगेसनको डरमा छौं, अन्य क्लब कोहि तल त कोहि माथि प्रतिस्पर्धामा छन् । खेलाडी छोड कसरी भन्न मिल्छ?,’ उनले थपे ।

न्यु रोड टिम (एनआरटी) का कुनैपनि खेलाडी राष्ट्रिय टोलीमा छैनन् । तर क्लबका महासचिव नरेन्द्रमान श्रेष्ठले एन्फाले गरेको कदम क्लब र खेलाडीप्रति नै न्यायोचित नरहेको बताए । ‘हो, हाम्रो खेलाडी राष्ट्रिय टोलीमा छैनन् । तर क्लबको ठाउँबाट हेर्दा यत्रो लगानी गरेको छ अनि अन्त्यमा खेलाडी नदिनु राम्रो होइन । अरु क्लबको राम्रो खेलाडी नहुँदा हामीलाई फाइदा हुन्छ भन्दापनि के ठिक हो भन्नेमा हामी अडिग छौं,’ उनले थपे ।

क्लब र एन्फाबीच राम्रो समन्वय हुन नसक्दा यसो प्रत्यक्ष असर भने खेलाडीमा परेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा प्रशिक्षकले नै बोलाएपछि खेलाडी अनुपस्थित नहुँदा उल्टो दबाब पर्ने स्थिति छ । अर्कोतर्फ क्लबकै तलबमा जीविकोपार्जन गरिरहेका खेलाडीले क्लबको कुरा पनि सुन्नु नै पर्यो । एकातर्फ एन्फाले वर्षौंदेखि खेलाडीलाई दिनुपर्ने पैसा दिएको छैन, क्लबले भने नियमित पैसा दिएर घरेलु फुटबल चलायमान बनाएको अवस्था छ । साफको संघारमा खेलाडीलाई चेपुवामा पारेर एन्फाले क्लबलाई पेल्न खोज्दा यसले राष्ट्रिय टोलीको तयारीमा भने असर परेको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएका खेलाडी यस प्रकार छन् :

गोलकिपर – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर – विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपिएफ फुटबल क्लब), अनन्त तामाङ (.चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)

मिडफिल्डर – पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आवास लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)

फरवार्ड – आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी ( संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पी जंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.