2 years ago
May 6, 2024
सुबास हुमागाईं, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै ।
विगत केही वर्षयता गुटको राजनीतिले गाँजिएको एन्फाको नेतृत्व भिडन्त पछिल्लो घटनाले त मैदानभित्र नै पसेको आभास भएको छ । लामो कसरतपछि आयोजना भइरहेको सी डिभिजन लिगमा मैदानबाहिर राजनीतिको रस्साकस्सीमा मैदानभित्र खेल्ने खेलाडीलाई प्रयोग गरेर खेलमै प्रभाव पार्न खोजिएको छ ।
सी डिभिजन लिगको उपाधि होडमा रहेको आरसी ३२ फुटबल एकेडेमीका खेलाडी बबिन बोहोरा र सुमन बहादुर मगरलाई एन्फाले विपक्षी क्लबको विरोध पत्रको आधारमा लिगका अन्य खेल नै खेल्न नपाउने निर्णयसहित कारवाही गरेको छ । यतिमात्र होइन यी खेलाडी सम्मिलित खेलको नतिजा फेरेर टोलीलाई ३-० को हारको नतिजा सुम्पिएको निर्णय अनुशासन समितिले दिएको छ ।
त्यसो त एन्फाको लिखित निर्णय पढ्दा खेल ‘रद्द’ गरेर विपक्षी टोलीलाई विजयी बनाइएको भनिएको छ, तर खेल रद्द गरेर नतिजा सुम्पिएको पक्षलाई प्रक्रियागत त्रुटी मान्नुपर्छ । अनुशासन समितिले खेलको नतिजा बदल्ने निर्णय लिँदा एन्फाको प्रतियोगिता र प्राविधिक समितिसँग पनि समन्वय नगरेको देखिन्छ ।
त्यसो त एन्फाले यसपटक सी डिभिजनको नियमवाली आफ्नो वेबसाइटमै राखेको छैन । क्लबलाई उपलब्ध गराइएको नियमवाली अंग्रेजी भाषामा छ । र अंग्रेजी भाषामा प्रस्तुत यस नियमवालीमा कति स्थानमा ‘एएफसी’ ले नै यस लिगको नियम परिवर्तन गर्न सकिने भन्ने सम्मको शब्दावली छन् । यसले पनि नियमावली निर्माण गर्दा एन्फा कति गम्भीर रहेको भन्ने आँकलन गर्न सकिन्छ ।
विपक्षी क्लबले यी खेलाडी बी डिभिजन लिगका लागि एन्फामा दर्ता रहेको भन्दै दायर गरेको दावीकै आधारमा अनुशासन समितिले यो कठोर कदम चालेको छ । जबकी न यी खेलाडी बी डिभिजन लिगका लागि एन्फामा दर्ता छन्, न यी खेलाडी दर्ता भएको भनिएको क्लबले नै कुनै आपत्ति जनाएको छ ।
दुई वर्षअघि बबिनले बी डिभिजन खेल्नका लागि श्री भगवती क्लबसँग मौखिक सम्झौता गरेका थिए । तर पटक पटक लिग स्थगित भएपछि उनले अन्तत: सी डिभिजन नै खेल्ने निधो गरे । सायद नेपाली फुटबलको अस्पष्ट नियमको त्रासबारे जानकारी भएर नै होला, उनले आरसी ३२ सँग पुन: अनुबन्ध हुँदा टोखा क्लबसँग फुकुवा पत्र पनि मागे । तर अनुशासन समितिले त्यो तथ्यमा आँखा चिम्लिएर नै वर्तमान एन्फा नेतृत्वको खेमाका क्लबलाई अनुकुल हुने निर्णय गर्यो ।

अर्का खेलाडी सुमन मगरको त झन् स्थिति फरक छ । उनले त झापा फुटबल क्लबसँग मौखिक सम्झौता समेत गरेका छैनन् । क्लवले उनको जानकारी विना नै बी डिभिजन खेल्ने सुचिमा नाम पठाएको थियो । तर भोलिपल्ट नै उनलाई फुकुवा गरेको भनेर त्यस निर्णय सच्यायो । तर आफूले थाहा नै नपाएको गल्तीको सजाय अहिले सुमन भोगिरहेका छन् ।
नेपालका कुनै क्लबले यो अवस्थामा लिओनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डोको नाम सूचीमा राख्थ्यो त, एन्फाले ती खेलाडीलाई पनि आफ्नो दर्ता सुचिमा राख्ने प्रक्रिया रहेको एन्फा वृत्तमा चर्चा छ । एन्फाले विना खेलाडीको स्वीकृति क्लबले नाम पठाएकै भरमा खेलाडी दर्ता भएको नजिर स्थापित गर्न खोजेको छ । जुन कुनै हालतमा न्यायोचित देखिदैन ।
एक त अनुशासन समितिको निष्पक्षताकै विषयमा पटक पटक एन्फामा विवाद हुँदै आएको छ । एन्फाकै कुनै सदस्य संस्थामा पद बहाल गरिरहेका व्यक्ति उक्त समितिका सदस्य छन् । यसबाहेक स्वतन्त्र रुपमा काम गर्नुपर्ने यस गम्भीर समितिका सदस्यलाई एन्फाले अघिल्लो साता मात्र बेलायत भ्रमण सुचिमा समेटेको थियो । संयोगवश युवा तथा खेलकुद मन्त्रालयले १५ अतिरिक्त अफिसियलको सूचीलाई यात्रा गर्ने नदिने निर्णय गर्यो र यो अवस्था टर्यो ।
यतिमात्र होइन, सी डिभिजन लिगको विवाद प्रतियोगिता र प्राविधिक समितिमा नगई सिधै अनुशासन समितिमा गएको छ । जबकी एन्फाको सी डिभिजन लिगको नियमवाली अन्तर्गत खेलाडी दर्ता शीर्षकमा प्रष्ट रुपमा ए डिभिजन लिगमा दर्ता भएका बाहेक सबै खेलाडी खेलाउन पाउने उल्लेख छ । एन्फाले ४८ घण्टाभित्र दर्ता नभएको भन्दै गलत तथ्यसहित कारवाही त गरेको छ । तर एन्फाको लिग नियमावलीमा यस्तो व्यवस्था नै छैन ।
न कागजी रुपमा कतै तथ्य दाजिन्छ, न दावी र आरोपलाई पुष्टि गर्ने घटनाक्रम नै । निकै गम्भीर हुनुपर्ने अनुशासन समितिले सतही रुपमा गरेको निर्णयले एन्फाको वर्तमान अवस्थालाई उदांगो पारेको छ ।

यी खेलाडीलाई खेलाएको भन्दै एन्फामा ९ क्लबका प्रतिनिधिले एकसाथ विरोध पत्र बुझाए । मैदानभित्र प्रतिस्पर्धा गर्नुपर्ने समयमा क्लबहरु एक अर्काको विरोध गर्न एकजुट देखिए । यहाँसम्म की खेल नै नखेल्ने धम्कीसम्म आए । जबकी एन्फाले लिगको नियम पल्टाएर नियमसंगत कारवाही अघि बढाएको भए, निराधार आरोप भोग्ने खेलाडी होइन, खेल नखेल्ने धम्की दिने क्लबलाई कारवाही गर्न सकिने बुँदा स्पष्ट थियो । तर सी डिभिजनको ९-५ क्लबको समीकरण मैदानभित्र खेलाडी समस्यासँग जोडिएको छैन, चुनावमा मताधिकार प्राप्त गर्न पक्ष-विपक्षसँग गाँसिएको छ ।
धन्न नेपाल फुटबल खेलाडी संघले यसबारे एन्फा नेतृत्वलाई ध्यानाकर्षण गराएपछि अपिल समितिमा यो घटनालाई बाटो मोड्न खोजिएको छ । तर अपिल समितिबाट निर्णय आउनुअघि नै एन्फा नेतृत्वले आफू अनुकुल स्वतन्त्र समितिलाई प्रयोग गर्न खोजेको तथ्य डरलाग्दो छ ।
एक सिजनमा एक खेलाडीले एक क्लबबाट खेल्छन्, स्थानान्तरण बजार भएको देशमा एकै खेलाडीले २ क्लब वा श्रेणीबाट खेल्छन् । नेपालमा भने फरक फरक समयमा लिग हुने भएकाले एक सिजनमा एक श्रेणीबाट खेल्न पाइन्छ । तर दोस्रो श्रेणीको लिग गर्न असमर्थ रहेको एन्फाले खेलाडीले तल्लो श्रेणी खेलेर चित्त बुझाउन खोज्दा पनि कठिनाइ पैदा गरेको छ ।
न सम्झौता, न सम्बन्धित कुनै पक्षको आपत्ति । तेस्रो पक्षको निराधार आरोपकै भरमा अनुशासन समितिले गरेको कारवाहीले खेलाडीको खेल्न पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गरेको छ । खेलाडीले त अपिल समितिमा पुगेर फेरी खेल्न पाउलान, क्लबले नतिजा फिर्ता पाउला, तर अनुशासन समितिमा लागेको दाग कसरी फिर्ता हुन्छ? एकपछि अर्को दुर्गति देखेको एन्फाले अब देख्न बाँकी के रह्यो र ?
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]