1 year ago
October 28, 2024
सुबास हुमागाईं /प्रकाश तिमल्सिना, काठमाडौं
दशरथ रंगशालामा आइतवार साँझ दुई पटकमा गरेर झन्डै सबा घन्टा रोकिएको नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल पुनः सन्चालन हुन कसरी सम्भव भयो ? यो धेरैका लागि अहिले पनि अन्योलको विषय छ ।
दोस्रो हाफमा नेपाल १० खेलाडीमा सिमित भएपछि भारतले गोल गरेको थियो । संगीता बास्फोरको उत्कृष्ट गोलमा भारतले अग्रता लिएको थियो। भारतीय सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपाली टोलीले फटाफट बल चलाउने प्रयासमा थियो । भुटानी रेफ्री चोकी ओमले सिठ्ठी फुक्ने बित्तिकै सावित्रा भण्डारी ‘साम्बा’ले सेन्टरबाट बल अघि बढाउँदै प्रितीलाई पास गरिन् । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा थिएनन् ।
साम्बाले प्रितीलाई बल दिएपछि भारतीय खेलाडीले आफ्नो पोष्टमा अघि बढाएको देखेर गोलकिपरसहित अन्य खेलाडी पोष्ट तिर अघि बढे । भारतीय खेलाडी पोजिसनमा पुग्नुअघि नै प्रितीले बल प्रहार गर्दै गोल गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।
कारण नेपालले बल चलाउने बेलामा भारतीय अफिसियल पनि मैदानभित्र थिए । रेफ्रीले नेपालको गोल रद्द गर्दै भारतीय एक अफिसियललाई पहेंलो कार्ड दिइन् । नियम अनुसार त गोलले मान्यता पाउनुपर्ने थियो । तर रेफ्रीले नेपालको गोललाई अयोग्य भन्दै गल्ती गरिन् । नेपालले पनि असन्तुष्टि पोख्यो । तर नेपालले खेल सुरु नगरे रद्द गरेर भारतलाई विजेता घोषणा गर्ने धम्कि दिएपछि नेपालले बाध्य भएर खेल सुरु गर्नुपर्यो ।
पुनः खेल सुरु भएको एक मिनेट नबित्दै दर्शकहरुले मैदानमा बोतल प्रहार गर्न थालेपछि खेल रोकियो । नेपालको बेन्चले पनि फोर्थ अफिसियलसँग असन्तुष्टि पोख्यो । खेल रोकिएपछि रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी पनि मैदानछेउ पुगे । दुवैले रेफ्रीसँग छलफल गरे ।

नेपालले गोल नदिए नखेल्ने जिकिर गरिरह्यो । यता भारतले भने नेपालले बल चलाइसकेका कारण गोल रद्द नै हुनुपर्ने बतायो । लामो समयसम्म पनि नेपाली टोली खेल्नका लागि तयार थिएन । अखिल नेपाल फुटबल संघ (एन्फा) अफिसियल खेल्नुपर्छ वा के गर्ने भन्ने विषयमा निर्णय लिन सकिरहेका थिएनन् । कतिपय पदाधिकारी र अफिसियल खेल्नु हुँदैन नै भन्ने पक्षमा थिए । कहिले रेफ्री परिवर्तन गर्नुपर्छ भन्नेसम्म माग राखेका थिए ।
रेफ्रीको निर्णयका कारण भएको विवादले खेल झन्डै १ घण्टा रोकियो । खेल रद्द समेत हुने संघारमा थियो । त्यस्तोमा राष्ट्रिय पुरुष टोलीका कप्तान किरण चेम्जोङ र एन्फा खेलाडी संघका अध्यक्ष विक्रम लामाले बेन्चनजिक गएर घटनाक्रम बुझे । किरण र विक्रमले टोलीका सिनियर खेलाडी साम्बा, कप्तान एन्जिला तुम्बापो सुब्बा र गिता रानालाई खेल खेल्न सल्लाह दिएपछि नेपाली टोली खेल्नका लागि तयार भएको थियो ।
एन्फाका पूर्व अध्यक्ष कमाछिरिङ शेर्पाको सल्लाहमा किरण र विक्रम खेलाडीलाई सम्झाउन दर्शक दिर्घाबाट तल गएका थिए । यति बेला एन्फाका वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई भने देशबाहिर रहेका छन् । यस्तोमा एन्फा कार्यसमितिका अन्य पदाधिकारीले निर्णय लिन सकिरहेका थिएनन् ।

‘खेल अझै ३५ मिनेट बाँकी छ । तिमीहरु खेलेर जित्न सक्छौं । यत्रो समर्थक तिमीहरुको खेल हेर्न आउनुभएको छ । रेफ्रीको निर्णय गलत थियो । तर त्यसलाई मान्नुको विकल्प हामीसँग हुँदैन भनेर किरण र विक्रम दाईले सम्झाएपछि हामी खेल्न राजी भएका हौं, साम्बाले घटना क्रम स्मरण गर्दै भनिन् ।
एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी खेल्न नमानेकोले एकपटक गएर सम्झाउन आफूलाई भनेको विक्रमले बताए । ‘पूर्व अध्यक्ष ज्यू र किरण तल गएर सम्झाउन प्रयास गर्नुभएको रहेछ । त्यति बेला पनि खेलाडी नमानेपछि उहाँहरु माथि भिआइपी दिर्घामा आउनुभएको थियो’, विक्रमले भने, ‘म सिट नपाएर त्यहि भर्याङमा बसेको थिएँ । मलाई के कारणले खेल रोकिएको थियो भन्ने थाहा थिएन । म भएकै ठाउँमा आएर कर्मा सरले एक पटक खेलाडीलाई सम्झाउन भनेपछि म झरेको थिएँ।’
विक्रमले अगाडि थपे, ‘पहिला त्यहाँको अवस्था बुझे । नखेल्दा हामीमाथि कारवाही हुन्थ्यो । खेलाडीमा रिस, आवेग, फ्रस्टेसन सबै थियो । गोलको मान्यता नपाएसम्म नखेल्ने भन्नेमा उहाँहरु हुनुहुन्थ्यो । सिनियर खेलाडी भएकोले एन्जिला, गिता, सम्बालाई बेलाएर हामीले सम्झौयो । किरण पनि त्यति बेला आइसकेका थिए । खेल अनुशासन हामीले राख्नुपर्छ । फुटबलमा यस्ता घटना हुन्छन् । फुटबललाई यसैले निर्दयी खेल भनिएको हैन भन्यौं ।’

विक्रमले थपे,’ यो घटनाले नेपाली फुटबलमा नै ठूलो असर पर्न सक्छ । आउने जेनेरेसनको लागि पनि तपाईहरुले खेल्नुपर्छ । बाँकी समय खेल्दा तपाईहरु जित्न सक्नुहुन्छ भनेर सम्झायौं। ३५ मिनेटमा जित्न सकिन्छ भनेपछि उहाँहरु तयार हुनुभयो । गितालाई तिम्रो भूमिका महत्वपूर्ण हुन्छ भने मैदान झिर्ने बेला पुनः सम्झाए । उनी कन्भिन्स थिइन् । भने जस्तै नतिजा आयो । धर्यताको ठूलो मुल्य छ भन्ने फेरि एकपटक प्रमाणित भएको छ ।’
पुरुष टोलीका कप्तान किरणले पनि खेलाडी आवेगमा रहेको अवस्थामा सम्झाउन आफ्नो कर्तव्य रहेको बताए । ‘हामी खेलाडीले खेलेर नै उत्तर दिने हो । हामीले खेल्न मानेनौ भनेपनि हार हुन्छ । ३५ मिनेट समय छ, खेलेर नै जित्न सक्छौं । हजारौं दर्शक खेल हेर्न आउनुभएको छ । देशका लागि र टिमका लागि खेलेर जित्नुपर्छ भन्यौं,’ किरणले सुनाए ।

सनियर खेलाडीको अनुरोधकै कारण लामो विश्रामपछि खेल पुनः सुरु भयो । खेल सुरु भएको केही मिनेटमै नेपालले गोल फर्कायो । प्रितीले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।
त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी हुँदै बंगलादेशसँगको फाइनल भेट पक्का गर्यो । बंगलादेशले आइतबार नै भुटानलाई ७–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । गत संस्करणमा पनि यि दुई टोलीबीच फाइनल भएको थियो । जसमा बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।
भारतले दोस्रो हाफमा गोल गरेको लगत्तै नेपालले सेन्टरबाट बल चलाउँदै भारतको पोष्टमा गरेको गोलले मान्यता नपाएपछि विवाद सुरु भएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् । त्यसअघि रेखाले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]