default_image

6 months ago

June 11, 2025

धुलिखेलले सम्झाएको गीतहरु

1091 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

आजको मितिबाट एक महिना अघि, वैशाख २६ गते धुलिखेलको रंगमञ्चमा एउटा यस्तो दृश्य थियो ।

जब सभा हलभित्र एन्फाको साधारण सभा चलिरहेको थियो, हलबाहिर भने पूर्व अध्यक्ष गणेश थापाको रौद्र रुप देखिएको थियो । त्यो समाचार पढे हेरे पछि पंक्तिकारको कानमा अनायासै गायक यश कुमारको एउटा गीत गुन्जिएको थियो ।

“वनको बाघले हैन तिमीलाई
मनको बाघले खायो ।
मनको बाघले खायो ।।”

दश वर्षे प्रतिबन्ध पूरा भएपछि गणेश थापाको सक्रियताको रफ्तार दिनानुदिन बढी रहेको छ । प्रतिबन्धको समयमा पनि उनी नेपथ्यबाट सक्रिय थिए नै, अहिले रंगमञ्चमा आफै उत्रिएका मात्र हुन् । उनको सक्रियता र उपस्थितिले एन्फामा पराकम्पन महसुस गराएको प्रमाण दुनियाँले धुलिखेलमा देख्यो । यो पराकम्पनको असरको नतिजा आगामी चुनावमा के कति हुने हो, पर्खनुको विकल्प छैन ।

एन्फाको नेतृत्व शैली जे छ, त्यो शैलीको वीजारोपण त थापा स्वयंले नै गरेका हुन् । थापा पछि जो जति आए , उनीहरुले त त्यो वीउ जोगाएका मात्र हुन् । थापाको छत्र छायाँमा हुर्किएकाहरुले उनको नेतृत्व शैली मात्र सिके, काम सिकेनन् । पूर्व अध्यक्ष थापाको कामहरु माथि छलफल गर्न सकिन्छ । कति ठीक थियो वा कति बेठीक भनेर विश्लेषण गर्न पनि जरुर सकिन्छ । थापालाई स्वीकार–अस्वीकार गर्नु व्यक्तिगत रोजाई हो, तर उनलाई नजरअन्दाज गर्न कदापि सकिँदैन ।

आखिर एउटा मान्छेसँग एन्फा किन डराउँछ ? प्रश्नहरुदेखि एन्फा किन भाग्छ ? यस्तो छक्कलाग्दो प्रश्नमा एन्फाका प्रत्युत्तर भने झन् उदेकलाग्दो छ । जुन दिन एन्फाले अदालतको आदेशलाई आफैँ रेड कार्ड देखायो, त्यो क्षण पंक्तिकारको मनमा क्रमशः दुई गायकहरु रामकृष्ण ढकाल र प्रकाश सपुतको गीतहरु सम्झना आएको थियो ।

“ ओराली लागेको हरिणको चाल भो…… ”

“ बुझिन मैले , बुझाई देउ कसैले…… ”

एन्फामा पक्ष र प्रतिपक्ष छैन । त्यहाँ बहुमतधारी (गुट) र अल्पमतधारी (गुट) मात्र छ । कुन गुटको मान्छे कुन बेला कुन गुटमा पुग्छ भनेर स्वयं त्यो व्यक्ति (भोटधारी) लाई पनि थाहा हुँदैन । भोटधारीहरु आफ्नो स्वार्थको बल्छीमा भोटको चारो बाँधेर सँधै झिंगे दाउ थापिरहेका देखिन्छन् ।

झिंगे दाउधारीलाई तह लगाउने एन्फाको शैली खासगरी तीन सुत्रहरुमा टेक्ने गरेको देखिन्छ , चाहे वर्तमान नेतृत्व होस् या निवर्तमान । विरोध, असन्तुष्टि र असहमतिलाई विचार, कार्यक्रम र योजनाले नभई ती तीन सुत्रहरुको प्रयोगले निस्तेज पारिन्छ ।

पहिलो सुत्र–ललीपप दिने । ललीपप नखाएको खण्डमा, दोस्रो सुत्र–डोजर चलाउने । डोजरले पेल्न नसकेको अवस्थामा, तेस्रो सुत्र–आँखामा कालो पट्टी बाँध्ने । एन्फाले तेस्रो सुत्र गणेश थापामाथि धुलिखेलमा प्रयोग गर्यो ।

एन्फाले आँखामा कालो पट्टी बाँधेपछि उसले संसार नै अँध्यारो सम्झ्यो । अँध्यारोमा न लाज, न ग्लानि, न त डर नै । एन्फाले यही अन्तिम लाजमर्दो अस्त्र धुलिखेलको साधारण सभामा थापाविरुद्ध प्रहार गर्यो । थापाको उपस्थितिलाई निषेध गरेर एन्फाले आफ्नो विजय सम्झेको छ । विजयको त्यो मन्द मुस्कानसहित एन्फाले धुलिखेलमा आफ्नो अनुहारमा आफै धुलो लगाएर सातदोबाटो फर्की सकेको छ । कति सरमलाग्दो दृश्य बरै !

धुलिखेलको साधारण सभामा एन्फा नेतृत्वले आफ्नै प्रतिनिधिलाई निषेध मात्र नगरेर आफ्नै देशको अदालतको आदेशलाई पनि रद्दीको टोकरीमा फ्याँकेर जगतसामु निम्न स्तरको अर्को तमासाको प्रदर्शन गर्यो । अदालतको आदेशको एन्फामा कुनै अर्थ र सम्मान छैन भनेर उसले सन्देश पनि दिएको छ । क्या बात एन्फा क्या बात !

यस्तो तमासा चलिरहँदा एउटा गज्जबको दृश्य भने नेपाल प्रहरीको थियो । सुरक्षाको लागि उसको उपस्थिति थियो भन्ने कुरामा त शंका रहेन । तर खासमा उ त्यहाँ अदालती आदेशको कार्यान्वयन गराउन गएको थियो कि कार्यान्वयन नगराउन ? आफैं भ्रममा परियो हजुर ।

हालसालै एउटा कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले फिफाको कारवाही भोगिसकेका पूर्वपदाधिकारीलाई एन्फामा कुनै स्थान नरहेको अभिव्यक्ति दिएको पढ्न पाईयो । प्रष्ट के भईएन भने यो कुरा उनले एन्फाको विधान अन्तर्गत गरेको हुन् ?या व्यक्तिगत विचार राखेको हुन् ?

उक्त कार्यक्रममा नेम्बाङले एन्फाको विरोध गर्नेलाई नेपाली फुटबलमा ठाउँ नभएको भन्ने थप भनाई चाहिँ जगत हसाउनको लागि एउटा फन्नी पन्चलाइन मात्र हो । नेपाली फुटबलमा कोही कसैलाई ठाउँ दिने/नदिने अधिकार एन्फाको होइन ।

नेपाली फुटबल भनेको एउटा एन्फा मात्र होइन । विभिन्न अंशहरु मिलेर बनेको नेपाली फुटबलको एउटा अंश मात्र हो एन्फा पनि । नेपाली फुटबल एन्फाको पेवा हो भनेर एन्फा नेतृत्वलाई कदापि भ्रम नहोस् ।

एन्फाले चाहेको खण्डमा कोही कसैलाई एन्फामा भने रोक्न सक्छ । कहिले सजिलो गरी, कहिले तिकडमबाजी गरी । तर नेपालकै अदालतको आदेशलाई उपेक्षा गरी कोही कसैलाई एन्फामा प्रवेश गर्न नदिने अधिकार एन्फालाई छैन । अदालतको आदेशलाई सम्मान गर्नु नपर्ने भन्ने आफ्नै नीजि नजिर एन्फाले धुलिखेलमा बनाएर फर्केको छ ।

यता राखेप भने अदालतबाट चिठी/जानकारी नआएको भन्ने हलुका तर्क दिएर आफ्नै तालमा छ । राखेपले यो कुरा आफैँ बुझोस् कि अदालतको आदेश नमान्ने संस्थाले राखेपलाई कति मूल्य देला ? अदालतको आदेशलाई बेवास्ता गरिएको घटना सायद राखेपलाई झिना मसिना भइरहने सामान्य घटना लागेको होला ।

सामाजिक संजालमा नै सही, गणेश थापाको समर्थनमा आवाजहरु बढेको देखिन्छ । यसो हुनुमा थापाको कला, क्षमता भन्दा पनि एन्फाको कमजोरी र गल्तीहरुको अजंगको भारीले बढी काम गरेको देखिन्छ । हामी भन्दा गणेश थापा नै ठीक हुन् भन्ने भाष्य स्वयं एन्फाले आफ्नो काम गराइबाट देखिइरहेको छ । यस अर्थमा कर्मा छिरिङ शेर्पा र पंकज विक्रम नेम्बाङ लगायतहरु अझै पनि थापालाई नै अप्रत्यक्ष सहयोग गरीरहेका छन् ।

एउटा व्यक्तिलाई रोक्नु सामान्य कुरा हो । प्रतिनिधिलाई साधारण सभामा गेट प्रवेशबाटै रोक्नु पनि अहिलेलाई सामान्य नै मानौं। तर अदातलको आदेशलाई बेवास्ता गर्नु सामान्य कुरा हुँदै होइन । एउटा परिपक्व संस्थामा अदालतको आदेशको अवहेलना कल्पना गर्न सम्म पनि सकिँदैन । एन्फाको सुशासनको बारेमा कसले , कहिले र कति घाँटी फुलाएको थियो भनेर स्वयं व्यक्तिले आफैँ सम्झेको उत्तम हुनेछ ।

अन्तमा, गणेश थापालाई स्थायीरुपमा एन्फामा रोक्न वर्तमान नेतृत्वलाई एउटा छुच्चो सुझाव छ । बहुमत छँदैछ , विधान संशोधन गर्नुस्: “ फिफाले प्रतिबन्ध लगाएको व्यक्ति नेपाली फुटबलमा स्थायीरुपमा प्रतिबन्ध हुनेछ । ”

न रहन्छ बाँस , न रहन्छ बाँसुरी । बात खतम ।

यस्तै यस्तै ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.