4 months ago
August 2, 2025
सुनिल गाउँले, सिमरा
सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने भएको हो । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता रहनेछ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
४ वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवर्द्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गरेको हो । क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको छ, यसले अझै ऊर्जा दिनेछ’ उनले भने । लामाले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राखे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरीले वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि ऐतिहासिक भएको उल्लेख गरे ।
सिमरामा २०६५ सालमा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ मा एन्फाको आयोजनामा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता राष्ट्रिय महिला फुटबल सिमरामा आयोजना भएको थिएन ।
राष्ट्रिय प्रतियोगिता नहुँदा विद्यालयस्तरबाट उत्पादन भएका महिला खेलाडीमा अवसरको अभाव थियो । अब भने यो प्रतियोगिताबाट स्थानीय खेलाडीको प्रतिभा उजागर हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार लगायतले प्रतियोगिताले जीतपुरसिमरा क्षेत्रमै फुटबलको विकासमा गति दिने विश्वास व्यक्त गरे ।
जीतपुरसिमरामा १५औं संस्करणसम्म आयोजना भइसकेको गोल्डकप प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगितामध्ये एक हो । सोही प्रतियोगिता मार्फत निर्माणाधीन सिमरा रंगशाला अब मधेश प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थान बन्ने अपेक्षा गरिएको छ ।
सरकारका मन्त्रीदेखि विभिन्न दलका नेतासमेतले सिमरा रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन आवश्यक पहल गर्नुपर्ने धारणा राख्दै आएका छन् । यस प्रतियोगिताले रंगशालाको उपयोग र सम्भावनालाई पुनः उजागर गराउनेछ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]