काठमाडौं (हाम्रो खेलकुद)– भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग होम म्याच खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारत पनि एसियन कप छनोटमा भाग लिइ रहेको छ।

प्रशिक्षणमा व्यस्त नेपाली टोली
‘हाम्रो टोली जेठ २१ गते भारत जानेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘ मैत्रीपूर्ण खेलको भोली पल्ट टोली स्वदेश फर्कनेछ। ’ नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मुम्बईमा जेठ २३ गते हुनेछ। नेपाल र यमनबीच एसियन कप छनोटको खेल जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ।
एन्फा प्रवक्ता समेत रहेका तुलाधरले केही दिनमै भारतसँग मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरिने जानकारी दिए। जापानी प्रशिक्षक ग्यातुको कोजीमा नेपालले मैत्रीपूर्ण खेल र यमनको तयारी गरिरहेको छ। एसियन कप छनोटको समूह चरणको पहिलो खेलमा नेपाल चैत १५ गते फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपाल रहेको समूहमा ताजकिस्तान पनि रहेको छ।