काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनसँग अंक बाँड्नु सन्तोषजनक नतिजा रहेको प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् ।
खेलपछि पत्रकारसँगको अन्तरक्रियामा कोजीले यमन आफूभन्दा बलियो टोली रहेको कारण बराबरी खेल्नु नेपालकोलागि राम्रो नतिजा रहेको बताएका छन् । “बराबरी हाम्रो लागि सन्तोषजनक नतिजा हो। अघिल्लो साता खेलिएको भारतसँगको खेलले हामीलाई तयार गर्न र हाम्रो गल्ती सुधार्ने अवसर दियो ।”
कोजीले यमनको खेल भारत भन्दा भिन्न भएको र अवसर सदुपयोग नगर्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको बताए । “यमनको खेल भारतको भन्दा धेरै भिन्न थियो। हामीले खेलमा धेरै अवसर पाएपनि सदुपयोग गर्न सकेनौ त्यसैले बराबरीमा चित्त बुझायौं। तर यस बराबरी हाम्रो लागि राम्रो नतिजा हो।”
उनले यो प्रतियोगिताका सबै खेल गाह्रो रहेकाले आगामी खेलमा टोलीले थप मेहनत गर्ने बताए। “हामी निकै ठुलो प्रतियोगिता खेलिरहेका छौँ र यसमा सबै खेल महत्त्वपूर्ण हुन्छन्। हामी आउने खेलका लागि अझै मेहेनत गर्दै राम्रो नतिजा ल्याउन सक्दो प्रयास गर्नेछौँ।”