काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले फुटबलका सम्बन्धित निकायको औपचारिक कार्यक्रममा बाहेक फुटबलका विषयमा बोल्न मिल्ने जिकिर गरेका छन् ।
‘एन्फा, एएफसी, फिफाले गर्ने कार्यक्रममा गएर बोल्न, भाग लिन मात्र मलाई प्रतिबन्ध हो,’ राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा थापाले भने, ‘बाँकी अन्य ठाँउमा फुटबलका विषयमा कुरा गर्न मलाई कसैले रोक्न मिल्दैन । र म बोल्छु पनि ।’
आफुले सधै नेपाली फुटबलको भलो चिताएको उल्लेख गर्दै थापाले भने, ‘राम्रो काम हुँदा समर्थक र प्रशंसा गर्ने । गलत हुन लाग्दा त्यसको विरोध गर्ने हो । मैले बोल्दा फुटबलका पदाधिकारी सचेत हुन्छन् भने मैले भन्नु पर्छ । म भन्छु पनि । ‘
प्रदेशिक लिग आयोजना हुने निर्णयको स्वागत गर्दै थापाले भने, ‘मैले त्यो कदमको सरहाना गरेको छु । मुख्यमन्त्रीलाई पनि बधाई दिए । एन्फालाई पनि धन्यवाद भनेको छु । राम्रो काममा साथ रहन्छ ।’ केहि राम्रा काम भएपनि पछिल्ला समयमा नेपाली फुटबल गलत बाटोमा जान्छकी भन्ने शंका बढेको थापाले बताएका छन् ।
‘फुटबलको विकास, खेलाडी, क्लबले पाउने सुविधामा केहि बढेको छैन,’ उनले भने, ‘तर पदाधिकारीको भने तह अनुसारको भत्ता बढेको भन्ने सुन्नमा आएको छ । जिल्लाका मान्छे काठमाडौं आउने १५ /२० दिन बस्ने । भत्ता बुझ्ने अनि जिल्ला फर्कने गरेको त्यहिकै मान्छेबाट सुनिन्छ । यदि त्यो सहि हो भने त्यसले नेपाली फुटबललाई ओरालो तिर लान्छ ।’
२०५२ सालपछि दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका थापालाई भ्रष्टाचारको अभियोगपछि तीन वर्ष अघि फिफाले ८ वर्षको प्रतिबन्ध र जरिवाना गरेको थियो । त्यसका वावजुद मौका मिल्दा थापा नेपाली फुटबल र आफ्नो बारेमा बोल्न छुटाउँदैनन् ।
आफ्नो समयमा फिफा एएफसीबाट बार्षिक ५ करोड अनुदान आउने स्मरण गर्दै थापाले भने, ‘अहिले ४० करोड भन्दा बढी आउछ । तर, त्यो पैसा फुटबल विकासमा खर्च भएको सुन्न पाइएको छैन ।’ हिजो आफ्नो समयमा सुरु भएकै कार्यक्रमलाई व्यवस्थित ढंगले चलाउने बाहेक अहिलेको एन्फा नेतृत्वले गर्ने कुनै नयाँ कार्यक्रम नभएको थापाले दोहोराए ।
‘सबै प्रतियोगिता हिजै सुरु भएका हुन् । अहिले भनिएको प्रादेशिक लिग हिजको क्षेत्रिय लिग जस्तै हो, ‘उनले भने, ‘पहिला भन्दा व्यवस्थित गर्ने, क्षेत्रिय रुपमा एकेडेमी स्थापना र अन्य विकासका काम गर्न सके फुटबल विकास हुन सक्दछ ।’
एन्फाले विदेशी नागरिकलाई फिफा कंग्रेसमा प्रतिनिधि बनाउँदा सरकारी निकाय र नेपाल ओलम्पिक कमिटी मौन भएकोमा एएफसीका पूर्व उपाध्यक्ष समेत रहेका थापाले आलोचना गरे ।
‘ विदेशीले फिफा कंग्रेसमा भाग लिने देशका लागि लाजमर्दो विषय हो, कसैको नाम नलिइ उनले आक्रोश पोखे, तर त्यो विषयमा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) वा एनओसीले प्रश्न उठाएनन् । त्यो दुःख लाग्दो कुरा हो । ‘
एन्फाले अन्तर्राष्ट्रिय विभाग प्रमुख एवंम अध्यक्ष कर्मा छिरिङ शेर्पाका सल्लाहकार एनआरएन नवीन पाण्डेलाई फिफा कंग्रेसमा सहभागी गराएको थियो । त्यो विषयमा पछि एन्फाले पाण्डेलाई प्रतिनिधि नभई परिवेक्षकका रुपमा सहभागी गराएको भन्दै स्पष्टिकरण दिएको थियो ।
एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीले शिक्षा अभियानमा जुटेका सोही ब्याचका गजेन्द्र राना (गजेन्द्र सर) लाई आर्थिक सहयोग गर्न आयोजित कार्यक्रममा थापाले लामो समय नेपाली फुटबल र आफ्ना बारेमा बोलेका थिए ।