एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा विवादमा परेका भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लो बार्सिलोना पुगेका छन् ।
बार्सिलोनाले यसै साता उनलाई ६ महिना लोनमा क्लबमा भित्र्याएको छ । अन्य डिफेन्डर चोटले ग्रस्त हुँदै विश्राममा बसेपछि बार्सिलोनाले कोलोम्बियाका डिफेन्डरलाई क्लबमा ल्याएको हो । मुरील्लो आफैं पनि विगतमा चोटसँग संघर्ष गर्दै आएका छन् । तर आकस्मिक रुपमा क्लबले उनलाई भित्र्याउँदै हालको लागि स्थिति सुल्झाएको हो ।
बार्सिलोनाले उनलाई भित्र्याउँदा स्थायी रुपमा राख्न पाउने विकल्प पनि समावेश गरेको छ । उनले राम्रो प्रदर्शन गरेको खण्डमा क्लबले तोकिएको रकम खर्चेर स्थायी अनुबन्धन पनि गर्न सक्नेछ । जनवरीमा आफुले चाहेको डिफेन्डर उपलब्ध नहुने कारणले पनि बार्सिलोनाले यो बाटो अपनाएको हो । २६ वर्षीय कोलोम्बियन डिफेन्डरले यसअघि इन्टर मिलानबाट पनि खेलिसकेका छन् । उनले इटालियन क्लब उडिनेजेबाट युरोपेली करिअर सुरु गरेका थिए ।
मुरील्लो यसै सिजनको सुरुवातमा निकै विवादमा तानिएका थिए । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा युभेन्टसविरुद्ध क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा मुरील्लो विवादको घेरामा परेका थिए । रोनाल्डोले उनको टाउकोमा हातपात गरेको भन्दै रेफ्रीले रातो कार्ड दिएका थिए ।