एजेन्सी– युरोपको महारथी रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग बराबरीमा रोकिएको छ । रियल भिल्लारियालसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
भिल्लारियालको मैदानमा बिहीबार राति भएको खेलमा रियालले खेलमा पछि परेर अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । भिल्लारियालका सान्टी कार्जाेलाले दुई गोल गरे । रियलका करिम बेन्जेमा र राफेल भरानले गोल गरे ।
घरेलु टोलीका लागि खेलको चौथो मिनेटमा स्यामुयल चुकवुजीको पासमा सान्टी कार्जाेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । तर, भिल्लारियालको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा करिम बेन्जेमाले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।
२०औं मिनेटमा टोनी क्रुसको पासमा राफेल भरानले हेडमार्फत गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता बनाएको थियो । ८२औं मिनेटमा सान्टी कार्जाेलाले व्यक्तिगत दोस्रो तथा टिमका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबीपछि रियल १७ खेलबाट ३० अंक जोडेर चौथो स्थानमा यथावत रहँदा भिल्लारियाल १७ खेलबाट १६ अंक जोडेर रेलिगेसन जोनबाट एक स्थान माथि रहेको छ । बार्सिलोना ३७ अंकसहित शीर्षस्थानमा रहेको छ । एट्लेटिको ३४ अंकसहित दोस्रो तथा सेभिल्ला ३२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।