लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब २७औं त्रिवेणी कप च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक त्रिवेणीले सुन्दरबजार युवा क्लबलाई १–० ले पराजित गर्दै २७औं संस्करणको त्रिवेणी कप च्याम्पियन बन्न सफल भएको हो ।
लमजुङ सदरमुकाम बेंसीसहरस्थित सहजी खेल मैदानमा आयोजकलाई च्याम्पियन बनाउन विदेशी खेलाडी मेन्साहले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । मेन्साहले खेलको २५औं मिनेटमा मनोज गुरुङको पासलाई गोलमा परिणत गरेका थिए । खेल अवधिभर दुवै टिमले गोल गर्ने केही मौकाहरु खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा त्रिवेणी विजयी हुन सफल भयो । फाइनल खेलमा सोमराज गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ पाए ।
च्याम्पियन बनेसँगै त्रिवेणीले ३ लाख रुपैयाँसहित मेडल, प्रमाण पत्र, त्रिवेणी कप प्राप्त गर्यो । उपविजेता बनेको सुन्दरबजारले नगद १ लाख ५० हजार, मेडल र प्रमाण पत्र पायो । आर एस एन्फा कास्की–११ र बुद्व युथ क्लब (बिवाईसी) भोटेओडारले समान ५०–५० हजार रुपैयाँ प्राप्त ग¥यो । आयोजक त्रिवेणीका मेन्साह सर्वाधिक गोलकर्ता चुनिए । सुन्दरबजारका भबिन मल्ल उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीहरुलाई उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी संसदिय दलका प्रमुख संचेतक देव प्रसाद गुरुङ, जिल्ला न्यायदिश कोमल प्रसाद आचार्य त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठले पुरस्कार वितरण गरे । जिल्लाकै ठुलो धनराशिको प्रतियोगितामा लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, काठमाडौँ, काभ्रे लगायतका गरी २० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता १२ पुसबाट सुरु भएको थियो । खेलअवधि भर ३५ हजार भन्दा बढि दर्शक आएको आयोजक त्रिवेणी युवा क्लबले दाबी गरेको छ ।