एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित हात पारेको छ । बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन थियागो अलकान्तरा, लियोन गोरेट्जका र रोबर्ट लेवान्डोस्कीले गोल गरे । एक गोल उपहार पाएको थियो । स्टुटगार्टका एनास्टासियोस डोनिसले एक गोल फर्काए ।
पाँचौ मिनेटमा थियागो अलकान्तराको गोलबाट बायर्नले खेलमा सुरुवाती अग्रता बनाएको थियो । २६औं मिनेटमा स्टुटगार्टका एनास्टासियोस डोनिसले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा बायर्नले आत्मघाती गोलबाट २–१ को अग्रता बनाएको थियो । स्टुटगार्टका क्रिस्टियनले विपक्षीको प्रहार जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ६५औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुके । ७१औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नललाई ३–१ को अग्रता दिलाए । ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४–१ को जित दिलाए ।
जितपछि बायर्नले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी ६ मा झारेको छ । बायर्नको १९ खेलबाट ४२ अंक पुगेको छ । समान खेलबाटै डर्टमन्डको ४८ अंक रहेको छ । बायर्नसँग पराजित स्टुटगार्ड १४ अंकसहित रेलिगेसन जोनमा छ ।