काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो समय नेपालको मोफसल फुटबलमा एकछत्र राज जमाउँदै आएको दाउफिन्स फुटबल क्लबलाई एन्फाले मान्यता नदिएको बताएका छन् ।

अध्यक्ष शेर्पाले एन्फाले कुनै मान्यता नदिएपनि मोफसलको प्रतियोगिताका आयोजकले आफूखुसी सहभागीता जनाउन दिइरहेको बताए । ‘हामीले दाउफिन्सलाई मान्यता दिएका छैनौं । हामीले मान्यता नदिएपनि खेलिरहेको छ भने हाम्रो आपत्ति छैन । हामीले केहि जिल्लाका मोफसल आयोजकहरुलाई दाउफिन्स मान्यताप्राप्त टोली नभएको र सहभागी गराउन नपाउने स्पष्ट जानकारी गराएका छौं,’ उनले भने ।
अध्यक्ष शेर्पाले सकेसम्म नियम कानुनमा कडाइ गर्ने प्रयास जारि राख्ने बताए । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले टोलीलाई मान्यता दिएको र राखेप एन्फाभन्दा माथिल्लो तहमा रहेका कारण केहि कठिनाई भएको बताए । शेर्पाले अर्को वर्षदेखि सबै मोफसललाई थप कडाइका साथ मात्र आयोजनाको मान्यता दिईने बताए ।
दाउफिन्सले सोमबार बुटवलमा जारी तिलोत्तोमा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्दैछ । यसअघि चार प्रतियोगितामा सहभागिता जनाएको दाउफिन्सले पछिल्लो दुई प्रतियोगितामा उपाधि जितेको छ । धनगढी र इटहरीमा पहिलो खेलमा पराजित दाउफिन्सले पोखरा र धरानमा भने उपाधि नै जितेको थियो ।