एजेन्सी – इंगलिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती एभरटन र लेस्टर सिटीले जित दर्ता गरेका छन् । लेस्टरले घरेलु मैदानमा ब्राइटनलाई २-१ ले पराजित गर्दा एभरटन कार्डिफको मैदानमा ३-० ले विजयी रहयो ।

यसै साता प्रशिक्षक क्लाउड पुएल बर्खास्त हुँदै ब्रेन्डन रोजर्स प्रशिक्षक बन्ने पक्का भएको लेस्टरले रोजर्स दर्शकदीर्घामा रहँदा राम्रो प्रदर्शन गर्यो । डेमारे ग्रेले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ६३ औं मिनेटमा जेमी भार्डीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटमा नै ब्राइटनका डेभि प्रोपरले गोल गरेपनि लेस्टरले जित दर्ता गर्यो ।
यस्तै गिल्फी सिगुर्डसनको दुई गोलमा एभरटनले कार्डिफलाई ३-० ले हरायो । सिगुर्डसनले ४१ औं र ६६ औं मिनेटमा गोल गर्दै एभरटनलाई जितनाजिक पुर्याएका थिए । अन्तिम मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पनि गोल थप्दै सहज जित पक्का गरे ।
मंगलबारै स्टिभ मुनिको ९० औं मिनेटको गोलमा हडर्सफिल्ड टाउनले वल्भ्सलाई १-० ले पराजित गर्यो । न्युकासल युनाइटेडले पनि बर्नलीलाई २-० ले हरायो । घरेलु टोलीको जितमा फाबियन सार र सन लङस्टाफले गोल गरे ।