काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ‘ए’ डिभिजन लिगका १२ मध्ये लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबसहित नेपालका ९ ‘ए’ डिभिजन क्लबले एएफसी कप खेल्ने क्लब लाइसेन्स प्राप्त गरेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी कपको लागि तोकेको मापदण्ड पुरा गरेको भन्दै नेपालका ९ ‘ए’ डिभिजन क्लबलाई क्लब लाइसेन्सको मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालबाट १४ क्लबले एएफसी क्लब लाइसेन्सिङको लागि आवेदन दिएका थिए ।
क्लब लाइसेन्स पाउनेमा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, च्यासल युथ क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सिएमजी क्लब संकटा, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब रहेको क्लब लाइसेन्स समितिका संयोजक युजल श्रेष्ठले जानकारी गराए । उनले क्लब लाइसेन्स प्राप्त गर्नको लागि १४ मध्ये ९ ‘ए’ डिभिजन क्लबले १८ मापदण्ड पुरा गर्नको लागि प्रमाण पेश गरेको बताए । यस मापदण्ड पुरा नगरेको खण्डमा क्लब एएफसी कपमा छनोट भएपनि सहभागिता जनाउनबाट बन्चित हुने प्रावधान रहेको छ ।
फिफा र एएफसीको क्लब लाईसेन्स प्राप्तको लागि क्लबहरुले मैदान, खेलाडी सम्झौता, प्रशिक्षक संख्या, मार्केटिङ, मिडिया म्यानेजर, आर्थिक योजनालगायतका १८ मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । नेपाली क्लबहरुले आफ्नो छुट्टै घरेलु मैदान तोक्ने स्थिति नहुँदा एएफसीले एन्फाको मैदानलाई गह्रेलु मैदान मान्न पाउने व्यवस्था गरेको थियो ।
एएफसीले सन् २०१८ सम्म सदस्य राष्ट्रका सबै क्लबमा लाइसेन्स प्रणाली लागु गर्ने नीति लिएपछि नेपालमा पनि यो प्रक्रिया अघि बढेको थियो । नेपालको प्रतिनिधित्व गर्दै मनाङ मर्स्याङदी क्लबले यस सिजन एएफसी कपमा सहभागिता जनाउँदैछ ।