काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी) ले टुसाल युथ क्लबमाथि जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आरसीटीले टुसाल युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आरसीटीको जितमा उनम बुढाथोकीले दुई गोल गरे । टुसालका करण रावतले एक गोल फर्काए ।

३१औं मिनेटमा उनमले गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा करणले बराबरी गोल फर्काए । ८२औं मिनेटमा उनमले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई २–१ को जित दिलाए । जितसँगै आरसीटीले सुपर लिगमा ३ अंक जोडेको छ ।
शुक्रबारै भएको अर्काे खेलमा श्री भगवती क्लबले मोहन बहादुर थापा मगरको ह्याट्रिक मद्दतमा सातदोबाटो युथ क्लबमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो । आश बहादुर गुरुङले एक गोल गरे । सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले समान १ गोल गरे । यससँगै श्री भगवतीले ३ अंक जोडेको छ । ४ टोलीबाट एक टोली ‘बी’ डिभिजन च्याम्पियन बन्नेछ ।