दिपक बोहोरा
इलाम – काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर जारी पाँचौं माइ भ्याली गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै काकारभिट्टा अन्तिम चारमा पुगेको थियो ।

निर्धारित समय खेल १–१ को बराबरीमा टुंगिएको थियो । आर्मीमा नियमित कप्तान भरत खवास र चर्चित फरवार्ड नवयुग श्रेष्ठ शुक्रबारको खेलमा थिएनन् । इलाम स्थित ठूलो टुंडिखेल मैदानमा ५७ औं मिनटमा जितेन्द्र कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर, खेल सकिन ५ मिनेट बाँकी रहँदा विकास राईले गोल गर्दै काकरभिट्टालाई खेलमा फकाएका थिए ।
टाइब्रेकरमा काकरभिट्टाका लागि योगेश गुरुङ, मिलन राई, विक्रम लिम्बु, विशाल राईले गोल गरे । भिक्टरले भने गोल गर्न सकेनन् । आर्मीका लागि रितेश क्षेत्री, दीप लामा र विकास तामाङले गोल गरे । विवेक बस्नेत र युद्ध शाहीले गोल गर्न सकेनन् ।