एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । डर्टमन्डले हर्था बर्लिनमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा फर्किएको हो ।

जितसँगै डर्टमन्डको २६ खेलबाट ६० अंक पुगेको छ । यद्दपि एक खेल कम खेलेको बायर्न म्युनिखको ५७ अंक रहेको छ । बायर्नले आज राति मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा जित हात पारे बायर्न फेरि शीर्षस्थानमा फर्कने छ । हार या बराबरीले भने बायर्न दोस्रो स्थानमा खुम्चने छ ।
डर्टमन्डको जितमा थोमस डिलाने, डान एक्सले जागाडोउ र मार्काे रिउसले गोल गरे । बर्लिनका लागि दुवै गोल सलोमोन कालोउले गरे ।
घरेलु टोली बर्लिनले खेलको चौथो मिनेटमै कालोउको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर, बर्लिनको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा थोमस डिलानेले डर्टमन्डका लागि बराबरी गोल फर्काए ।
३५औं मिनेटमा कालोउले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डर्टमन्डका जुलियनले विपक्षी खेलाडीलाई बक्समा लडाएपछि बर्लिनले पेनाल्टीको मौका पाएको थियो । जसलाई कोलोउले कुनै गल्ती गरेनन् ।
४७औं मिनेटमा डान एक्सलले जाडोन सान्चोको पासमा बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको थप गरिएको इन्ज्युरी समयको पहिलो मिनेटमा मार्काे रिउसले गोल गर्दै डर्टमन्डलाई महत्वपुर्ण ३ अंक दिलाए ।
त्यसपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । बर्लिनका भेडाड इभिसेभिक रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । हारसँगै बर्लिन ३५ अंक जोडेर १०औं स्थनमा छ ।