विराटनगर (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीकी डिफेन्डर पुनम जर्घा मगरले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेकी छिन् ।

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा श्रीलंकाविरुद्ध उनले नेपाललाई अग्रता दिलाएकी हुन् । पुनमले राष्ट्रिय टोलीबाट खेलेको ४२ औं मिनेटमा गोलको खाता खोलेकी छिन् । सेन्टर डिफेन्डर पुनमले सन् २०१४ को साफ च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएकी थिइन् । त्यसयता नियमित रुपमा पहिलो रोजाइमा खेल्दै अाएकी पुनमले जारी प्रतियोगिताको पहिलो खेलमा बेन्चमा रहेकी थिइन् ।
प्रशिक्षक हरि खड्काले दोस्रो खेलमा अमृता जैशीको स्थानमा पुनमलाई मैदान उतारेका थिए । पुनमलाई उनले श्रीलंकाविरुद्ध पनि सुरुवाती रोजाइमा राखे । उनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । निरु थापाले दिएको एक्रोब्याटिक पासमा सावित्रा भण्डारीको हेडरले पोस्टको दिशा लिन नसक्दा पुनमले ६ यार्ड बक्स भित्रबाट गोल गरेकी हुन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी पुनम महिला फुटबलको उर्वर भूमि मानिने रौतहटकी हुन् ।