7 years ago
March 21, 2019
सुबास हुमागाईं, काठमाडौं
पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा फड्को मारेको छ । शुक्रबार साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामु पहिलो पटक उपाधि जित्ने अवसर त छ नै । सँगै यस जितले समग्र नेपाली फुटबलमा महिला टोलीको सुखद दिनको सुरुवात रच्नेछ ।

घरेलु स्तरमा महिला फुटबल पर्याप्त मात्रामा नभइरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा भने राष्ट्रिय टोलीले एकपछि अर्को सुखद नतिजा आत्मसात गरिरहेको छ । उमेर समूहमा पनि यू-१९ टोलीले भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता तथा एएफसी को यू-१९ च्याम्पियनसिपको दोस्रो चरणमा छनोट हुनुले सुखद संकेत दिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा व्यस्त रहँदा नेपाली टोलीले लगातार राम्रो प्रदर्शन गर्न सकेको हो ।
घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्नुअघि नेपालले दुई प्रतियोगितामा सहभागिता जनायो । म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्यो । तीनै खेल १-१ को बराबरीमा सकिएपछि नेपाली टोली इतिहासमा पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्यो । साफ सुरु हुनुअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले फेरी भारत र म्यानमारसँग नै खेल्ने अवसर पायो । भारतलाई समूह चरणमा २-१ ले पराजित गर्दै फाइनल पुगेको नेपालले म्यानमारसँग भने फाइनल र त्यसअघि समूह चरणमा हार बेहोर्यो ।
भारतविरुद्ध पछिल्लो दुई खेलमा नेपाल अपराजित छ । दुवै खेलमा नेपालले केहि दबाब पनि कायम गर्न सफल भएको छ । नयाँ स्वरुपमा उत्रिएको भारतविरुद्ध नेपालले कडा चुनौती प्रस्तुत गर्दै आएको छ । शुक्रबारको खेल त्यसै लयमा जाने निश्चितप्राय छ । कारण दुवै टोलीले प्रतियोगितामा खेलेका तीन खेलमा सहज जित दर्ता गरेका छन् । दुवै टोलीले तीनै खेलमा क्लिनसिट राखेका छन् । दुवै टोली प्रतियोगितासुरु हुनुअघिका दावेदार थिए र मैदानमा त्यसै स्तरको खेल देखाउन सक्षम छन् ।

साफ च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने नेपालले भारतबाहेक अन्य टोलीसँग पराजय भोग्नुपरेको छैन । नेपालले यसअघिको चार संस्करणमा तीन पटक उपविजेता बन्दै र पछिल्लो पटक सेमिफाइनलमा घर फर्कंदा भारतसँग नै पराजित हुन पुगेको थियो । उक्त सेमिफाइनलमा नेपालले भारतलाई दबाबमा राख्न सफल भएपनि अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको थियो । त्यसपछि खेलेका दुवै खेलमा नेपाल अपराजित रहेको छ ।
नेपाली टोली पछिल्लो समय लगातार खेलेका कारण पनि उच्च लयमा छ । प्रतियोगिताको तीन खेलमा नेपालको सुरुवाती रोजाई एक पटक मात्र परिवर्तन भएको छ । नेपाली टोली ‘सेट’ देखिन्छ । यद्यपी डिफेन्स र गोलरक्षकको पर्याप्त मात्रामा खेलमा संलग्नता नहुनुले केहि समस्या आउन सक्छ ।
समूह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपाली टोलीले रक्षात्मक रणनीतिमा खासै कसरत गर्नु परेन । यसले भारतको बलियो आक्रमणलाई रोक्न भने केहि समस्या हुन सक्छ । गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बासँगै हिराकुमारी भुजेल, पुनम जर्घामगर, गीता राना र मनमाया लिम्बु भारतको आक्रमण निस्तेज पार्न तयार छन् ।
रक्षात्मक रुपमा नेपाल जति चिन्तित छ, आक्रमणमा नेपालको शक्तिले टोलीमा उर्जा थपेको छ । दक्षिण एसियाकै उत्कृष्ट फरवार्डको रुपमा आफूलाई सिद्ध पारेकी सावित्रा भण्डारी र कप्तान निरु थापाको जोडीसँगै नेपालको बेन्च पनि बलियो नै छ । रेखा पौडेल, सरु लिम्बू, अनिता केसी र शर्मिला थापा कुनैपनि समय खेलमा अवसर पाए आफूलाई सावित गर्न लालयित छन् ।

अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको विंगप्ले नेपालको लगातार गोलसंख्यामा निर्णायक सावित हुँदै आएको छ । बल खोस्ने योजनामा व्यस्त रहने मिडफिल्डको मध्यक्रमले आक्रमणमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । भारतविरुद्ध दिपा राई र रेनुका नगरकोटेको जोडीलाई थप जिम्मेवारी हुनेछ ।
नेपाली टोली राम्रो लयमा छ र भारतविरुद्ध पछिल्ला नतिजाले मनोबल पनि उच्च छ । नेपालको लागि उपाधिको खडेरी तोड्ने यो सुवर्ण अवसर हो । घरेलु मैदानमा फाइनल खेल्न पाउनु अर्को सुखद पाटो छ । एन्फाले प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाली टोलीले उपाधि जितेमा ‘भविष्य सुखद’ रहने गरि सोच राखेको बताएको थियो । स्थानीय निकाय प्रमुखले पनि आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने वाचा गरेका छन् । यसबाहेक सरकारी निकायका उपल्लो दर्जाका व्यक्तित्वहरुले पनि टोलीको हौसला बढाउने क्रममा आश्वासनको ठेली नै पेलेका छन् ।
उपाधि खडेरी तोड्दै नेपाली फुटबलको इतिहासमै सिनियर टोलीले साफ स्तरको उपाधि जित्नु सुखद नतिजा हुनेछ । यसका लागि परम्परागत प्ररिद्वन्द्वीलाई परास्त गर्नु नेपालको लागि सहज भने छैन । इतिहास रच्ने बानी पारेका महिला खेलाडीले शुक्रबार शहिद रंगशालामा भारतको उपाधि यात्रामा पूर्णविराम लगाउँदै समग्र नेपालको फुटबलमा नै नयाँ इतिहास कोर्ने अपेक्षा धेरैले राखेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]