काठमाडौं (हाम्रो खेलकुद) – कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत आइतबार नेपालले कतारको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार ओमानसँग १-० को हार बेहोरेको थियो । पहिलो खेलमा नेपालले मिडफिल्डर हेमन्त थापामगरलाई खेलको पहिलो मिनेटमा नै चोटका कारण गुमाएको थियो । जसकारण हेमन्तले आजको खेलमा पनि सहभागिता जनाउने सम्भावना कम छ । उनको स्थानमा मैदान छिरेका नितिन थापाले ओमानविरुद्ध राम्रो प्रदर्शन गरेकाले नितिनले मौका पाउने सम्भावना प्रबल छ ।
यता कतारले पहिलो खेलमा अफगानिस्तानलाई २-० ले पराजित गरेको थियो । घरेलु मैदानमा खेलिरहेको कतारका केहि खेलाडी एसियन कपमा उपाधि जित्दा पनि टोलीमा सहभागी थिए । नेपालविरुद्ध जितले कतारको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुने देखिन्छ । नेपालले यू-२३ छनोटमा अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न यस खेलमा नतिजा ल्याउनैपर्ने हुन्छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाट बाहिरिने लगभग पक्का छ ।
नेपाली टोली :
गोलरक्षक – अर्पण कार्की, दिप कार्की र रोमन रसाइली
डिफेन्डर – अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल र छिरिङ गुरुङ
मिडफिल्डर – अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ र नितिन थापा
फरवार्ड –विमल घर्तीमगर (कप्तान), अन्जन बिष्ट, धिरज श्रेष्ठ र प्रेजेन तामाङ