एजेन्सी – विश्वकप उपविजेता क्रोएसियाका फरवार्ड मारियो म्यान्जुकिकले इटालियन क्लब युभेन्टसमा सम्झौता नवीकरण गरेका छन् ।

उनले बिहीबार क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका हुन् । यससँगै उनी २०२१ सम्म युभेन्टसमा रहनेछन् ।
म्यान्जुकिक २०१५ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युभेन्टस पुगेका थिए । त्यसयता उनले युभेन्टसमा तीन सिरी ‘ए’ उपाधिका साथै कोपा इटालियाको उपाधि जितेका छन् । म्यान्जुकिकले १५९ खेल खेल्दै ४३ गोल गरेका छन् ।
सम्झौता नवीकरणसँगै म्यान्जुकिकले युभेन्टसमै रहनु आफ्नो लागि गौरव रहेको बताएका छन् । ‘यो मेरो लागि ठुलो सम्मान हो । मैले यति ठुलो क्लबका लागि फेरि अर्काे वर्ष खेल्नको लागि सम्झौता नवीकरण गरेको छु । म एकदमै खुशी छु ।’ म्यान्जुकिकले भने ।