एजेन्सी – इजिप्टका मोहम्मद सलाहले कीर्तिमानी गोल गरेको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा महत्वपुर्ण जित निकालेको छ ।

प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को महत्वपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले गोल गरे ।

लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोडेको हो । खेलको नवौं मिनेटमा साने लङले पिएरे इमिलको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, त्यसपछि लिभरपुलले आक्रमक खेल खेल्दै गोल गर्न सफल भयो । ३६औं मिनेटमा नावी केइटाले गोल गरेपछि लिभरपुल खेलमा फर्किदा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
८०औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । यससँगै सलाह लिभरपुलका लागि छिटो ५० गोल पार गर्ने पहिलो खेलाडी बने । उनले फर्नान्डो टोरेसको कीर्तिमानलाई तोडेका हुन् ।

सलाहले ६९ खेलमा ५० गोल गर्न सफल भएका हुन् । यसअघि फर्नान्डो टोरेसले ७२ खेलमा ५० गोलको आँकडा पार गरेका थिए । लुइस स्वारेजले ८६ तथा रोवी फोलेर ८६ खेलमा ५० गोल गरेका छन् ।

८६औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाएर महत्वपुर्ण ३ अंक दिलाए । हेन्डरसनले २०१७ पछि लिभरपलुका लागि पहिलो गोल गरे ।
जितसँगै लिभरपुल पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलको ३३ खेलबाट ८२ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहेको छ । प्रिमियर लिगमा अब ५ खेल मात्रै बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ ।