दिपक बोहोरा, पाँचथर
पाँचथरमा जारी तेस्रो वाइवाइ पाँचथर गोल्डकपमा ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई टाइब्रेकर ५–४ गोलले हराउँदै विजय युथ क्लब हेटौंडा सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल सिधै टाइब्रेकरमा गएको थियो ।

फिदिम माविको मैदानमा भएको खेलमा विजय युथ क्लबले पुनारागमन जित निकालेको हो । सुरुवाती अग्रता कायम गर्न नसक्दा जावलाखेल पराजित हुन पुग्यो । ३५ मिनेटमा विजय युथका सुदेश महतोले आत्माघाती गोल गरेपछि ए डिभिजन क्लब जावलाखेलले अग्रता लिएको थियो । ६८ औं मिनेटमा विजय युथका विश्व लामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
टाइब्रेकरमा विजय युथका पाँच जनाले गोल गर्दा जावलाखेलका अजय थापाको प्रहार विजय युथका गोलरक्षकले रोकेका थिए । विजय युथका टेम्पे इष्टम, सरोज दाहाल, रोसन दोङ, ह्यामलेट र क्रिष्टियनले गोल गरे । जावलाखेलका गौतम श्रेष्ठ, अरुज सिंह, विशाल तामाङ, फोफाना फोडेले गोल गर्दा क्यापटेन अजयको प्रहार गोल हुन सकेन । विजय युथका गोलरक्षक अनिश देउजा म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे ।
सुरुवाती अग्रता लिए पनि पनि हार्दा भाग्यले साथ नदिएको जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापाले बताए । विजय युथका प्रशिक्षक सुविन धिमिरेले खेलाडीहरुको मिहनतले सफलता हात परेको बताए । घिमिरे सेमिफाइनलमा टिम अझ सशक्त हुने बताए । टिममा अशोक बराल र सुनिल बल समेत हुने हुँदा अझ बलियो हुने बताए । विजय युथले सेमिफाइनलमा डिएफसि मोरङसंग प्रतिस्पर्धा गर्ने छ ।
पाँचथर गोल्डकपमा बिहिबार हुने खेल :
हिमालयन शेर्पा बिरुद्ध न्युस्टार सुनसरी