एजेन्सी – यूईएफए युरोप लिग अन्तर्गत बिहीबार पोर्चुगलको बेन्फिकाले जर्मनीको आइन्ट्रयाक्ट फ्रान्कफर्टमाथि ४-२ को जित निकाल्दा १९ वर्षीय जोआओ फेलिक्सले ह्याट्रिक गरेका छन् ।

युरोपका शीर्ष क्लबहरुले नजर राखेका युवा फरवार्ड फेलिक्सले आफ्नो स्तर सिद्ध पार्ने क्रममा उत्कृष्ट प्रदर्शन गरे । बेन्फिकाको लागि घरेलु लिगमा १० गोल गरिसकेका फेलिक्सले फ्रान्कफर्टविरुद्ध ह्याट्रिक गर्दै युरोपा लिगमा सर्वाधिक कम उमेरको खेलाडीको कीर्तिमान पनि बनाए । यसअघि यूईएफए कप रहँदा भने सन् २००७ मा एटलेटिको म्याड्रिडका लागि सर्जियो अगुएरोले १९ वर्ष १ सय २४ दिनको उमेरमा ह्याट्रिक गर्दै कीर्तिमान कायम गरेका थिए ।
फेलिक्सले खेलको २१ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हाफ सकिनुभन्दा केहि समय अगाडी पेनाल्टी क्षेत्र बाहिरबाट फेलिक्सले उत्कृष्ट गोल गरे । दोस्रो हाफको ५४ औं मिनेटमा अलेक्स ग्रिमाल्डोको पासमा सहजै गोल गर्दै फेलिक्सले ह्याट्रिक पूरा गरे । पोर्चुगलको युवा खेलाडी फेलिक्स सन् १९९२ यता बेन्फिकाका लाफी युरोपेली प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।
फेलिक्सलाई पछिल्लो समय युरोपका शीर्ष क्लबले नजर राखेका छन् । उनलाई भित्र्याउन यस ट्रान्सफर विन्डोमा कम्तिमा पनि १ सय मिलियन पाउन्ड खर्चनुपर्ने चर्चा चलेको छ । रियल म्याड्रिड, म्यानचेस्टर सिटि र युभेन्टसका स्काउट उनको खेल पछ्याउन मैदान आएको बुझिएको छ ।