काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेपछि सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको दोस्रो खेलमा बेंगलोर युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सेथुले सावित्राको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा गोल गर्दै लिगमा व्यक्तिगत गोलसंख्या ५ पुर्याइन् । खेलको ४० औं मिनेटमा सन्ध्या रंगनाथनले गोल गर्दै सेथुको अग्रता दोब्बर पारिन् ।
खेलको दोस्रो हाफमा नेपालकै अर्की खेलाडी अनिता बस्नेत पनि मैदान प्रवेश गरेकी थिइन् । उनले ७४ औं मिनेटमा गोल गर्दै सेथुलाई ३-० ले अगाडी बढाइन् । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा सेथु ३-० ले विजयी रहयो ।
लगातार दोस्रो जितसँगै सेथुले अंक तालिकाको शीर्ष स्थानमा पकड बनाएको छ । सेथुले २ खेलमा ६ अंक जोडेको छ । सेथुले अब शुक्रबार हुने खेलमा स्पोर्ट्स एकडेमी अफ इन्डिया (एसएआई) को सामना गर्नेछ । आइतबार कोल्हापुर सिटिसँग खेलेपछि सेथुले अन्तिम लिग खेल १८ मे मा बरोडासँग खेल्नेछ ।