default_image

6 years ago

July 8, 2019

विष्णु र साहारा : खेलाडीदेखि प्रशिक्षकसम्म

173 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

विष्णु गुरुङ नेपाली घरेलु फुटबलमा स्थापति नाम हुन् । आफ्नो करिअरको लगभग पुरै समय रुस्लान थ्री स्टारमा बिताएका विष्णु नेपालकै पुरानो मध्यको एकेडेमी साहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । तिनै विष्णुले अब खेलाडी जीवन बिट मार्दै पूर्ण रुपमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने निर्णय गरेका छन् । यसक्रममा उनले आफू खेलाडीको रुपमा खेल जीवन सुरुवात गरेको साहारा एकेडेमीको प्रशिक्षकको जिम्मेवारी लिएका छन् ।

सोमबार औपचारिक नियुक्तिपछि विष्णुलाई स्वागत गर्दै क्लब अध्यक्ष केशव थापा

सोमबार औपचारिक रुपमा साहारा क्लबको प्रशिक्षकको नियुक्त भएपछि विष्णुले अब प्रशिक्षण करिअरमै ध्यान दिने बताए । ‘मैले अब खेलेर भन्दा प्रशिक्षकको रुपमा धेरै योगदान गर्न सक्छु जस्तो लाग्यो । निर्णय लिने यहि नै समय पनि उचित ठानेर प्रशिक्षकको प्रस्ताव स्वीकार गरेको हुँ । अहिले एक वर्षको लागि सम्झौता गरेको छु । आफैं खेलेर हुर्किएको क्लबमा प्रशिक्षकको रुपमा फर्केर आउँदा निकै खुसी लागेको छ,’ विष्णुले भने ।

साहाराको पहिलो ब्याचका खेलाडी विष्णुले २०५८ सालमा प्रशिक्षण सुरु गरेका थिए । २०६३ सालमा थ्री स्टार क्लबमा आबद्ध भएका विष्णुले पहिलो सिजनमा निकै कम अवसर पाए। पहिलो पटक ‘ए’ डिभिजन क्लबमा आएका उनले त्यस समय धेरै कुरा सिके पनि । तर त्यसपछि नेपालको लिग नै बन्द भएपछि क्लबहरुले खेलाडी अनुबन्धन गरेनन् । नतिजा विष्णु रोजगारीका लागि खाडी मुलुक इराकतर्फ लागे ।

इराकमा रहेर काम गरेको २ वर्ष पुग्दै गर्दा विष्णुले नेपालमा लिग फुटबल पुन: सुचारु हुन लागेको खबर पाए । इराकमा दुई वर्ष काम गरिसकेका विष्णुको अगाडी अझ राम्रो ठाउँमा काम गर्ने अवसर आयो । तर फुटबलको लत लागेको विष्णुलाई त्यहाँ बसिरहने मन नै रहेन । उनी फेरी फुटबल खेल्न भन्दै नेपाल फर्किए ।

सहारा एकेडेमीबाट खेल्दा विष्णु (सेतो जर्सी ८ नम्बर) [तस्विर : विष्णु गुरुङ]

२०६६ सालको लिगमा उनी फेरी थ्री स्टारकै रोजाईमा रहे । घरेलु फुटबलमा एकक्षत्र राज गरिरहेको पुलिसको अगाडि थ्री स्टारको केहि चलेन र लिगमा दोस्रो भयो । लगत्तै अर्को सिजन क्लबको प्रदर्शन झनै खस्कियो र टोलीको चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यसपछि ६९ सालको लिगमा भने टोली लिग उपाधि जित्न सफल रह्यो । त्यसपछि मोफसलका प्रतियोगिता र केहि अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत थ्री स्टारले सफलता हात पार्यो ।

यी सबै क्रममा विष्णु क्लबका लागि पहिलो रोजाईका खेलाडीको रुपमा भने कहिल्यै रहेनन् । तर क्लब उनलाई अन्यत्र जान दिने मनस्थितिमा पनि कहिल्यै रहेन । पहिलो रोजाइमा नखेलेपनि उनी त्यसबेला प्रशिक्षक ज्याक स्टेफानोस्कीले घोषणा गरेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परे । अन्य क्लबमा गएर सुरुवाती रोजाइमा खेल्न सक्ने विष्णुले कहिले पनि क्लब छाड्ने मनासय बनाएनन् । उनी क्लबले सम्झौता नवीकरण गर्ने समयमा हरेक प्रशिक्षकका लागि महत्त्वपूर्ण खेलाडीको रुपमा रहन्थे तर पहिलो रोजाईमा खेल्न भने उनले बिरलै पाए । वैकल्पिक खेलाडीका रुपमा नै उनले आफ्नो प्रभाव जमाइरहे ।

२०७३ सालमा एन्फाको लापरवाहीका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरणमा खेल्न नपाएपछि क्लबले विरोध स्वरुप झन्डै २ वर्ष कुनैपनि फुटबल गतिविधिमा सामेल भएन । एन्फाको आधिकारिक प्रतियोगिता समेत रोकिएपछि खेलाडीहरु मोफसलका प्रतियोगितामा व्यस्त रहे । विष्णुले पनि अन्य क्लबबाट केहि प्रतियोगिता खेले । तर उनले यस समयमा आफ्नो फुटबलप्रतिको लगावलाई प्रशिक्षक बन्दै पूरा गर्ने जमर्को गरे । ७३ सालमै उनले एएफसी ‘सी’ कोचिङ सर्टिफिकेट कोर्ष लिए र उत्कृष्ट नतिजा ल्याए ।

२०७३ सालमा साहारा क्लबबाट खेल्दै विष्णु गुरुङ

कोर्ष गरेको केहि महिनामै उनले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा थ्री स्टार क्लबको टोलीलाई प्रशिक्षण दिए। प्रतियोगितामा राम्रो नतिजा ल्याउन नसकेपनि उनको प्रशिक्षणमा रहेका २ खेलाडीलाई प्रशिक्षक मेघराज केसीले सिनियर टोलीमै मौका दिए । गोलरक्षक अभिषेक बराल र फरवार्ड सुसन श्रेष्ठ अझैपनि थ्री स्टारको सिनियर टोलीमा रहेर विभिन्न प्रतियोगिता खेलिरहेका छन् । दुवै खेलाडी नेपाल यू-२३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि परेका थिए ।

प्रशिक्षणमा राम्रो सम्भावना देखेपछि एएफसीले नै उनलाई चाडैं ‘बी’ लाइसेन्स गराउन एन्फालाई सिफारिस गर्यो। उनले त्यसैवर्ष ‘बी’ लाइसेन्स पनि राम्रो अंक ल्याएर पास गरे। सामान्यतया ‘सी’ कोर्ष गरेको २ वर्षपछि प्रशिक्षकको क्रियाकलाप हेरेर माथिल्लो स्तरको लागि सिफारिस गर्ने प्रावधान छ । तर एएफसीले सम्भावना बोकेका प्रशिक्षकहरुलाई सिधै ‘बी’ कोर्षको लागि सिफारिस गर्छ । फुटबलसँगै विष्णुले फुटसल प्रशिक्षक कोर्ष पनि गरिसकेका छन् । उनी नेपालको पहिलो औपचारिक राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि बने ।

गत सिजन संकटाबाट खेलेका विष्णुलाई यसपटक पनि संकटाले नयाँ अनुबन्धको लागि प्रस्ताव गरेको थियो । तर विष्णुको मनले मानेन । उनले प्रशिक्षणमै ध्यान दिएर अगाडी बढ्ने लक्ष्य रहेको बताए । ३१ वर्षको उमेरमा नै उनले आफ्नो खेलाडी करिअर बिट मार्ने निर्णय लिए । ‘मलाई संकटाले नयाँ सिजनको लागि सम्पर्क गरको थियो । तर अब म फेरी खेल्ने पक्षमा छैन । मेरो ध्यान प्रशिक्षण करिअरमा रहनेछ,’ पोखराको दोबिल्लास्थित साहारा एकडेमीबाट विष्णुले भने, ‘मेरो मुख्य लक्ष्य भनेको एकेडेमीका खेलाडीलाई राष्ट्रिय टोलीसम्मको बाटो बनाउनु हो । यसका लागि मैले आफूलाई पनि अझै सुधार्नु जरुरि छ । यसका लागि क्लबले विदेशीक प्रशिक्षणदेखि अन्य सुविधा उपलब्ध गराउने विश्वास दिलाएको छ ।’

खेलाडी जीवनमा सेन्टर मिडफिल्डमा डटेर खेल्ने विष्णु अब प्रशिक्षकका रुपमा मैदानको छेउमा देखिनेछन् । प्रशिक्षण करिअरको छोटो अवधिमा नै राम्रो सम्भावना देखाएका उनले खेलाडी करिअर नै त्यागेर यसमा होमिएका छन् । खेलाडी रहँदा देखिनै व्यवस्थापन पक्षसँग निकट रहने विष्णुले यस पक्षलाई लामो समयदेखि नजिकबाट नियालेको बताए । ‘खेलाडी करिअर कुनै न कुनै दिन अन्त्य हुन्छ नै । अब आफ्नो सम्भावना र लगाव नै प्रशिक्षणमा भएपछि निर्णय लिन कठिन भएन । जति मिहिनेत मैदानमा खेल्दा गर्थें, अब त्योभन्दा बढी खेलाडीलाई खेलाउनमा गर्नेछु,’ उनले टुंग्याए ।

साहारामा हाल अनाथ तथा विपन्न वर्गका २६ खेलाडी प्रशिक्षणमा छन् । क्लबले आफ्नै भवन र मैदानमा लामो समयदेखि खेलाडीलाई बसोबास, शिक्षा तथा प्रशिक्षण लगायत सम्पूर्ण व्यवस्था गर्दै आएको छ । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा! रारा गोल्डकपको आयोजक समेत रहेको साहारा क्लबले विष्णुसँगै राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ, अजित भण्डारी, मानबहादुर तामाङ, लक्ष्मण जिसीलगायत खेलाडी उत्पादन गरेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.