एजेन्सी – नियमित कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको अवस्थामा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
अर्जेन्टिनाले दुवै हाफमा ३-३ गोल गरेको थियो । खेलको २० औं मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जोन एस्पिनोजाले २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । तेस्रो गोलमा भने खेलाडीबीच केहि विवाद भयो । अर्जेन्टिनाले पेनाल्टी पाएपछि लौटारो मार्टिनेजले पेनाल्टी प्रहार गर्न खोजेपनि लियान्ड्रो पारेडेसले बल लिँदै ३२ औं मिनेटमा गोलमा परिणत गरे ।
दोस्रो हाफमा इक्वेडरले सुरुवाती समयमा अनि गोल गर्दै खेलमा फर्कने संकेत देखाए । एन्जल मीनाले ४९ औं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्तवनामा सिमित भयो । जर्मन पेजेलाले ६६ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता पुन: स्थापना गरे । त्यसपछि निकोलस डोमिन्ग्वेज र लुकास ओकाम्पसले ४ मिनेटको अन्तरमा गोल गर्दै अर्जेन्टिनाको फराकिलो जित पक्का गरे ।
कप्तान मेस्सी कोपा अमेरिका दौरान पाएको तीन महिने प्रतिबन्धका कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन् । यसपटक अर्जेन्टिनी टोलीमा रिभर प्लेट र बोका जुनियर्सका खेलाडी समावेश थिएनन् । कोपा लिबेर्टा डोरेसको सेमिफाइनलमा यी दुई टोली आमने-सामने हुँदैछन् ।