एजेन्सी – फरवार्ड नेयमार खेल सुरु भएको १२ मिनेटमा नै बाहिरिंदा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियासँग १-१ को बराबरीमा रोकिएको छ ।
पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमार केहि साता अघि मात्र चोटबाट फर्केका थिए । उनी खेलको १२ औं मिनेटमा बायाँ तिघ्रा समाउँदै मैदानबाट बाहिरिएका थिए । उनको चोटको गम्भीरताबारे विस्तृत जानकारी आएको छैन । उनले सम्भवत पीएसजीको अर्को च्याम्पियन्स लिग खेल गुमाउने सम्भावना रहेको छ ।
खेलमा नाइजेरियाले सुरुवाती अग्रता लिएको थियो । स्कटल्यान्डको रेन्जर्सबाट खेल्दै आएका जो अरिबोले ३५ औं मिनेटमा म्यानचेस्टर सिटीका गोलरक्षक एडरसनलाई बिट गर्दै गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा नै ब्राजिल खेलमा फर्केको थियो । रियल म्याड्रिडका मिडफिल्डर क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सिंगापुरमा भएको खेलमा ब्राजिलले खेलको अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने असफल भयो । बिहीबार भएको खेलमा सेनेगलसँग १-१ को बराबरीमा रोकिएको ब्राजिलले लगातार दोस्रो बराबरी खेलेको हो ।