एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन एमबाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने भएका छन् ।
पछिल्लो समय क्लबका प्रशिक्षक थोमस टुचेलसँग राम्रो सम्बन्ध नरहेपछि एमबाप्पेले क्लबले प्रस्ताव गरेको नयाँ सम्झौतालाई अस्विकार गरेको खुलेको छ । आइतबारको खेलमा पनि प्रशिक्षक टुचेलले उनलाई परिवर्तन गरेपछि एमबाप्पे निराश देखिएका थिए । टुचेलले बोल्न चाहेपनि एमबाप्पे बेवास्ता गर्दै अगाडि बढेका थिए ।
स्पेनिस रेडियो स्टेसन क्यदेनाका अनुसार एमबाप्पेले अब रियल म्याड्रिडबाट खेल्ने मनसाय बनाएका छन् । उनीसँग परिवारको पनि यहि चाहना रहेकाले नयाँ सम्झौता नहुने प्रष्ट भएको हो । रियलका प्रशिक्षक जिनेदिन जिदान र अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यसअघि नै उनलाई अनुबन्धन गर्ने इच्छा जाहेर गरेका थिए ।
पीएसजी र एमबाप्पेबीच हाल सन् २०२१ सम्म सम्झौता रहेको छ । क्लबले उनलाई पटक पटक नयाँ प्रस्ताव राखेपनि एमबाप्पेले स्वीकार गरेका छैनन् । उनलाई क्लबले हाल पाइरहेको भन्दा दोब्बर रकमको प्रस्ताव गरेपनि उनले नकारेका हुन् ।
हाल पीएसजीमा नेयमारले सर्वाधिक कमाउने गर्दछन् । अब पीएसजीले एमबाप्पेलाई पनि उनकै बराबरीमा प्रस्ताव गर्ने अन्तिम तयारी गरिरहेको छ । जारि सिजन १५ खेलमा १२ गोल र ५ असिस्ट प्रदान गरेका एमबाप्पे रियल जान लालयित छन् ।