6 years ago
January 3, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले पछिल्लो एक दशकमा विश्व फुटबलमा वर्चस्व नै जमाएका छन् । विश्व फुटबलमा यी दुईले एकपछि अर्को कीर्तिमान तोड्दै आफ्नो नाम लेखाउँदै आएका छन् ।

सन् २०२० मा पनि यी दुवै खेलाडी सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछन् । दुवै टोली च्याम्पियन्स लिगमा उपाधिका दावेदारका रुपमा दरिएका छन् भने आ-आफ्नो घरेलु लिग उपाधि पनि रक्षा गर्न चाहन्छन् । दुवै खेलाडीसँग क्लब तथा अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान रच्ने अवसर छ ।
हाल मेस्सीको बार्सिलोना ला लिगामा २ अंकले अगाडी छ भने उनले पछिल्लो १० खेलमा ११ गोल गर्दै नयाँ वर्षमा प्रवेश गर्दा उच्च लयमा रहेको संकेत दिएका छन् । रोनाल्डो पनि पछिल्ला ४ लिग खेलमा ५ गोल गर्दै उत्कृष्ट लयमा रहेको बुझ्न सकिन्छ ।
उमेरको हिसाब गर्दा रोनाल्डो मेस्सीभन्दा २ वर्षले जेठा छन् । तर खेल्ने शैली र मैदानमा फिटनेस हेर्दा दुवैमा फरक देखिन्न । यस वर्ष पनि दुवै खेलाडीले विश्व फुटबलमा सफलता हासिल गर्दै अनेक कीर्तिमान रच्ने अपेक्षा गर्न सकिन्छ । केहि यस्ता विशेष कीर्तिमान जुन यी दुईले यस वर्ष तोड्न सक्छन् :
रोनाल्डो : युरोपेली कपमा सर्वाधिक जित

रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दा सन् २०१८ को फाइनलमा लिभरपुललाई पराजित गर्दै पाँचौ पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले म्यानचेस्टर युनाइटेडबात एक र रियलबाट ४ पटक च्याम्पियन्स लिग जितेका छन् । सन् २०२० मा युभेन्टसबाट खेल्दा रोनाल्डोको नजर अर्को दुर्लभ कीर्तिमानमा हुनेछ ।
रोनाल्डोले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेमा फ्रान्सिस्को जेन्टोको कीर्तिमान बराबरी गर्नेछन् । उनले सन् १९५६ देखि १९६६ को बिचमा रियल म्याड्रिडबाट खेल्दै उक्त सफलता हासिल गरेका थिए । यसका लागि रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो पुरानै लाय कायम गर्नुपर्ने हुनेछ ।
मेस्सी : एकै टोलीका लागि सर्वाधिक गोल

मेस्सीले आफ्नो फुटबल करीअरको सुरुवाती दिनदेखि नै बार्सिलोनाबाट खेले । यसक्रममा उनले लगातार सिजनमा गोल गर्दै विभिन्न कीर्तिमान आफ्नो नाम गरेका छन् । मेस्सी अब विश्व फुटबलका सर्वकालीन महान खेलाडीको रुपमा हेरिएका पेलेको किर्तिमान बराबरी गर्ने नजिक छन् । त्यो हो एकै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान ।
पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि खेल्दै ६ सय ४३ गोल गरेका थिए । मेस्सी अब उक्त कीर्तिमान आफ्नो नाम गर्नबाट जम्मा २६ गोल टाढा छन् । मेस्सीको ले हेर्दा उनले सन् २०२० को मध्यतिर नै उक्त कीर्तिमान आफ्नो नाम गर्ने देखिन्छ । यतिमात्र हैन मेस्सीले आउने दिनमा उक्त कीर्तिमानमा बलियो अन्त्य पनि गर्ने अपेक्षा गरिएको छ ।
रोनाल्डो : युरोपेली च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता

रोनाल्डोले राष्ट्रिय टोलीका लागि पनि पछिल्लो समय सफलता हासिल गर्दै आएका छन् । सन् २०१६ मा टोलीको कप्तानी सम्हाल्दै युरोपेली च्याम्पियनसिप दिलाएका उनले सन् २०१९ मा यूईएफए नेसन्स कपको उपाधि पनि दिलाए । हालसम्म रोनाल्डोले २००४, २००८, २०१२ र २०१६ गरेर चार पटक युरोपेली च्याम्पियनसिपमा सहभागिता जनाएका छन् ।
रोनाल्डोले यसक्रममा युरोपेली च्याम्पियनसिपमा ९ गोल गरेका छन् । उनी सर्वाधिक गोल गर्ने सुचिमा फ्रान्सका मिचेल प्लाटिनिसँग बराबरीमा छन् । सन् २०२० मा हुने युरोपेली च्याम्पियनसिपमा एक गोल मात्र गरेपनि रोनाल्डोको नाममा कीर्तिमान हुनेछ ।
मेस्सी र रोनाल्डो : च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक

घरेलु लिगमा लगातार दवदवा कायम गर्दै आएका मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा च्याम्पियन्स लिगमा पनि देखिंदै आएको छ । विगतमा एकै लिगमा खेल्दै आएका यी दुई अहिले फरक लिगमा खेलेपनि च्याम्पियन्स लिगमा भने आमने-सामने हुने सम्भावना रहेको छ । दुवै खेलाडीको हालको मुख्य लक्ष्य च्याम्पियन्स लिग जित्नु नै रहेको छ ।
मेस्सी र रोनाल्डो दुवै खेलाडीले हालसम्म च्याम्पियन्स लिगमा ८-८ पटक ह्याट्रिक गरेका छन् । यो नै प्रतियोगिता इतिहासमा सर्वाधिक संख्या पनि हो । सन् २०२० मा च्याम्पियन्स लिगको नकआउट चरण सुरु हुनेछ । त्यसपछि अर्को सिजनको समूह चरण पनि छ । यसक्रममा दुवै खेलाडीको नजर सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमान आफ्नो नाम लेखाउने लक्ष्य रहने देखिन्छ ।
रोनाल्डो : तीन लिगमा सर्वाधिक गोलकर्ता

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट खेल्दै इंग्लिस प्रिमियर लिगको उपाधि जित्दा लिगको सर्वाधिक गोलकर्ता समेत भएका थिए । त्यसपछि स्पेनिस क्लब रियल म्याड्रिड पुगेका उनले लिग उपाधि त जिते नै, सँगसँगै उक्त लिगमा समेत सर्वाधिक गोलकर्ताको उपाधि हासिल गरे । गत सिजन युभेन्टस पुगेका उनको अब इटालियन लिगमा समेत उक्त उपाधि हासिल गर्ने लक्ष्य छ ।
रोनाल्डोले जारि लिगमा १० गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ता सूचिको चौथो स्थानमा छन् । उनीभन्दा अगाडी जोआओ पेड्रो (११), रोमेलु लुकाकु (१२) र चिरो इम्मोबिले (१७) गोल सुचिमा छन् । रोनाल्डोले सन् २०२० मा युभेन्टसबाट सर्वाधिक गोलकर्ता बनेको खण्डमा तीन लिगमा उक्त उपाधि हासिल गर्ने पहिलो खेलाडी बन्नेछन् ।
मेस्सी : सातौं ब्यालोन डी’ओर

सन् २०१९ को ब्यालोन डी’ओर अवार्डमा लिओनेल मेस्सीले छैटौंपटक उपाधि हासिल गरे । उक्त कार्यक्रममा उनका चिर परिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने उपस्थित थिएनन् । रोनाल्डो र मेस्सी अघिल्लो वर्षसम्म ५-५ उपाधिमा बराबर थिए ।
सन् २०२० मा मेस्सीसँग रोनाल्डोलाई उछिन्ने अर्को अवसर छ । यस वर्ष मेस्सीले फेरी एकपटक ब्यालोन डी’ओर उपाधि जिते सातौं उपाधि हुनेछ । रोनाल्डोभन्दा २ उपाधि बढी जितेको खण्डमा रोनाल्डोले उनलाई उछिन्न लगभग असम्भव देखिन्छ ।
रोनाल्डो : अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता

पछिल्लो दशकमा पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा सफलता हासिल गर्दा कप्तान क्रिस्टियानो रोनाल्डोको गोल महत्त्वपूर्ण रहयो । टोलीको सफलतासँगै रोनाल्डोले व्यक्तिगत रुपमा पनि आफूलाई प्रमाणित गरे । अब रोनाल्डोको सामुन्ने अर्को दुर्लभ इतिहास आफ्नो नाम गर्ने अवसर छ ।
रोनाल्डोले पोर्चुगलका लागि अन्तर्राष्ट्रिय फुटबलमा ९९ गोल गरिसकेका छन् । शतकको संघारमा रहेका उनले अब सन् २०२० मा विश्व फुटबलकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमानमा नजर राखेका छन् । इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान रोनाल्डोले यस वर्ष तोड्ने आँकलन गरिएको छ ।
मेस्सी : लगातार चौथो युरोपेली गोल्डेन बुट

बार्सिलोनाको सफलतामा नायक रहँदै आएका कप्तान लिओनेल मेस्सीले पछिल्लो तीन सिजन नै युरोपको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गरेका छन् । यस सिजन पनि उनी ला लिगाको सर्वाधिक गोलकर्ताको रुपमा १३ गोल गरिसकेका छन् । बार्सिलोनाले लिग उपाधि रक्षा गर्ने हो भने उनको भूमिका निर्णायक हुने देखिन्छ ।
युरोपमा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट मेस्सीले लगातार तीन पटक जिते । हालसम्म मेस्सीबाहेक अन्य खेलाडीले यो कीर्तिमान रचेका छैनन् । सन् २०२० मा पनि मेस्सीले यो कीर्तिमान हासिल गरेको खण्डमा लगातार चौथो गोल्डेन बुट जित्ने उनी एक्ला खेलाडी हुने नै छन् । साथसाथै यस कीर्तिमान तोड्न सायदै अन्य खेलाडीले सक्नेछन् ।

पछिल्लो दशक विश्व फुटबलमा राज गरेका यी दुई खेलाडीलाई नयाँ दशकको सुरुवातमा पनि दुर्लभ कीर्तिमान रच्ने अवसर छ । तपाईंको बिचारमा यी दुईमध्य कसले माथि दिइएको कीर्तिमान पूरा गर्न सक्लान्, हाम्रोखेलकुदको फेसबुकमा कमेन्ट प्रतिक्रिया दिनुहोस् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]