6 years ago
February 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय फुटबल खेलाडी विमल घर्ति मगर मैदान फर्कन आतुर छन् । ९० दिनको निलम्बन फुकुवा भएको दुई दिनपछि उनी सानमिगेल मछिन्द्र क्लबको जर्सीमा मैदान उत्रने तयारी छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलका रुपमा रहेको शनिबार शीर्षस्थानको त्रिभुवन आर्मी क्लबविरुद्ध विमल मछिन्द्रको जर्सीमा देखिने भएका हुन् ।

पछिल्लो समय माल्दिभ्सको टिसी स्पोर्टसमा आबद्ध रहेका उनले इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिएपछि मछिन्द्रबाट एन्फामा दर्ता हुनेछन् । पुनरागमनलाई लिएर उत्साहित विमलले भने,‘ फेरि फुटबलमा फर्कन लाग्दा एकदमै खुसी छु ।’ अनुशासन उल्लघंन गरेपछि उनीसहित अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी कारवाहीमा परेका थिए ।
४५ दिनको निलम्बनबाट फुकुवा भएर अन्जन र सन्तोषले लिगमा उच्च प्रदर्शन गरिरहँदा विमल र दीनेश भने दर्शकमै सिमित थिए । उनलाई र दीनेशलाई भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले ९० दिन निलम्बनमा राखेको थियो । जरिवाना भने चारै जनालाई ५० हजार तोकेको थियो ।
‘निलम्बनको तीन महिना तीन वर्ष भन्दा लामो लाग्यो । हरेक दिन केहि न केहि कुरा मनमा खेल्ने । दिन कसरी बित्ला भन्ने लाग्ने । गल्ति भइसकेकोले त्यसमा रिग्रेट गर्ने बाहेक हामीसँग अर्को विकल्प थिएन,’ विमलले स्मरण गरे,‘ फुटबल एकदमै मिस भयो । घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न पाइएन । एउटा खेलाडीका लागि त्यो भन्दा दुःख के होला र ?’

मंसिर २४ गते सागको फाइनल उनले दशरथ रंगशालामा पुगेर हेरेका थिए । तर, मास्क लगाएर । उनी निर्धक अरुले चिनिने गरि फुटबल हेर्ने अवस्थामा थिएनन् । उनी त्यसमा दुई वटा कारण रहेको बताउँछन् ।
‘एउटा त कसरी दर्शकलाई फेस गर्ने भन्ने थियो । अर्को पहिलो खेलको घटनाले झन बढी दुःख लाग्यो,’ उनले सम्झिए,‘ हाम्रो र भुटानकै खेलको म हाफ टाइममै हिँडे । वरिपरि बसेकाले आफ्नै बारेमा ठिक पर्यो भनेपछि बस्नै मन लागेन । आफ्नो नामनै लिएर त्यस्ता जड्याहाहरुलाई ठिक्क भयो भन्ने सुनेपछि कसरी बस्नु । अनि पछि फाइनलमा मात्र गए । त्यो पनि नचिनिने गरि ।’
विमलले चोट लाग्दा बाहेक मैदान बाहिर कहिल्यै बस्नु परेको थिएन । तर, आफ्नै गल्तिले निलम्बनमा परेपछि निकै पछुतो लागेको सुनाए । ‘गल्ति भएको हो । हामी सबैले मान्यौं । राष्ट्रिय टोलीबाट टुर जानु अघिल्लो दिन त्यसरी डिस्को जानु हाम्रो ठूलो भूल हो,’ उनले भने,‘ त्यो गल्तिको हामीले सजाएपनि पायौं र जीवनमा ठूलो पाठ पनि सिकियो ।’

उनले आउने दिनमा त्यस्तो घटना नदोहोरिने वचन दिएका छन् । ‘ जुन गल्ति भयो । जीवनमा त्यो नै अन्तिम होस् भन्ने छ,’ उनको प्रतिवद्धता छ,‘अब त्यो गल्ति कहिल्यै दोहोरिने छैन । फेरि एकपटक फुटबल र आफ्ना समर्थकसँग म हात जोडेर माफी माग्न चाहन्छु । जे भयो , त्यसमा एकदमै पछुतो छ । आउने दिनमा तपाईहरुलाई गुनासोको मौका दिने छैन ।’
सन् २०१३ मा साफ च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शनका कारण चर्चामा आएका विमल राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । उनले अब आफैंले फेरि एकपटक प्रमाणित गर्नुपर्ने राम्ररी बुझेका छन् ।
‘मैले अब पहिला भन्दा पनि बढी मेहनत गर्नुपर्नेछ । बोलेर हैन खेलेर देखाउनुपर्नेछ ,’ दुई महिनाका लागि मछिन्द्रमा आबद्ध भएका उनी भन्छन्,‘ व्यक्तिगत रुपमै म आफुले मछिन्द्रबाट खेल्न पाउनुलाई अवसरका रुपमा लिएको छु । जति अवसर छ त्यत्तिकै चुनौति पनि छ ।राष्ट्रिय टोलीमा फर्कन पनि मैले आफुलाई मैदानमा प्रमाणित गर्नुपर्ने हुन्छ । ’

विमल पछिल्लो साताबाटै मछिन्द्रमा अभ्यास गरिरहेका छन् । उनी अन्जन र सन्तोषको प्रदर्शनबाट आफु निकै मोटिभेट भएको सुनाउछन् । ‘हामी एउटै कारणले कारवाहीमा परेका हौं । हामी लगभग उस्तै मानसिक पीडाबाट गुज्रियौं,’ उनले थपे,‘पुनरागमन पछि उनीहरुले जस्तो प्रदर्शन गरे त्यसबाट म निकै उत्साहित छु । म पनि गर्न सक्छु र मैले आफुलाई त्यसरी नै तयार गर्नुपर्छ भन्ने मनमा लिएको छु ।’
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए ।

घटनाको झन्डै एक महिनापछि मंसिर २७ गतेबाट लागु हुने गरि कारवाही गरेको थियो । पछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । अपिल कमिटिले कारवाही अवधि नघटाई कात्तिक ३० गतेबाट लागु गर्ने निर्णय गरेको थियो ।
जति राम्रो खेलाडी भएपनि गल्तिमा कसैले माफी नपाउने विमलले यो पछिल्लो घटनामा सिकेको पाठ हो । ‘जसलाई बढी माया गरिन्छ उसले चित्त दुःखाउँदा सायद समर्थकलाई आक्रोशित बनाएको जस्तो मैले महसुस गरे । केहि समर्थकले छाडेर अधिकांशले आलोचना नै गरेको पाए,’ उनले भने,‘ सायद अपेक्षा जो सँग बढी गरिन्छ रिस पनि बढी उसै सँग उठ्छ होला । मैले त्यहि अनुभव गरेको छु । यति सबैलाई विश्वास दिलाउन चाहन्छु । विमलले यो घटनालाई पाठको रुपमा लिएको छ र परिपक्व भएर फर्कदैछ । आउने दिनमा मेरो व्यवहारले त्यसलाई पुष्टि गर्नेछु ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]