एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध हुने राउन्ड अफ १६ को दोस्रो लेग गुमाउने सम्भावना बढेको छ ।
रियल म्याड्रिडले रियल बेटिसविरुद्ध लिगमा हार बेहोरेको खेलमा चोट बोकेपछि उनले केहि खेल गुमाउने सम्भवन बढेको हो । मंगलबार उनको विस्तृत परिक्षणपछि कति खेल गुमाउने यकिन हुनेछ । चोट लागेको बायाँ खुट्टा सुन्निएको कारण मंगलबार मात्र परिक्षण गरिने भएको हो ।
कोर्टुवाले कम्तिमा दुई खेल गुमाउने सम्भावना रहेको क्लबनिकट स्रोतले जानकारी दिएको छ । रियलले शुक्रबार ला लिगाअन्तर्गत एइबारसँग खेल्दैछ । त्यसपछि रियलले इतिहाद रंगशालामा म्यानचेस्टर सिटीसँग खेल्नेछ । बर्नाबाउमा भएको पहिलो लेगको खेल २-१ ले पराजित भएपछि रियल दबाबमा रहेको छ ।
सिजनको सुरुवातमा कमजोर सुरुवात गरेका कोर्टुवा पछिल्लो समय निकै लयमा छन् । डिसेम्बरदेखि लगातार लिगमा पहिलो रोजाइमा रहेका उनले एल क्लासिकोमा समेत क्लिनसिट राखेका थिए । बेटिसविरुद्ध रियलले दुई गोल खाएपनि कोर्टुवाले थुप्रै बचाउ गर्दै अन्तर बढ्न दिएका थिएनन् ।