5 years ago
August 16, 2020
इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पछिल्लो समय यूईएफए च्याम्पियन्स लिगमा उपाधिको दाबेदार टोलीको रुपमा लिइन्छ । अझ यसपटक प्रि-क्वाटरफाइनल चरणमा रियल म्याड्रिडलाई पराजित गरेपछि त टोलीले बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो । तर सिटीको उपाधि जित्ने सपना फेरिपनि क्वाटरफाइनल चरणमा नै तुहियो ।

फ्रान्सेली क्लब लियोनविरुद्ध खेल्नुअघि कमैले सोचेका थिए, म्यानचेस्टर सिटी पराजित हुन्छ भनेर । अझ ३-१ को स्कोरमा सिटीले घर फर्कनुपर्छ भने आँकलन स्वयं लियोनले पनि लगाएको थिएन । लियोनका प्रशिक्षक रुडी गार्सियाले खेलअघि भएको पत्रकार सम्मेलनमा सिटीविरुद्ध एक लेगको मात्र खेल भएकाले सुरुवाती ११ मात्र होइन, वैकल्पिक खेलाडी समेत १६ खेलाडीकै प्रदर्शन महत्त्वपूर्ण हुन्छ ।
भयो पनि त्यस्तै, लियोनलाई जितसम्म डोर्याउन वैकल्पिक खेलाडी मौसा डेम्बेलेले दोस्रो हाफमा दुई गोल गरे । दुवै गोलमा उनले विपक्षी टोलीको गल्तिको फाइदा उठाए । मैदान छिरेको ४ मिनेटमा नै उनले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । दोस्रो गोलमा पनि गोलरक्षकले फुत्काएको बलमा उनी छरितो रुपमा बलसम्म पुगे र गोल गरे ।
डेम्बेलेको दोस्रो गोलअघि भने म्यानचेस्टर सिटीका रहिम स्टर्लिङको गम्भीर गल्ति सिटीको हारमा निर्णायक नै बन्न पुग्यो । ८६ औं मिनेटमा ग्याब्रिएल जेससले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरको दबाब थेग्दै ६ यार्ड बक्सभित्र क्रस गरे । गोलरक्षक एन्थोनी लोपेस र तीनै सेन्टर डिफेन्डर उक्त क्रसमा बिट भए । स्टर्लिङ फार पोस्टमा एक्लै थिए र उनको सामुन्ने गोलपोस्ट खालि थियो । उनको सामान्य टचले पनि बल गोल हुन्थ्यो । तर स्टर्लिङले गोल गर्नभन्दा पोस्टभन्दा बाहिर पठाउन कठिन स्थितिमा बललाई पोस्टभन्दा माथि प्रहार गरे ।
लगभग पक्का नै देखिएको उक्त गोल चुक्दा सिटीका खेलाडीसँगै लियोनका खेलाडी पनि अचम्मित भए । गोलकिकका लागि आएको बल समात्दै स्टर्लिङ एकछिन मैदानमा ढले । उनी आफैंलाई बल गोल भएन भन्ने विश्वास लागिरहेको थिएन । लोपेसले केहि समय लिएर गोलकिक प्रहार गरे ।

त्यसै गोलकिक प्रहारबाट अगाडी बढेको मुभमा हौसेम औआरले सिटीको पोस्टमा प्रहार गरे । निकै सामान्य उक्त प्रहारलाई एडरसनले नियन्त्रणमा लिन सकेनन् । मौकाको फाइदा उठाउँदै हतारमा अगाडी बढेका डेम्बेलेले बल प्रहार गरे । उनको प्रहार राम्रोसँग नलागेपनि पोजिसनमा फर्कन नसकेका एडरसनले बचाउन सकेनन् र लियोन ३-१ ले विजयी रहयो ।
त्यसो त लियोनले गरेको तीनै गोलमा प्रत्यक्ष रुपमा सिटीको गोलरक्षक र डिफेन्सबीच असमझदारी झल्कन्थ्यो । पहिलो गोलमा एरिक गार्सियाले ट्याकल गरेको बललाई म्याक्स्वेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलको दिशा दिए । उक्त गोलमा पनि गोलरक्षक एडरसन पोजिसन छोडेर अगाडी बढेका थिए ।
दोस्रो हाफमा केभिन डे ब्रुएनले स्टर्लिङको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यो खुसी लामो समय टिक्न सकेन । १० मिनेटपछि नै लियोनले खेलमा अग्रता पुन: स्थापना गर्यो । लियोनको दोस्रो गोल पनि डिफेन्सले अफसाइड माग गर्दै बल छोडेपछि सम्भव भएको थियो ।

औआरको पासमा तोको एकाम्बी अफसाइड थिए, तर उनले बल नछोई अगाडी जान दिए । एकाम्बीको पछाडी रहेका डेम्बेले लापोर्टको मार्कीङ तोड्दै बल लखेट्न थाले । रेफ्रीको सिठी नबजेपनि सिटीका खेलाडी रोकिएर अपिल गर्न थाले । डेम्बेले भने अगाडी बढेर पोस्टमा प्रहार गरे । अगाडी बढेका गोलरक्षक एडरसनले बल बचाउने प्रयास गरेपनि सफल हुन सकेनन् ।
समग्रमा सिटीले लियोनविरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेन । डिफेन्समा प्रत्यक्ष गल्ति देखिएपनि आक्रमणमा भने सिटी केहि फितलो देखियो । पछिल्लो खेलबाट फिल फोडेनलाई निकालेर डिफेन्डर गार्सियालाई खेलाउनुले पनि केहि प्रश्न पक्कै उब्जाएको छ । डे ब्रुएनकै भरमा अवसर सिर्जना गर्न उत्रेको सिटीको प्रयासमा गोलरक्षक लोपेस पनि बाधक बनिरहे । उनले सिटीको आधा दर्जन प्रयास विफल पारे ।
सिटीको प्रशिक्षण जिम्मेवारीमा गुआर्डीओलाको यो चौथो सिजन हो । हालसम्म गुआर्डीओलाले क्वाटरफाइनलबाट टोलीलाई अगाडी बढाउन सकेका छैनन् । गत सिजन पनि टोटेनहमसँग सिटी अन्तिम समयमा पराजित हुनुपरेको थियो । रहिम स्टर्लिङले दोस्रो लेगको इन्ज्युरी समयमा गोल गरेपछि सिटी अगाडी बढ्ने देखिएको थियो । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता नदिएपछि टोटेनहम अगाडी बढेको थियो ।

शनिबार पनि लियोनविरुद्ध स्टर्लिङको गल्ति नै खेलमा निर्णायक बन्न पुग्यो । त्यसअघि पनि खेलमा स्टर्लिङले पाएको अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् । जारी सिजन टोलीका लागि लिगमा २० र च्याम्पियन्स लिगमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका स्टर्लिङले मुख्य खेलमा भने प्रदर्शन गर्न सकेनन् । अर्का फरवार्ड जेससको प्रदर्शन पनि औसत मात्र रहयो ।
खेलपछि प्रशिक्षक पेप गुआर्डीओलाले यस प्रतियोगितामा गल्तिको कुनै अवसर नहुने प्रष्ट पारे । उनले स्टर्लिङको गल्तिलाई इंगित गर्दै त्यस स्तरको गल्ति गरेर अगाडी बढ्न नसकिने बताए । ‘ हामी च्याम्पियन्स लिग खेलिरहेका छौं । हामी गोलमा चुक्छौँ र पछि त्यसैको नतिजामा गोल खान्छौं भने अघि बढ्न सक्दैनौं । हामी फेरी पनि यस चरण पार गर्ने प्रयास गर्ने नै छौँ,’ उनले भने ।
उपाधि दाबेदार मानिएको सिटी घरेलु प्रतियोगितामा सफल भएपनि युरोपमा भने चुक्दै आएको छ । समूह चरणमा प्रभावशाली प्रदर्शन गर्ने सिटी नकआउट चरणमा भने झिनो अन्तरले पछि पर्दै आएको छ । सिटीकै अन्य प्रशिक्षकको तुलानामा गुआर्डीओलाले थप केहि हासिल गर्न सकेका छैनन् । यसले पनि उनको भविष्य क्लबमा रहनेबारे प्रश्न उब्जाएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]