default_image

5 years ago

September 2, 2020

कोरोना जितेका एरिक भन्छन्- ‘अब देशलाई जिताउनु छ’

369 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

मिडफिल्डर एरिक विष्ट दुई साता बढीको क्वारेन्टिनपछि अन्तत: कोरोना संक्रमणबाट मुक्त भएका छन् । मैदानभित्र एक पछि अर्को चुनौती पार गर्दै आएका विष्टले दुई साता बढी आइसोलेसनमा बसेपछि कोरोनामाथि जित हासिल गरे । मैदानभित्र उमेर समूह हुँदै सिनियर टोलीको छनोटसम्म जति कठिन यात्रा उनले तय गरे, कोरोना पराजित गर्न उनलाई खासै कठिन भने भएन ।

दुई साताअघि पहिलो पटक स्वाब लिएर गरिएको पहिलो परिक्षणमा केहि समस्या देखिएपछि उनले दोस्रो पटक स्वाब दिएका थिए । दुवै स्वाबको परिक्षणमा पछि कोरोना संक्रमण देखिएपछि उनी दुई साता आइसोलेसनमा बसे । शुक्रबार स्वाब दिएका उनको केहि दिनको प्रतिक्षापछि बुधबार रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पहिलो पटक छनोट भएका विष्टका लागि पछिल्लो दुई साता कठिन रहयो । कोरोना संक्रमणले भन्दापनि त्यसपछि उनलाई थपिएको मानसिक तनाव परास्त गर्न उनले निकै कसरत गर्नुपर्यो । संक्रमण पुष्टि नहुँदै केहि संचारमाध्यमले उनको परिचयसहित समाचार प्रकाशन गरेपछि सामाजिक संजालबाट उनले अनेक प्रतिक्रियाको सामना गर्नुपर्यो ।

‘ मलाई संक्रमणका दौरान कुनै शारीरिक कमजोरी महसुस भएन । लक्षण देखिएको पनि थिएन । सुरुमा त पुन: परिक्षण भनिएकोले स्वाब लिंदा केहि गल्ति भएको बुझें । पछि पुन: स्वाब पनि दिएँ, र अगाडीको समेत पोजेटिभ नै आयो,’ एरिकले सुनाए, ‘ संक्रमण भएपनि यसलाई पराजित गर्न सक्छु भन्नेमा मानसिक रुपमा तयार थिएँ । पहिलो नतिजाको नतिजा सुनेर शंका लागेपछि नै म घरमै आइसोलेसनमा बसें ।’

एरिकले शारीरिक रुपमा केहि समस्या नआएपनि उनलाई दिइएको प्रतिक्रिया र टिप्पणीले भने चित्त दुखेको बताए । ‘ संक्रमण भएपछि खाली समय बिताउन सामाजिक संजाल हेर्थें । मान्छेहरुले मलाई दिएको प्रतिक्रियाले निकै चित्त दुख्यो । एक खेलाडीलाई त यस्तो गर्छन भने सामान्य मानिसलाई बाहिर जिल्लामा कस्तो होला जस्तो पनि लाग्यो । त्यस्तो पक्षलाई ध्यान नदिएर बसिरहें,’ उनले सुनाए, ‘सुरुवातका केहि दिन आफ्नो परिवारको चिन्ता थियो । ममीलाई अस्पताल लग्दा मलाई सरेको भन्ने लागेकोले वहाँको धेरै चिन्ता थियो । पछि सबैको नतिजा नेगेटिभ आएपछि ढुक्क भएँ । सहजै कोरोना जान्छ भने सोचेर बसें ।’

आइसोलेसनका दौरान स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै पक्षमा सचेत रहेको उनले बताए । ‘ घरमा नै आइसोलेसन बस्न मिल्छ भनेपछि परिवारबाट छुट्टै बसें । नियमित रुपमा आफ्नो तापक्रम नापें । तातोपानी धेरै खाएँ । शारीरिक रुपमा केहि असहज महसुस भएन । फिटनेसका लागि आफैं सम्भव भएसम्म अभ्यास कोठाभित्र गरिरहें,’ उनले अनुभव सुनाए ।

कोरोना जितेका एरिक अब पुरानै जीवनशैलीमा फर्कने बताउँछन् । ‘ कोरोना लग्नु दुर्भाग्य थियो । यसलाई सहज रुपमा जित्न सकें । अब पुरानै दिनजस्तो आफ्नो फुटबलमा नै मिहिनेत गर्नेछु । राष्ट्रिय टोलीको प्रशिक्षणका लागि तयारी गर्नुछ । अहिलेको अवस्थामा चाडै खेल सुरु हुने देखिन्न । त्यसैले व्यक्तिगत रुपमा नै फिटनेसलाई ध्यानमा राखेर घरमा अभ्यास गर्नेछु,’ उनले सुनाए ।

मिडफिल्डर एरिक पछिल्लो सिजन मात्र ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटि) सँग अनुबन्धित भएका थिए । आफ्नो छिमेकमै रहेको बि डिभिजन क्लब अराउन्ड द हिमालयज बाँसबारी क्लबको एकेडेमीमा हुर्केका एरिकले यू-१६ उमेर समूहमा एन्फा एकेडेमीमा पनि रहे । तर एन्फाको उक्त यू-१६ ब्याचमा रहेका ३५ खेलाडीमध्य अन्य सबैले एएफसी अथवा साफ च्याम्पियनसिप खेल्दा एरिक एक्ला खेलाडी थिए जसले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन् ।

एरिकले हरेस खाएनन् । एकेडेमीबाट यू-१६ उमेर समूहको प्रतियोगिता खेल्न नपाएपनि उनले एकेडेमी छाड्नेबितिक्कै आर्मीबाट ललित स्मृति यू-१७ प्रतियोगितामा खेल्ने भए । आर्मीले ललित स्मृतिको सुरुवाती दुई संस्करणमा उपाधि जित्दा उनले मिडफिल्ड सम्हालेका थिए ।

यू-१६ एकेडेमीमा : सेसेहाङ आङदेम्बे र राजन गुरुङ (माथि), राजीव लोप्चन, अभिषेक रिजाल र एरिक विष्ट (तल)

एकेडेमी छोडेर उनले घरेलु क्लब बाँसबारीबाट नियमित खेल्न थाले । बि डिभिजन लिगको पहिलो सिजनमा नै एरिकले नियमित पहिलो रोजाईमा मात्र खेलेनन् । टोलीको उत्कृष्ट मध्यका खेलाडीका रुपमा आफूलाई स्थापित गरे । सिनियर फुटबलमा पहिलो सिजन बाँसबारीको जर्सीमा खेल्दा हाल आफू खेलिरहेको एनआरटिविरुद्धको खेल उनलाई अझै याद छ ।

खेलको ८७ औं मिनेटसम्म २-१ को अग्रतामा रहेको एनआरटि ए डिभिजनमा उत्रने लक्ष्यसहित टोली निर्माण गरेको थियो । तर एरिकले खेलको अन्तिम समयमा नतिजा नै बदले । उनकै असिस्टमा खेलको २ मिनेट समय बाँकी रहँदा बाँसबारी बराबरीमा आयो । इन्ज्युरी समयमा एरिकले झन्डै २५ यार्ड टाढाबाट सानदार फ्रिकिक गोल गर्दै खेल बाँसबारीको पक्षमा पारे ।

बाँसबारीका लागि एनआरटिविरुद्ध फ्रिकिक गोलगरेपछि

बि डिभिजनमा प्रभावशाली प्रदर्शन गरेपछि एरिकले आर्मीलाई दोस्रो पटक पनि यू-१७ लिगमा उपाधि जिताएका थिए । आर्मीले करारमा राख्दै एरिकलाई सिनियर टोलीमा अवसर दियो । २०७५ सालको ए डिभिजन लिगमा उनले पहिलो खेलमा नै एनआरटिबाट डेब्यु समेत गरे । मोफसलमा आर्मीले लगातार उपाधि जित्दा पनि एरिक टोलीको साथ रहे ।

एरिक यू-१६ टोलीमा नपरेपनि सन् २०१७ मा यू-१८ टोलीसँग साफ च्याम्पियनसिप उपाधि जित्न भने सफल रहे । नेपालले भुटानमा उपाधि जित्दा एरिकले पहिलो रोजाईमा नै खेल खेले । लिगको अन्तिम खेलमा भारतविरुद्ध भने चोटका कारण उनले खेल्न सकेनन् । लगत्तै यू-२३ टोलीमा पनि उनले अवसर पाए । तर राष्ट्रिय टोलीका खेलाडी नै रहेकाले उनले मैदानमा उत्रन भने सकेनन् ।

आर्मीबाट यू-१७ लिग खेल्दै एरिक

एरिकको प्रदर्शनबाट प्रभावित एनआरटिले २०७६ सालको ए डिभिजनअघि उनलाई अनुबन्ध गर्ने प्रस्ताव गर्यो । आर्मीमा नियमित रुपमा पहिलो रोजाइमा खेल्न नपाउने र एनआरटिमा त्यो अवसर देखेपछि उनले छाड्ने निर्णय गरे । उनको एनआरटि जाने निर्णय सहित सावित भयो । लिग अवधिभर १२ खेल खेल्दै उनी २ खेलमा म्यान अफ द म्याच घोषित भए । एक खेल चोट र अर्को खेल दोहोरो पहेंलो कार्डका कारण गुमाएका थिए ।

लिगको उनको प्रदर्शनले राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिन पनि प्रभावित भए । मिडफिल्डको मध्यभागमा खेल्ने एरिक शारीरिक रुपमा पनि बलिया छन् । बक्स टु बक्स मिडफिल्डको भूमिकामा खेल्ने उनको सेट पिस पनि विपक्षी टोलीको लागि खतरा निम्त्याउने गर्दछ ।

राष्ट्रिय टोलीमा मिडफिल्डको भूमिकामा उत्रन प्रतिस्पर्धा निकै कडा छ । एरिक यसबारे जानकार छन् । अहिलेको अवसरको भरपुर सदुपयोग गर्दै अनुभव बटुल्न चाहन्छन् । ‘अहिले नै टिममा पर्ने भन्ने होइन । आफूले सकेको मिहिनेत गर्ने हो । यो उमेरमै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएको छु । यहाँ धेरै कुरा सिक्नेछु र त्यसलाई अबलम्बन गर्नेछु,’ उनले भने, ‘घरेलू फुटबलमा नियमित राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीको आधार बन्ने हो । अहिले आफूलाई राम्रो खेलाडीको रुपमा विकास गर्न तल्लिन छु ।’

एरिकको सपना राष्ट्रिय टोलीबाट खेल्दै साफ च्याम्पियनसिप जित्नु हो । आफ्नो सपना पूरा गर्न आफूमात्र नभएर समग्र नेपाली फुटबलकै स्तर बढ्नुपर्ने उनले बुझेका छन् । त्यसैले आफ्नो खेल मात्र नभएर घरेलु लिगको स्तरोन्नति हुनुपर्ने उनी बताउँछन् ।

‘व्यक्तिगत रुपमा भन्नुपर्दा हरेक खेलाडीझैं मेरो पनि राष्ट्रिय टोलीबाट खेल्दै साफ च्याम्पियनसिप जित्ने सपना छ । तर त्यसका लागि हामीले निकै मिहिनेत गर्नुछ । हामीले सुरुमा हाम्रो घरेलू लिग बलियो बनाउनुपर्छ जस्तो लाग्छ । धेरै स्तरीय खेलाडी भए नै हाम्रो प्रदर्शन राम्रो हुने हो,’ एरिक भन्छन् ।

‘अहिले त कोरोनाले गर्दा खेल नै ठप्प छ । अब मैदान फर्केपछि हामीले राष्ट्रिय टोलीमात्र भन्दापनि समग्र लिगकै बारेमा सोच्नुपर्छ । लिग प्रतिस्पर्धात्मक हुँदै गए मात्र स्तरीय खेलाडी आउँछन् । त्यसपछि मात्र सफलताबारे सोच्न सकिन्छ ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.