एजेन्सी – कप्तान मार्काे रिउसले पेनाल्टी चुकाउदा बोरुसिया डर्टमुन्ड जितबाट वञ्चित बनेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा डर्टमुन्डले मेइन्जसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
एक गोलले पछि परेको अवस्थामा डर्टमुन्डले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । सिग्नल इडुना पार्कमा खेलको दोस्रो मिनेटमा एर्लिङ ब्राउट हालान्डको गोलले मान्यता नपाउदा डर्टमुन्डले खेलमा अग्रता लिन सकेन । उनी अफसाइड ठहरिएका थिए ।
५७औं मिनेटमा लेभिन मेट ओज्टुनालीले ड्यानी लाट्जाको पासमा गोल गर्दै मेइन्जलाई १–० को अग्रता दिलाएका थिए । ७३औं मिनेटमा थोमस म्युनिएरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७६औं मिनेटमा डर्टमुन्डले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि कप्तान मार्काे रिउस चुके ।
थोमस म्युनिएरमाथि एलेक्सान्डर ह्याकले फल गरेपछि प्राप्त पेनाल्टीमा रिउसको प्रहार बाहिरिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीले डर्टमुन्ड १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । मेइन्ज ७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
यस्तै बुन्डेसलिगाकै अर्काे खेलमा आरबी लाइप्जिग एक गोलको अग्रता जोगाउन नसक्दा वल्फ्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिदा शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।
लाइप्जिगका नोर्डी मुकिइल र विली ओर्वानले गोल गरे । घरेलु टोलीका वउट वेगह्रस्ट र रेनाटो स्टेफनले गोल गरे ।
यो बराबरीले लाइप्जिग १६ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । एक खेल कम खेलेको बायर्न म्युनिखको ३३ अंक छ । वल्फ्सवर्ग २६ अंक जोडेर छैटौ स्थानमा छ ।