एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनमाथि ३–१ को पूनरागमन जित निकालेको छ ।

आर्सनलले साउथह्याम्टनलाई उसकै मैदानमा हराउदा निकोलस पेपे, बुकायो साका र एलेसान्द्रे लाकाजेटले गोल गरे । घरेलु टोलीका स्टुआर्ट आर्मस्ट्रङको गोल सान्त्वना बन्यो ।
साउथह्याम्टनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै स्टुआर्ट आर्मस्ट्रङको गोलबाट अग्रता लिएको थियो । उनले जेम्स वार्ड प्रोउजको पासमा गोल गरेका थिए ।
तर साउथह्याम्टनको त्यो अग्रता लामो समय टिकेन आठौं मिनेटमा निकोलस पेपेले ग्रानिट झाँकाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
३९औं मिनेटमा एलेसान्द्रे लाकाजेटको पासमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा लाकाजेटले साकाको पासमा गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।
यो जितसँगै आर्सनल २० खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १९ खेलबाट २९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।